गृहमन्त्रीमा कमब्याक गरेका गुरुङको चार निर्णय, मिडिया ट्रायलका नाममा कसैको चरित्रहत्या गर्ने कार्य रोकिने

गृहमन्त्रीमा कमब्याक गरेका गुरुङको चार निर्णय, मिडिया ट्रायलका नाममा कसैको चरित्रहत्या गर्ने कार्य रोकिने

केन्द्रबिन्दु
3
Shares

काठमाडौं । गृहमन्त्रीमा कमब्याक गरेका सुधन गुरुङले मिडिया ट्रायलका कारण कसैले आत्महत्या गर्ने स्थिति आउन नहुने चेतावनी दिएका छन् । उनले गृह मन्त्रीको पदभार ग्रहण गरेलगत्तै आफूमाथि आक्रमण थेग्न सक्ने तर नेपाली नागरिकलाई दुख दिएको सहन नसक्ने बताए ।

गृह मन्त्रालयमा गरिएको संक्षिप्त पत्रकार सम्मेलनमा गुरुङले आफू फेरि यो पदमा फर्किँदा धेरै मानिसहरू दुखी भएको हुनसक्ने टिप्पणी गरे ।उनले भने, ‘धेरै जना खुसी पनि हुनुहुन्छ, धेरै जना दुखी पनि हुनुहुन्छ होला । म त थेग्न सकौँला, तर आइन्दा कुनै नेपाली नागरिकलाई अपमान गर्ने, चरित्रहत्या गर्ने कसैले प्रयास गरेको खण्डमा गृह मन्त्रालयले एकदम संवेदनशील भएर हेर्नेवाला छ । मलाई जे भन्नु छ, नो प्रोब्लम । जस्तो आरोप पनि थेग्न सक्छु । तर नेपाली नागरिकलाई दुख दिएको चाहिँ हेर्न सक्दिन ।

विशेष गरी हाम्रो चेलीहरूलाई जुन तारिकाले चरित्रहत्या गरिन्छ, त्यसमा गृह मन्त्रालय सिरियस हुन्छ । जति अट्याक गर्नु छ, मलाई गर्नुस् । तथ्यका आधारमा गर्नुपर्‍यो । तोडमोड गर्नुभएन । मिडिया ट्रायलका नाममा कसैले आत्महत्या गर्नु नपरोस् ।’

गृहमन्त्रीमा कमब्याक गरेलगत्तै सुधन गुरुङले चारवटा महत्त्वपूर्ण निर्णय गरेका छन् । गृहमन्त्री गुरुङले जेनजी आन्दोलनका क्रममा भएका घटनामा फौजदारी अभियोजन भएकाहरूको मुद्दा फिर्ता गर्न कार्यदल बनाउने निर्णय भएको जानकारी दिए । कार्यदलले मुद्दा फिर्ता गर्न सकिने–नसकिने सिफारिस सहितको प्रतिवेदन दिने उनको भनाइ थियो ।

गुरुङले २०५८ सालमा भएको दरबार हत्याकाण्डको थप छानबिन गर्नेसमेत घोषणा गरेका छन् । यो उनको दोस्रो निर्णय हो । राजदरबार हत्याकाण्डबारे यसअघिका भएका अनुसन्धान प्रतिवेदन अध्ययन गरी थप छानबिनको प्रक्रिया अगाडि बढाउने निर्णय भएको उनले जानकारी दिए ।

गृहमन्त्रालय र सुरक्षा निकायबाट संवेदनशील सूचना चुहावट हुन नदिन सूक्ष्म निगरानी गरी कारबाही गर्न सेन्सिटिभ इन्फर्मेसन भिजलेन्ट टिम गर्ने गृहमन्त्रीको अर्को निर्णय छ । यस्तै, उनले नेपाल प्रहरी अन्तरगत रहेको केन्द्रीय अनुसन्धान ब्यूरोलाई थप सशक्त र प्रभावकारी बनाउन हाल प्रक्रियामा रहेका अनुसन्धान फाइलहरूलाई शीघ्र टुंगोमा पुर्‍याउन निर्देशन दिइने बताए ।

Logo