काठमाडौं। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाली इतिहासकै ठुलो वित्तीय अपराधमा संलग्न समूहबाट पालित पोसितबाट प्रधानमन्त्री र आफूमाथि आक्रमण भइरहेको दाबी गरेका छन्।
बुधबार बिहान प्रतिनिधिसभाको अर्थ समितिमा आयोजित बजेट सम्बन्धि छलफलमा बोल्दै उनले त्यस्तो धारणा राखेका हुन्। ‘प्रधानमन्त्रीज्यू र ममाथि नियोजित रूपमा घेराबन्दी र आक्रमण भइरहेको छ’, अर्थमन्त्री वाग्लेले भने, ‘नेपाली इतिहासकै ठुलो वित्तीय अपराधमा संलग्नहरूमाथि सरकारले छानबिन गरिरहेको छ। केही दिनमा यो विषय अदालत पुग्दै छ। हामीसँग रुष्ट तिनै समूहबाट पालित पोषितबाट प्रधानमन्त्री र ममाथि आक्रमण भइरहेको मलाई शंका लागेको छ।’
संसद्का सदस्यहरूलाई यस्तो समूहका कुराबाट प्रभावित नहुन उनले आग्रह पनि गरे। वाग्लेले आफूविरुद्ध संगठित रुपमा अफवाह फैलाइएको बताएका छन् ।
‘बजेट छलफल गर्नुपर्ने प्रतिनिधि सभामा अवरोध गरेर मविरुद्ध संगठित रुपमा अफवाह फैलाइएको छ,’ वाग्लेले भने, ‘म त्यसको जवाफ दिन पनि संसदीय समितिमा आएँ ।’ समिति बैठक जारी छ ।





























प्रतिक्रिया