फिलिपिन्समा ८.२ म्याग्निच्युडको भूकम्प, सुनामीको चेतावनी

फिलिपिन्समा ८.२ म्याग्निच्युडको भूकम्प, सुनामीको चेतावनी

केन्द्रबिन्दु
15
Shares

काठमाडौं । फिलिपिन्समा सोमबार गएको ८.२ म्याग्निच्युडको शक्तिशाली भूकम्प भएको छ । भूकम्पले भवनहरूमा क्षति पुगेको छ । भूकम्पपछि सुनामीको चेतावनी जारी गरिएको छ । प्रभावित क्षेत्रका बासिन्दाहरूलाई सुरक्षित स्थानतर्फ जान आग्रह गरिएको छ ।

देशका विभिन्न भागहरूमा शक्तिशाली धक्का महसुस गरिएको छ । केही विद्यालय तथा विश्वविद्यालयका भवनहरूमा समेत क्षति पुगेको बताइएको छ । भूकम्प फिलिपिन्सको दक्षिणी टापु मिन्डानाओको तटीय क्षेत्र नजिक गएको हो । यसले संरचनात्मक क्षति तथा सम्भावित सुनामीको जोखिम बढाएको अधिकारीहरूले बताएका छन् ।

सामाजिक सञ्जालमा भाइरल भएका भिडियोहरूमा भूकम्पका कारण भवनहरूमा क्षति पुगेको तथा मानिसहरू सुरक्षित स्थानतर्फ भागिरहेको देखिन्छ । एउटा विद्यालय परिसरमा खिचिएको भिडियोमा भवन हल्लिन थालेपछि विद्यार्थी खुला मैदानतर्फ दौडिएको देख्न सकिन्छ ।

रोयटर्सका अनुसार, जर्मन रिसर्च सेन्टर फर जियोसाइन्सेजले सुरुमा भूकम्पको तीव्रता ८.२ म्याग्निच्युड रहेको बताएको थियो । यसलाई पछि संशोधन गरिएको थियो । अन्य भूकम्प अनुगमन संस्थाहरूले भने ७.० देखि ७.८ म्याग्निच्युडसम्मको फरक–फरक अनुमान सार्वजनिक गरेका थिए ।

एएफपीका अनुसार भूकम्पमा परी कम्तीमा एकजनाको मृत्यु भएको छ । चारजना घाइते भएका छन् । प्रहरीका अनुसार प्रभावित क्षेत्रमा केही भवन तथा घरहरूमा क्षति पुगेको छ । उद्धार तथा क्षति मूल्यांकनको कार्य जारी छ ।

भूकम्प करिब १० किलोमिटरको गहिराइमा गएको बताइएको छ । फिलिपिन्स र छिमेकी इन्डोनेसियाले सुनामीको चेतावनी जारी गरेका छन् । अमेरिकी सुनामी चेतावनी प्रणालीले पनि प्रशान्त महासागर क्षेत्रका केही भागमा सम्भावित सुनामीको जोखिम रहेको जनाएको छ ।

Logo