सुजुकी ई–भिटाराको मूल्य घट्यो

सुजुकी ई–भिटाराको मूल्य घट्यो

केन्द्रबिन्दु
0
Shares

काठमाडाैं । सरकारले विद्युतीय सवारीसाधनमा लागू गरेको नयाँ कर संरचनापछि सीजी मोटोकर्पले सुजुकी ई–भिटाराका सबै भेरियन्टको मूल्य घटाएको छ । कम्पनीले बुधबार सार्वजनिक गरेको जानकारीअनुसार ई–भिटाराको विभिन्न मोडेलमा मूल्य घटाइएको हो।

सीजी मोटोकर्प प्रालि सुजुकी अटोमोबाइल्सको नेपालका लागि आधिकारिक वितरक हो । कम्पनीका अनुसार सरकारको नयाँ कर व्यवस्थाबाट प्राप्त लाभ तत्काल ग्राहकसम्म पुर्‍याउने नीतिअनुसार मूल्य समायोजन गरिएको हो ।

संशोधित मूल्यसूचीअनुसार ई–भिटारा डेल्टा भेरियन्टको मूल्य ५२ लाख ९९ हजार रूपैयाँबाट घटाएर ४८ लाख ९९ हजार रूपैयाँ कायम गरिएको छ ।

त्यसैगरी, जेटा भेरियन्टको मूल्य ५७ लाख ९९ हजार रूपैयाँबाट ५२ लाख ९९ हजार रूपैयाँमा झारिएको छ । अल्फा भेरियन्टको मूल्य ६३ लाख ९९ हजार रूपैयाँबाट घटाएर ५८ लाख ९९ हजार रूपैयाँ कायम गरिएको छ भने अल्फा डीटी भेरियन्टको मूल्य ६४ लाख ४९ हजार रूपैयाँबाट घटाएर ५९ लाख ४९ हजार रूपैयाँ तोकिएको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार नयाँ मूल्य तत्काल प्रभावबाट लागू भएको छ । डेल्टा भेरियन्टमा भने प्रारम्भिक १०० बुकिङका लागि विशेष मूल्य उपलब्ध गराइनेछ ।

सीजी मोटोकर्पका प्रबन्ध निर्देशक करण चौधरीले सरकारले विद्युतीय सवारीसाधनलाई प्रोत्साहन गर्ने उद्देश्यले सिर्जना गरेको सुविधा ग्राहकसम्म पुर्‍याउनु कम्पनीको दायित्व भएको बताए । उनले नेपालले विद्युतमा आधारित भविष्य निर्माण गरिरहेको उल्लेख गर्दै त्यस यात्रामा कम्पनीले साथ दिने बताए ।

कम्पनीका अनुसार सुजुकी ई–भिटारा नेपालको पहिलो जापानी ब्याट्री विद्युतीय सवारीसाधन (बीईभी) हो । यो चार भेरियन्टमा उपलब्ध रहेको छ । डेल्टा भेरियन्टमा ४९ किलोवाट–घण्टा ब्याट्री र करिब ४५० किलोमिटर रेन्ज रहेको छ भने अन्य भेरियन्टमा ६१ किलोवाट–घण्टा ब्याट्री र करिब ५०० किलोमिटर रेन्ज उपलब्ध छ ।

ई–भिटारामा लेभल–२ एडीएएस, हार्टेक्ट–ई प्लेटफर्म, के–स्टार बीएनक्याप सुरक्षा मापदण्डलगायत सुविधा समावेश रहेको कम्पनीले जनाएको छ ।

सीजी मोटोकर्पले नेपालभर २५ वटा बिक्री केन्द्र, ४० वटा सेवा केन्द्र र दक्ष ईभी प्राविधिकसहित सेवा विस्तार गरिरहेको जनाएको छ । कम्पनीले नयाँ मूल्य समायोजनलाई अस्थायी छुट नभई कर संरचना परिवर्तनपछि गरिएको स्थायी मूल्य पुनरवलोकन भएको स्पष्ट पारेको छ ।

Logo