आरोहणको जोखिम घटाउन सगरमाथा क्षेत्रमा ड्रोनको प्रयोग

आरोहणको जोखिम घटाउन सगरमाथा क्षेत्रमा ड्रोनको प्रयोग

केन्द्रबिन्दु
3
Shares

काठमाडौं । यस वर्ष सगरमाथाको क्याम्प–१ मा अधिकांश सामान ड्रोनमार्फत लगियो । कुनै बेला घण्टौंको आरोहण र उच्च हिमाली पथप्रदर्शकहरूको सिंगो टोलीले गर्नुपर्ने काम अब केही मिनेटमै सम्पन्न हुन थाल्यो । २२ वर्षीय पथप्रदर्शक लाक्पा रिन्जी शेर्पा भन्छन्,”ड्रोनले विश्वकै सबैभन्दा खतरनाक पेसामध्ये एक सगरमाथा आरोहणलाई सहज बनाउन थालेको छ ।’

सगरमाथा आधार शिविर (५ हजार ३ सय ६४ मिटर) र क्याम्प–२ (६ हजार ४ सय मिटर) बीच बन्दोबस्तीका सामान ओसार्न सामान्यतया आठदेखि दस पटक आवतजावत गर्नुपर्नेमा लाक्पा रिन्जीले यस पटक चार पटक मात्रै आवतजावत गरे । यसको कारण कुनै सुरक्षित बाटो वा शान्त मौसम थिएन । ड्रोनको प्रयोगले यी सबै सम्भव गराएको थियो ।

‘हरेक वर्ष आइसफल पार गर्न हामीलाई डर लाग्छ,’ लाक्पाले भने, ‘तल चिरा, माथि हिउँका ढिस्का । हामीले अस्थिर बाटोहरू छिचोल्दै हिँड्नुपर्छ ।’ परम्परादेखि नै शेर्पा पथप्रदर्शक मध्यरातलगत्तै आफ्नो पिठ्युँमा १५ किलोसम्म बन्दोबस्तीका सामान बोकेर आधार शिविरबाट निस्कन्छन् । खुम्बु आइसफल हुँदै क्याम्प–१ र त्यहाँबाट क्याम्प–२ सम्मको यात्रा अनवरत ६ देखि ७ घण्टासम्मको हुन्छ । ‘हामी कहिल्यै रोकिँदैनौं,’ लाक्पाले भने, ‘आइसफल खण्ड अत्यधिक खतरनाक हुन्छ ।’

सन् २०२४ अप्रिलमा चिनियाँ ड्रोन निर्माता कम्पनी डीजेआईले गरेको परीक्षणलाई सगरमाथामा विश्वकै पहिलो ड्रोन डेलिभरी परीक्षणका रूपमा लिइन्छ । आफ्नो ‘फ्लाईकार्ट’ प्लाटफर्म प्रयोग गर्दै कम्पनीले अक्सिजन सिलिन्डर र आवश्यक सामग्रीलाई माथि लगेको थियो । त्यस्तै, फोहोरमैला तल ल्याएको थियो ।

परम्परागत रूपमा शेर्पा पथप्रदर्शकहरूले गर्दै आएका खतरनाक काम ड्रोनले गर्न सक्ने संकेत यी परीक्षणहरूले गरेका थिए । सफल परीक्षणपछि सन् २०२५ मा डीजेआईको फ्लाईकार्ट ड्रोनले क्याम्प–१ सम्म सामान ढुवानी गर्न थाल्यो । यस सिजनमा व्यावसायिक रूपमै ड्रोनको प्रयोगमार्फत सामग्रीहरू ढुवानी गरियो ।

आधार शिविर र क्याम्प–२ बीच बन्दोबस्तीका सामान ओसार्न सामान्यतया आठदेखि दस पटक आवत–जावत गर्नुपर्नेमा ड्रोनका कारण पथप्रदर्शकले औसतमा यस पटक चार पटक मात्रै आवतजावत गरे ।ड्रोन सञ्चालकहरूका अनुसार, पहिले ६ देखि ७ घण्टा लाग्ने काम अब करिब १० मिनेटमै सम्पन्न हुन सक्छ । कतिपय अवस्थामा त दर्जनभन्दा बढी पथप्रदर्शकले गर्ने मिहिनेत बराबरको काम ड्रोनले गर्छ । खुम्बु क्षेत्रमा धेरैले ड्रोनलाई बहुउपयोगी देखेका छन् ।

‘यो जीवन बचाउने पहल हो,’ सगरमाथा क्षेत्रमा पर्ने खुम्बु पासाङल्हामु गाउँपालिकाका अध्यक्ष मिङ्मा छिरी शेर्पाले भने, ‘खुम्बु आइसफलमा सामान्य हिँडडुल गर्न पनि ठूलो जोखिम छ । गह्रौं उपकरण र बन्दोबस्तीका सामान बोकेर जानु कति खतरनाक होला ! प्रविधिले त्यो बोझलाई कम गर्न र जीवन बचाउन सक्छ ।’

सरकारी तथ्यांक र हिमालयन डाटाबेसका अनुसार, सन् १९५३ देखि २०२३ को अवधिमा खुम्बु आइसफलमा मात्रै करिब ५० जनाको मृत्यु भइसकेको छ । यस वर्ष पनि जोखिमपूर्ण थियो । एउटा विशाल र अस्थिर हिउँको ढिस्कोले झन्डै तीन सातासम्म बाटो बनाउने काम नै रोकिदियो । जसले आरोहणमा ढिलाइ निम्त्याएको थियो । सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपीसीसी) को तथ्यांकअनुसार, उक्त हिउँको ढिस्को करिब ५५ मिटर लामो, ३७ मिटर चौडा र २८ मिटर अग्लो थियो ।

