रोयल ग्लोबल क्विन र किड्स रनवेको फिनाले सम्पन्न, विजेताहरूले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रतिनिधित्व गर्ने

रोयल ग्लोबल क्विन र किड्स रनवेको फिनाले सम्पन्न, विजेताहरूले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रतिनिधित्व गर्ने

केन्द्रबिन्दु
3
Shares

काठमाडौं। सौन्दर्य र प्रतिभाको उत्सवका रूपमा परिचित ‘मिस एन्ड मिसेस रोयल ग्लोबल क्विन नेपाल’ को दोस्रो संस्करण तथा बालबालिकाहरूको प्रतिभा प्रवर्द्धन गर्ने ‘किड्स रनवे’ को पाँचौँ संस्करणको ग्राण्ड फिनाले भक्तपुरमा भव्य रूपमा सम्पन्न भएको छ।

भक्तपुरको हेरिटेज प्यालेसमा शनिबार आयोजित विशेष समारोहमा दुवै प्रतियोगिताका विजेताहरू घोषणा गरिनुका साथै उनीहरूलाई अन्तर्राष्ट्रिय मञ्चमा देशको प्रतिनिधित्व गर्ने अवसर समेत सुरक्षित गरिएको छ।

यस वर्षको ‘रोयल ग्लोबल क्विन नेपाल’ तर्फ मिस र मिसेस विधामा क्रमशः आकृति चौधरी र माया क्षेत्रीले शीर्ष उपाधि चुम्न सफल भएका छन्। यसैगरी, प्रतियोगिताको फस्ट रनरअपको उपाधि चन्दा कपाली र सृष्टि कडायतले हात पारे।

बालबालिकाहरूको प्रतिस्पर्धा ‘किड्स रनवे सिजन फाइभ’ तर्फ भने प्रान्सी तुलाधर र बेदाश्री राज्य लक्ष्मी राणाले उपाधि जितेका छन् भने नाम्दिन सुब्बा र सान्भिका बज्राचार्य फस्ट रनरअप घोषित भए।

रंग पत्रकार प्रकाश सुवेदीको प्रमुख आतिथ्यतामा सम्पन्न यस फाइनल प्रतिस्पर्धामा कुल १४ जना बालबालिका तथा १७ जना विवाहित एवं अविवाहित महिलाहरूले आफ्नो आत्मविश्वास र कला प्रस्तुत गरेका थिए।

आयोजक संस्था शाह स्टुडियो एन्ड कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) मोनु शाहका अनुसार यस प्रतियोगिताको मुख्य उद्देश्य नेपाली प्रतिभाहरूलाई अन्तर्राष्ट्रियस्तरको मञ्च प्रदान गर्नु हो।

सोही योजनाअनुरूप यस सिजनका विजेताहरूलाई भियतनाम तथा बालीमा आयोजना हुने प्रतिष्ठित अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा नेपालको तर्फबाट आधिकारिक रूपमा सहभागी गराइनेछ। यो अवसरले नेपाली मोडलिङ र सौन्दर्य क्षेत्रका नयाँ अनुहारहरूलाई विश्व बजारमा आफ्नो क्षमता प्रदर्शन गर्न थप मद्दत पुग्ने विश्वास आयोजकले लिएको छ।

Logo