काठमाडौं । नेपाल एसियन गेम्स पुरुष ट्वान्टी–२० छनोट प्रतियोगिताको फाइनलमा पुगेको छ । सिंगापुरमा भइरहेको प्रतियोगितामा नेपालले आइतबार ओमानलाई सेमिफाइनलमा ८ विकेटले पराजित गर्यो ।
टस जितेर ब्याटिङ गरेको ओमान १९.४ ओभरमा ९४ रनमा अलआउट भएको थियो । ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेखलाई सुरुआतमै गुमाए पनि जबाफमा आएको नेपालले ९.२ ओभरमै लक्ष्य पुरा गर्यो । भुर्तेल ८ बल खेली ३ चौका र १ छक्कासहित २० र आसिफ १ रन बनाई दोस्रो ओभरमा ३ बलको अन्तरमा आउट भए ।
लोकेश बम र रोहित पौडेल मिलेर नेपाललाई आरामदायी जित दिलाए । यी दुईले तेस्रो विकेटमा ४५ बलमा अविजित ६८ रनको साझेदारी गरेपछि सिंगापुर नेसनल क्रिकेट मैदानमा नेपालले १० ओभर भित्रै खेल जितेको थियो । लोकेश ४४ र रोहित २१ रन बनाई अविजित रहे । लोकेशले २६ बल खेली ७ चौका र १ छक्का तथा रोहितले २० बल खेली २ चौका प्रहार गरे ।
यसअघि करण केसीले तेस्रो ओभरमै लगातार बलमा सुएब अल बालुसी र नावेद अल बालुसीलाई शुन्यमा आउट गरी नेपाललाई उत्कृष्ट सुरुआत दिलाएका थिए । मोहम्मद अल बालुसीलाई कुशल मल्लले ९ रनमा आउट गरेपछि ओमान चौथो ओभरमा ९–३ को स्थितिमा पुगेको थियो ।
जुबैर अल बालुशी र कप्तान सुफयान मेहमुदले चौथो विकेटमा ३५ रनको साझेदारी गरे, जुन ओमानबाट सबैभन्दा ठुलो साझेदारी थियो । जुबैरले १४ बल खेली ५ चौकासहित २२ र सुफयानले ४२ बल खेली समान २ चौका र छक्कासहित ३८ रन बनाए । यी दुई बाहेक दोहोरो स्कोर बनाउने अर्का खेलाडी अब्दुल जलिल थिए । उनले १४ बल खेली २ चौका र १ छक्कासहित १६ रन बनाए ।
करणले ३ विकेट लिए । उनले ४ ओभरमा १ मेडन राख्दै रन खर्चे । सोमपाल कामी र सन्दीप लामिछानेले २–२ विकेट लिनेक्रममा क्रमशः ४ ओभरमा २६ र १९ रन खर्चे । कुशल मल्ल, शाहब आलम र कप्तान दीपेन्द्रसिंह ऐरीले १–१ विकेट लिए । आइतबार नै दोस्रो सेमिफाइनल खेलिरहेका हङकङ र मलेसिया बीचको विजेतासँग नेपालले सोमबार फाइनल खेल्ने छ ।





























प्रतिक्रिया