विश्व वातावरण दिवसमा सांग्रिला डेभलपमेन्ट बैंकको चौथो साइकल र्याली सम्पन्न

विश्व वातावरण दिवसमा सांग्रिला डेभलपमेन्ट बैंकको चौथो साइकल र्याली सम्पन्न

केन्द्रबिन्दु
6
Shares

काठमाडौं । विश्व वातावरण दिवसको अवसरमा सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले ‘इन्धन जोगाऔँ, पृथ्वी बचाऔँ’ भन्ने मूल नाराका साथ चौथो संस्करणको साइकल र्याली आयोजना गरेको छ । डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपालको सहकार्यमा शनिबार सम्पन्न उक्त र्यालीमा ४०० भन्दा बढी सहभागीले उत्साहपूर्ण साइकल यात्रा गरे ।

बैंकको केन्द्रीय कार्यालय बालुवाटार प्राङ्गणबाट प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठले र्यालीको औपचारिक शुभारम्भ गरेका थिए । ‘राइड फर अ ग्रिनर टुमरो’ (हरित भविष्यका लागि साइकल यात्रा) को अभियानात्मक नारासहित सुरु भएको र्याली गैरीधारा, नारायण चौर, नागपोखरी, नारायणहिटी, दरबार मार्ग, भद्रकाली मन्दिर, शहीद गेट, त्रिपुरेश्वर, सुन्धारा, जमल हुँदै पुनः दरबारमार्ग, कृष्ण पाउरोटी, सिटी सेन्टर, ज्ञानेश्वर, जर्मन एम्बेसी र सानो गौचरण पुगेर सम्पन्न भएको थियो । करिब १४ किलोमिटर लामो उक्त मार्गमा सहभागीको सुरक्षाका लागि ट्राफिक प्रहरी, स्वयंसेवक तथा मेडिकल टोलीको समुचित व्यवस्था गरिएको थियो ।

र्यालीमा बैंकका कर्मचारी, ग्राहक, शेयरधनी, प्रायोजक तथा शुभेच्छुकहरूको उल्लेखनीय उपस्थिति रहेकोमा सीईओ श्रेष्ठले विशेष खुसी व्यक्त गरे । वातावरण दिवसकै अवसर पारेर प्रत्येक वर्ष निरन्तरता दिइँदै आएको यस कार्यक्रमप्रति सहभागीहरूले सांग्रिला बैंकको पहललाई स्वस्थ जीवनशैली र वातावरणीय सचेतनाको उत्कृष्ट अभियानका रूपमा मूल्याङ्कन गरेका छन् । सहभागीमध्ये गोला प्रथाबाट एक जनालाई आकर्षक माउन्टेन बाइक समेत प्रदान गरिएको थियो ।

युवादेखि वृद्धसम्मको उत्साहपूर्ण सहभागिता रहेको र्यालीले काठमाडौं उपत्यकामा वातावरणमैत्री जीवनशैलीप्रति बढ्दो चासो र हरित भविष्यप्रतिको प्रतिबद्धतालाई थप सशक्त रूपमा उजागर गरेको छ ।

Logo