अमेरिका-इजरायल- इरान युद्धको सयदिन, ७ हजारभन्दा बढीले ज्यान गुमाए

अमेरिका-इजरायल- इरान युद्धको सयदिन, ७ हजारभन्दा बढीले ज्यान गुमाए

केन्द्रबिन्दु
6
Shares

दुबई । अमेरिका र इजरायलले इरानविरुद्ध युद्ध सुरु गरेको आइतबार १०० औं दिन भएको छ। आइतबार नै अमेरिकाले हर्मुज जलमार्गमा दुई वटा इरानी ड्रोन खसालेको घोषणा गरेको छ। यसअघि इरानले शनिबार बहराइन र कुवेतमा आक्रमण गरेको थियो।

यद्यपि, दुई पक्षबीच अप्रत्यक्ष वार्ताहरू जारी छन्। तत्काल लडाइँ रोक्ने र इरानको आणविक कार्यक्रमका विषयमा भविष्यमा सम्झौता गर्न दुवै पक्ष सहमत भएको अलजजिराको समाचारमा उल्लेख छ। आइतबार पाकिस्तानका गृहमन्त्री मोसिन नक्वीले इरानको राजधानी तेहरानको भ्रमण गरेका छन्। उनले इरानी सर्वोच्च नेता मोज्ताबा खोमेनेईलाई अमेरिकाको सन्देश सुनाएका हुन्।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानसँगको शान्ति सम्झौताबारे आफू आशावादी रहेको बताउँदै आएका छन्। इरानका विदेशमन्त्री अब्बास अराग्चीले पनि दुई देशबीच सञ्चार खुला रहेको बताएका छन्। तर, अप्रत्यक्ष वार्तामा ठोस प्रगति हुन सकेको छैन।

इरानले लेबनानसहित सबै मोर्चामा शत्रुताको अन्त्य, रोक्का गरिएको अर्बौं डलरको सम्पत्तिमा पहुँच, कच्चा तेल निर्यातमा पश्चिमा देशहरूले लगाएको प्रतिबन्ध फुकुवा, अमेरिकाले आफ्ना बन्दरगाहमा लगाएको नाकाबन्दी खुला गर्नुपर्नेलगायत माग राखेको छ। इरानले आणविक कार्यक्रम स्थगित गर्नुपर्ने, उच्च संवर्द्धित युरेनियमलाई देशबाहिर पठाउन सहमत हुनुपर्ने, हर्मुजको जलमार्ग खुला गर्नुपर्नेलगायत माग अमेरिकाको छ।

इरान युद्धमा अहिलेसम्म ७ हजारभन्दा धेरैको मृत्यु भइसकेको छ। २८ फेब्रुअरीमा अमेरिका–इजरायलले इरानमाथि संयुक्त आक्रमण गर्दा पहिलो निसानामै सर्वोच्च नेता अली खामेनेईसहित शीर्ष कमान्डरहरू मारिएका थिए। इरान युद्ध तीन साताभित्रै सकिने दाबी अमेरिकी राष्ट्रपति ट्रम्पको थियो।

त्यसविपरीत आक्रमण–प्रत्याक्रमणको शृंखला १ सयौं दिनसम्म पनि चलिरहेको छ। पश्चिम एसियामा रहेका अमेरिकी सैन्य ठेगानाहरूमा इरानले ठूलो क्षति पुर्‍याइरहेको छ।

इरानभन्दा धेरै जनता लेबनानमा मारिएका छन्। इरानमाथि भएको आक्रमणको विरोधमा २ मार्चमा लेबनानको विद्रोही संगठन हिजबुल्लाहले इजरायलविरुद्ध युद्ध सुरु भएको घोषणा गर्दै मिसाइल प्रहार गरेको थियो। त्यसयता, इजरायलले लेबनानमा लगातार आक्रमण गरिरहेको छ। प्रारम्भिक आँकडाअनुसार अहिलेसम्म लेबनानमा कम्तीमा ३ हजार ५ सय ९३, इरानमा ३ हजार ४ सय ६८, खाडी देशमा २९ जना, इजरायलमा २६ जना र १३ अमेरिकी सैनिकले युद्धमा ज्यान गुमाइसकेका छन्।

झन्डै १० लाख मानिस लेबनानबाट विस्थापित भइसकेका छन्। १ जुनमा इजरायली फौज दक्षिण लेबनानको दक्षिणी नाबाटिय सहरसम्म पुगेको थियो। उनीहरूले ब्युफोर्ट किल्ला कब्जा गरे। जो, विगत २५ वर्षयताकै इजरायलको सबैभन्दा ठूलो भूमि कब्जा हो। युद्धको प्रारम्भिक दुई साताभित्र अमेरिकी–इजरायली आक्रमण र बम वर्षाका कारण कम्तीमा ३० लाखभन्दा बढी इरानी जनता आन्तरिक रूपमा विस्थापित भएका थिए।

हर्मुजमा इरानले नियन्त्रण कायम गरेकाले ठूलो संख्यामा जहाजहरू अलपत्र परे। २८ फेब्रुअरीदेखि मे ३१ को अवधिमा प्रतिदिन औसतमा ७ वटा जहाज मात्रै यहाँबाट निस्कन पाए। जबकि, युद्धअघि यहाँबाट दैनिक १ सय जहाज बाहिरिने गरेका थिए। १२ अप्रिलमा वार्ता असफल भएपछि अमेरिकाले पनि इरानको तेल निर्यातलाई प्रभावित पार्ने गरी यहाँ नाकाबन्दी लगाएको छ। इरानका बन्दरगाहनजिक ठूलो संख्यामा अमेरिकी सैनिक तैनाथ छन्।

Logo