नेपालमा पहिलोपटक ‘द रिट्ज–कार्लटन’ र ‘द वेस्टिन’ भित्रिँदै, म्यारियट र चौधरी ग्रुपबीच ऐतिहासिक सम्झौता

नेपालमा पहिलोपटक ‘द रिट्ज–कार्लटन’ र ‘द वेस्टिन’ भित्रिँदै, म्यारियट र चौधरी ग्रुपबीच ऐतिहासिक सम्झौता

केन्द्रबिन्दु
9
Shares

काठमाडौं । विश्वप्रसिद्ध हस्पिटालिटी कम्पनी म्यारियट इन्टरनेशनल र नेपालको बहुराष्ट्रिय व्यापारिक घराना चौधरी ग्रुपअन्तर्गतको सीजी हस्पिटालिटी ग्लोबलबीच काठमाडौंमा दुई अल्ट्रा–लक्जरी होटल सञ्चालन गर्ने सम्झौता भएको छ ।

सम्झौतापत्रमा आइतबार आयोजित एक विशेष कार्यक्रममा हस्ताक्षर भएको थियो । उक्त अवसरमा म्यारियट इन्टरनेशनलका बोर्ड अध्यक्ष डेभिड म्यारियट, चौधरी ग्रुप तथा सीजी हस्पिटालिटी ग्लोबलका अध्यक्ष डा. विनोद चौधरी, सीजी कर्प ग्लोबल तथा सीजी हस्पिटालिटी ग्लोबलका प्रबन्ध निर्देशक एवं प्रमुख कार्यकारी अधिकृत राहुल चौधरी, म्यारियट इन्टरनेशनलका एशिया–प्रशान्त (चीनबाहेक) अध्यक्ष राजीव मेनन, दक्षिण एशियाका वरिष्ठ उपाध्यक्ष किरण एन्डिकोट तथा लगानी साझेदार आईईजी ग्रुप, आईजे ग्रुप र शर्मा एन्ड कम्पनीका अध्यक्ष एवं सञ्चालकहरूको उपस्थिति थियो ।

सम्झौताअनुसार ‘द रिट्ज–कार्लटन काठमाडौं’ र ‘द वेस्टिन काठमाडौं’ सन् २०३१ सम्म सञ्चालनमा आउने छन् । यससँगै म्यारियटका लक्जरी तथा प्रिमियम ब्रान्डहरूले नेपालको राजधानीमा औपचारिक प्रवेश गर्न लागेका हुन् ।

द रिट्ज–कार्लटन काठमाडौं र द वेस्टिन काठमाडौंको निर्माण चौधरी ग्रुपको मुख्य साझेदारीमा आईईजी ग्रुप, आईजे ग्रुप र शर्मा एन्ड कम्पनीको संयुक्त लगानीमा हुनेछ । यी दुई होटल सञ्चालनमा आएपछि म्यारियटको पोर्टफोलियोमा करिब ३०० नयाँ ‘की’ (कोठा) थपिनेछन् । यो परियोजना नेपालको उच्चस्तरीय पर्यटन बजारलाई लक्षित गरी तयार पारिएको हो ।

विश्वकै प्रतिष्ठित लक्जरी ब्रान्डका रूपमा परिचित द रिट्ज–कार्लटनले नेपालमा पहिलोपटक पाइला राख्न लागेको हो । यो होटल राजधानीको प्रमुख पर्यटकीय केन्द्र ठमेलमा अवस्थित हुनेछ र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब ५ किलोमिटर दूरीमा रहनेछ । होटलमा ३० विशाल सुइटसहित १५० आकर्षक कोठा हुनेछन् ।

पाहुनाका लागि पाँचवटा फरक रेस्टुरेन्ट तथा बार, आउटडोर स्विमिङ पुल, फिटनेस सेन्टर र प्रख्यात ‘द रिट्ज–कार्लटन स्पा’ को सुविधा उपलब्ध हुनेछ । व्यावसायिक तथा सामाजिक कार्यक्रमका लागि ११ हजार वर्गमिटरभन्दा बढी क्षेत्रफलमा अत्याधुनिक सम्मेलन हल निर्माण गरिनेछ । नारायणहिटी दरबार सङ्ग्रहालय, काठमाडौं दरबार क्षेत्र, स्वयम्भूनाथ स्तूप र पशुपतिनाथ मन्दिरजस्ता सांस्कृतिक सम्पदास्थल नजिकै रहनु यसको अर्को विशेषता हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब ७ किलोमिटर दूरीमा निर्माण हुने द वेस्टिन काठमाडौंमा १५० प्रिमियम कोठा तथा सुइट रहनेछन् । यो होटल पाहुनाको स्वास्थ्य, आराम र सन्तुलित जीवनशैलीलाई प्राथमिकता दिने वेस्टिन ब्रान्डको ‘वेलनेस’ अवधारणामा आधारित हुनेछ । यहाँ तीनवटा डाइनिङ स्थल, वेस्टिनवर्कआउट फिटनेस स्टुडियो, हेभेन्ली स्पा बाइ वेस्टिन र रुफटप स्विमिङ पुलको सुविधा हुनेछ । प्राकृतिक प्रकाश र स्मार्ट प्रविधियुक्त ७०० वर्गमिटरभन्दा बढी क्षेत्रफलको बैठक तथा बैंक्वेट सुविधाले यसलाई व्यावसायिक भेलाका लागि पनि आकर्षक बनाउनेछ ।