सगरमाथामा ड्रोनको बढ्दो प्रयोगले वातावरणीय चुनौतीको सामना गर्न पनि सघाइरहेको छ । यसै सिजन एयरलिफ्ट टेक्नोलोजीले ड्रोन प्रयोग गरेर क्याम्प–१ बाट आधार शिविरसम्म ३.५ टन फोहोर ढुवानी गर्‍यो । ‘समग्रमा, हामीले १० टनभन्दा बढी सामान तल–माथि ओसारपसार गर्‍यौं,’ पाण्डेले भने, ‘त्यसमध्ये हिमालबाट ३.५ टन फोहोर तल ल्याइएको थियो ।’ ती फोहोरमध्ये धेरैजसो मानव मलमूत्रका झोला थिए ।

गत वर्षदेखि आरोहणका क्रममा आरोहीहरूले अनिवार्य रूपमा आफ्नो मलमूत्र विशेष प्रकारका झोलामा संकलन गर्नुपर्ने नियम लागू गरिएको थियो । सगरमाथामा प्रदूषण कम गर्न र सरसफाइमा सुधार ल्याउन यस्तो नियम लागू गरिएको स्थानीय अधिकारी बताउँछन् ।

यो पहलले हिमाल सफा राख्ने नेपालको प्रयासलाई थप बल पुर्‍याएको छ । सन् २०१४ देखि आरोहीहरूले कम्तीमा आठ किलो फोहोर फिर्ता नल्याएमा ४ हजार डलरको धरौटी रकम गुमाउने नियम छ । प्रस्तावित नयाँ कानुनअनुसार सो धरौटी रकम सगरमाथा संरक्षण र सरसफाइ गतिविधिहरूमा मात्र खर्च गरिने वातावरणीय शुल्कमा परिणत हुनेछ ।

२९ मेमा आरोहण सिजन सकिएपछि ड्रोनहरूले प्रतिदिन झन्डै २० वटा उडानमार्फत फोहोरलाई आधार शिविरसम्म ल्याएका थिए । सफा हिमाल र सुरक्षित काम गर्ने वातावरण एकअर्काका परिपूरक रहेको स्थानीय अधिकारी बताउँछन् । ‘सगरमाथामा हिमाली क्षेत्रका होटल, लज, एयरलाइन्स, हेलिकोप्टर सञ्चालक, गाइड, भरियालगायत धेरै व्यवसाय चलिरहेका छन्,’ मिङ्मा छिरीले भने, ‘तर अझै धेरै जोखिम कायम छन् । हामी प्रविधिको माध्यमबाट ती जोखिमलाई कम गर्न चाहन्छौं ।’ यद्यपि सबैले यो ड्रोन क्रान्तिलाई निःसन्देह र सकारात्मक रूपमै हेर्छन् भन्ने होइन ।

ड्रोनले सगरमाथाको तल्लो क्षेत्रमा भारी बोक्ने कामलाई केही कटौती गरे पनि माथिल्लो क्षेत्रमा हुने काम मानवीय दक्षतामै निर्भर छन् । यी कामबाट राम्रो आय मिल्छ । जस्तो, आधार शिविरबाट क्याम्प–२ तर्फ सामान बोक्दा पथप्रदर्शकले सामान्यतया प्रतिकिलो ३ सय ५० देखि ५ सय रुपैयाँसम्म कमाउँछन् । क्याम्प–२ भन्दा माथि भने यो दर ह्वात्तै बढेर प्रतिकिलो १ हजारदेखि १ हजार ५ सय रुपैयाँसम्म पुग्छ ।

अक्सिजन सिलिन्डरको ढुवानी निकै फाइदाजनक छ । चार किलोको अक्सिजन बोतल बोक्दा एउटा पथप्रदर्शकले ४ हजार रुपैयाँ कमाउन सक्छ भने खाली सिलिन्डर तल ल्याउँदा १० हजार रुपैयाँसम्म मिल्छ । एक जना पथप्रदर्शकले सामान्यतया ८ वटासम्म खाली सिलिन्डर तल ल्याउने गर्छन् ।

विकसित हुँदै गएको ड्रोनको कथामा यस वर्ष एउटा अप्रत्याशित मोड पनि देखियो । चीनमा निर्मित डीजेआई ड्रोनले सगरमाथामा आफ्नो प्रभावकारिता प्रमाणित गरेपछि एक अमेरिकी प्रतिस्पर्धी पनि यो दौडमा प्रवेश गर्‍यो । अमेरिकी ड्रोन निर्माता कम्पनी फ्रिफलाई सिस्टम्सले सगरमाथामा आफ्नो अल्ट्रा एक्स जेन २ हेभी–लिफ्ट ड्रोन परीक्षणका लागि अनुमति माग्यो । दुवै प्रणालीको अनुमतिको समीक्षा गर्ने भन्दै नेपाली अधिकारीहरूले डीजेआईको फ्लाईकार्ट १०० सञ्चालनलाई १० दिनका लागि अस्थायी रूपमा रोक लगाए ।

प्रारम्भिक अनुमानअनुसार, सन् २०२६ को सगरमाथा सिजन १ सयभन्दा बढी आरोही र गाइडहरूले शिखर चुमेसँगै समाप्त भएको छ । यस सिजनमा सरकारले कीर्तिमानी रूपमा ४ सय ९५ जना आरोहीसँग शुल्क लिएर अनुमतिपत्र जारी गरेको थियो । सामान्यतया, एउटा आरोहीले आफ्नो अभियानका लागि एक जना शेर्पा गाइड भाडामा लिने गर्छन् ।

Logo