फिफा विश्वकप २०२६ मा टुट्न सक्ने यी १० रेकर्ड

फिफा विश्वकप २०२६ मा टुट्न सक्ने यी १० रेकर्ड


काठमाडौं । फिफा विश्वकप–२०२६ अमेरिका, क्यानडा र मेक्सिकोको संयुक्त आयोजनामा इतिहासकै सबैभन्दा ठूलो संरचनासहित आयोजना हुँदैछ । पहिलो पटक ४८ टोलीहरूबीच १०४ खेलहरू हुने यस संस्करणमा खेल संख्या र टोलीहरूको विस्तारले मात्र होइन, फुटबल जगतका पुराना कीर्तिमानहरू तोडिने र नयाँ इतिहास थपिने बलियो सम्भावना छ । लियोनेल मेस्सी र क्रिस्टियानो रोनाल्डो जस्ता दिग्गजहरूको सम्भावित अन्तिम यात्रादेखि किलियन एम्बाप्पे र लामिन यमाल जस्ता युवा स्टारहरूको कीर्तिमानी दौडका कारण यो विश्वकप नयाँ रेकर्डहरूको महाकुम्भ बन्ने निश्चित छ।

१. एकै संस्करणमा सर्वाधिक खेलः पुराना संस्करणमा फाइनल पुग्न अधिकतम ७ खेल मात्र खेल्दा पुग्थ्यो । तर यस संस्करणमा ‘राउन्ड अफ ३२’ को थपले फाइनल पुग्ने जोसुकै टोलीले कम्तीमा ८ खेल खेल्नै पर्नेछ, जुन आफैंमा एक कीर्तिमान हो ।

२. एकै संस्करणमा सर्वाधिक गोलः अघिल्लो संस्करणमा १७२ गोल मात्र भएका थिए । तर उक्त गोल संख्या यस संस्करणमा टुट्ने पक्का छ । किनकी यस संस्करणमा अघिल्लो संस्करण भन्दा ४० खेल बढी खेलिने भएको छ । अघिल्लो संस्करणमा ६४ खेल मात्र खेलाइएको थियो भने यस संस्करणमा १०४ खेल हुने छन् ।

३. सर्वाधिक रातो र पहेंलो कार्डः सन् २००६ मा जर्मनीमा भएको फिफा विश्वकपमा २८ वटा रातो कार्ड प्रयोग भएको थियो । यो संख्या हालसम्म प्रयोग भएको रातो कार्डहरुमध्येमै अत्यधिक हो । तर उक्त रेकर्ड पनि यस पटक कीर्तिमान १०४ खेलको चापका कारण टुट्ने सम्भावना प्रबल देखिन्छ । किनकी सन् २००६ मा बसेको उक्त रेकर्ड तोड्न यस पटक प्रतिखेल ०.३ वटा रातो कार्डको औसत प्रयोग मात्र पनि पर्याप्त हुनेछ । यस्तै, सन् २००६ मै सर्वाधिक ३४५ पहेँलो कार्डको कीर्तिमान प्रयोग भएको थियो । उक्त संख्या पनि यस पटक तोडिने पक्कापक्की जस्तै छ ।

४. करियरकै सर्वाधिक गोलः फिफा विश्वकपमा जर्मनीका मिरोस्लाभ क्लोजको नाममा १६ गोलको कीर्तिमान रहेको छ । उक्त कीर्तिमानी पनि यस पटक १३ गोल गरेका लियोनल मेसी र १२ गोल गरेका किलियन एम्बापेले तोड्ने प्रबल सम्भावना देखिन्छ । स्वयं क्लोजले पनि यो कीर्तिमान चाँडै तोडिने स्वीकार गरिसकेका छन् ।

५. सर्वाधिक विश्वकप खेल्ने खेलाडीः हालसम्म अर्जेन्टिनी सुपरस्टार लियोनल मेसीको नाममा २६ खेल खेलेको कीर्तिमान रहेको छ । उनले यस संस्करणमा पनि खेलेमा आफ्नै कीर्तिमान सुधार्ने छन् । तर, यस पटक कुने कारणवश मेसीले खेलेनन् भने २२ खेल खेलेका क्रिस्टियानो रोनाल्डोले उनलाई पछि पारी नयाँ रेकर्ड बनाउन सक्नेछन् ।

६. सर्वाधिक विश्वकपको खेल जित्ने खेलाडीः इतिहासमा सर्वाधिक विश्वकपको खेल जित्ने खेलाडी जर्मनीकै मिरोस्लाभ क्लोज हुन् । उनले आफ्नो कार्यकालमा १७ खेलको जितको कीर्तिमान राखेका छन् । अर्कोतर्फ १६ खेलको जित हासिल गरिसकेका लियोनल मेसीलाई अस्ट्रिया, जोर्डन, अल्जेरिया जस्ता सहज समूह परेका कारण यो कीर्तिमानी पनि सहज तोडिने पक्का छ ।

७. छैटाैं विश्वकप खेल्ने पहिलो खेलाडीः अहिलेको विश्व फुटबलका स्टार खेलाडी लियोनल मेसी र क्रिस्टियानो रोनाल्डो दुवैले आफ्नो छैटौं विश्वकप खेल्ने पक्का भैसकेको छ, जसले गर्दा उनीहरू दुबैले संयुक्त रूपमा यो ऐतिहासिक कोसेढुङ्गा पार गर्नेछन् ।

८. ६ भिन्न–भिन्न विश्वकपमा गोलः पोर्चुगिच स्टार क्रिस्टियानो रोनाल्डोले सन् २००६ देखि हालसम्म पाँच विश्वकपमा गोल गर्ने एकमात्र खेलाडी हुन् । यदि उनले यस संस्करणमा पनि गोल गर्न सफल भएमा ६ भिन्न–भिन्न विश्वकपमा गोल गर्ने पहिलो खेलाडी बन्ने छन् ।

९. सर्वाधिक क्लिन सिटः फिफा विश्वकपमा हालसम्म इङ्लिस गोलकिपर पिटर शिल्टन र फ्रेन्च गोलकिपर फाबियन बार्टेजको नाममा १० क्लिन सिटको कीर्तिमान रहेको छ । अर्थात् यी दुवै खेलाडीले फिफा विश्वकमा खेलेको १० खेलमा एक गोल पनि नखाई खेल समाप्त गरेका छन् । यस्तोमा ७ क्लिन सिट भएका बेल्जिएमका गोलकिपर थिबाउट कोर्टोइसले पिटर र बार्टेजद्धारा राखिएको १० खेलको क्लिन सिट रेकर्ड तोड्न सक्ने सम्भावना देखिन्छ ।

१०. सर्वाधिक उमेरमा विश्वकप जित्ने खेलाडीः तपाईंलाई थाहा छ यदि पोर्चुगलले यस पटक फिफा विश्वकप जित्यो भने, ४१ वर्षका क्रिस्टियानो रोनाल्डोले सन् १९८२ मा दिनो जफले बनाएको कीर्तिमानलाई तोड्ने छन् । १९८२ मा दिनो जफले विश्वकप जित्दा ४० वर्ष १३३ दिनका थिए ।

Logo