काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को २४औँ वार्षिक साधारणसभा तथा आठौँ अधिवेशन शुक्रबार हुने भएको छ ।
इप्पानका अध्यक्ष गणेश कार्कीले साधारणसभा तथा अधिवेशनका लागि तयारी भइरहेको बताए । उनका अनुसार उक्त संस्थामा हाल सात सयभन्दा बढी कम्पनी आबद्ध छन् ।
संस्थाले आज जारी गरेको विज्ञप्तिमा विसं २०८० जेठ ३२ मा सम्पन्न २१औँ वार्षिक साधारणसभाले भानुभक्त पोखरेलको संयोजकत्वमा पाँच सदस्यीय विधान संशोधन तथा पुनर्लेखन समिति गठन गरिएकामा समितिले संस्थालाई महासङ्घमा रूपान्तरण गर्ने प्रस्ताव गरेको थियो । उक्त प्रस्तावसहितको प्रतिवेदन २०८२ जेठ २९ गते समितिमा पेस भएकामा २०८२ असार ३१ गते सम्पन्न २३औँ वार्षिक साधारणसभाले त्यसमा छलफल गरी कार्यान्वयनका लागि अध्यक्षलाई अख्तियारी दिएको थियो ।
यद्यपि, २०८३ वैशाख ४ गते सम्पन्न कार्यसमिति बैठकले इप्पानलाई महासङ्घका रूपमा रूपान्तरण गर्न नसकिने निष्कर्षसहित इप्पान विधान, २०७८ अनुसार २४औँ वार्षिक साधारणसभा तथा आठौँ अधिवेशन गर्ने निर्णय गरेको विज्ञप्तिमा उल्लेख छ ।
यसैगरी, आज सम्पन्न २०३औँ कार्यसमिति बैठकले विधान संशोधन गरी वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने व्यवस्था हटाउने तथा संशोधित विधान लागू भएपछि एक कार्यकाल कार्यसमितिमा रही योग्य ठहरिएका व्यक्तिलाई अध्यक्ष पदमा उम्मेदवारी दिन पाउने प्रस्ताव आगामी साधारणसभामा लैजाने निर्णय गरेको जनाइएको छ । अन्य सबै पदमा खुला प्रतिस्पर्धाबाट उम्मेदवारी दिन सकिने व्यवस्थाका लागि प्रस्ताव गरिने विज्ञप्तिमा उल्लेख छ ।
यसैबीच, इप्पानले विधान पुनर्लेखनसम्बन्धी मस्यौदा तथा प्रतिवेदन सचिवालयमा सुरक्षित रहेको जनाउँदै उपमहासचिव प्रकाशचन्द्र दुलालले सार्वजनिक रूपमा ‘विधान गायब भएको’ तथा ‘विधानविपरित साधारणसभा आयोजना गर्न लागिएको’ भन्ने आरोपप्रति आपत्ति जनाएको छ । संस्थाले ती आरोपलाई ‘अर्नगल र कपोलकल्पित’ भन्दै खण्डन गरेको छ ।
इप्पानले जेठ ९ र १० गते नै साधारणसभा तथा अधिवेशनसम्बन्धी सार्वजनिक सूचना प्रकाशित गरिसकेको जनाउँदै भ्रमपूर्ण प्रचारप्रति सचेत रहन र अधिवेशनलाई सफल बनाउन सक्रिय सहभागिताका लागि सबै सदस्यहरूलाई आग्रह गरेको छ ।





























प्रतिक्रिया