सम्झौतापछि प्रतिक्रिया दिँदै म्यारियट इन्टरनेशनलका एशिया–प्रशान्त अध्यक्ष राजीव मेननले भने, “उच्च सम्भावना बोकेको नेपाली बजारमा विश्वस्तरीय हस्पिटालिटी सेवा विस्तार गर्न चौधरी ग्रुपसँगको सहकार्यलाई थप सुदृढ बनाउन पाउँदा हामी हर्षित छौं । यी परियोजनाले पर्यटन प्रवद्र्धन, स्थानीय रोजगारी सिर्जना तथा क्षेत्रीय आर्थिक विकासमा महत्त्वपूर्ण योगदान दिने विश्वास छ ।”

सीजी हस्पिटालिटी ग्लोबलका प्रमुख कार्यकारी अधिकृत राहुल चौधरीले यस सम्झौतालाई नेपाल र दक्षिण एशियाको हस्पिटालिटी क्षेत्रलाई नयाँ उचाइमा पुर्याउने यात्राको नयाँ अध्यायको संज्ञा दिए । “हामी स्थानीय संस्कृति झल्काउने, रोजगारी सिर्जना गर्ने तथा पर्यटक र समुदायलाई उत्कृष्ट अनुभव दिने प्रतीकात्मक गन्तव्य निर्माण गर्नेछौं,” उनले भने ।

यो सम्झौता म्यारियट इन्टरनेशनल र सीजी हस्पिटालिटीबीच विश्वभर विस्तार भइरहेको सहकार्यको पछिल्लो महत्त्वपूर्ण उपलब्धि हो । दुई वर्षभन्दा कम अवधिमा भारतमा मात्रै ‘शेरेटन बाई म्यारियट’ अन्तर्गत ७५ भन्दा बढी होटल सम्झौता सम्पन्न भइसकेको छ, जसमध्ये ४३ सहरमा ५० होटल सञ्चालनमा आइसकेका छन् ।

त्यसैगरी, फिलिपिन्समा ‘द फार्म एट सान बेनिटो, अटोग्राफ कलेक्सन’ सञ्चालनमा ल्याइएको छ भने दुबई आइल्यान्ड्समा सेन्ट्रल दुबईकै पहिलो ‘जेडब्लू म्यारियट ब्रान्डेड रेसिडेन्स’ र भारतको सिलिगुडी–मातिगरामा ‘जेडब्लू म्यारियट होटल’ को निर्माण पनि यही साझेदारीअन्तर्गत अघि बढेको छ । दुवै पक्षले भविष्यमा थप क्षेत्रहरूमा सहकार्य विस्तार गर्ने सम्भावनाहरू खोजिरहेका छन् ।

म्यारियट इन्टरनेशनल अमेरिकाको मेरील्यान्डमा मुख्यालय रहेको विश्वकै अग्रणी हस्पिटालिटी समूह हो । हाल यसले १४६ देशमा ९ हजार ९०० भन्दा बढी होटल सञ्चालन गरिरहेको छ र ‘म्यारियट बोनभोय’ ट्राभल प्लेटफर्म पनि चलाउँछ ।

त्यस्तै चौधरी ग्रुपको हस्पिटालिटी शाखा सीजी हस्पिटालिटी ग्लोबलको उपस्थिति १२ देशका १३० गन्तव्यमा फैलिएको छ, जहाँ २२० भन्दा बढी होटल तथा रिसोर्ट र १३ हजार ८३५ भन्दा बढी कोठा सञ्चालनमा छन् । कम्पनीले ताज, जेटविङ, हिल्टन र फेयरमन्टजस्ता विश्वप्रसिद्ध ब्रान्डसँग साझेदारी गर्दै आएको छ । सन् २०३० सम्म आफ्नो पोर्टफोलियोलाई ६०० होटल र ३० हजार कोठासम्म पुर्‍याउने लक्ष्य सीजी हस्पिटालिटीले राखेको छ ।

Logo