बजेटमाथि सांसद अमरेशको कटाक्ष- ऋण तिर्न ऋण लिने देशलाई भगवान्‌ले मात्र बचाउन सक्छन्

बजेटमाथि सांसद अमरेशको कटाक्ष- ऋण तिर्न ऋण लिने देशलाई भगवान्‌ले मात्र बचाउन सक्छन्

केन्द्रबिन्दु
3
Shares

काठमाडौं । प्रतिनिधिसभामा जारी आगामी आर्थिक वर्षको बजेटमाथिको सैद्धान्तिक छलफलका क्रममा सांसद डा. अमरेशकुमार सिंहले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेमाथि तिखो कटाक्ष गरेका छन् ।

पुराना र अनुभवी सांसदको नाताले अर्थमन्त्रीलाई ‘विद्वान् मित्र’ भन्दै सम्बोधन गरेका डा. सिंहले बजेटको शैली र प्राथमिकतामाथि कडा प्रहार गरे । उनले वर्तमान बजेटलाई वास्तविक धरातलभन्दा बाहिर गएर बनाइएको ‘फुकिएको बेलुन’ को संज्ञा दिँदै यसको कार्यान्वयनमा पूर्ण आशंका व्यक्त गरे ।

संसद्‌मा बोल्दै सांसद सिंहले अर्थमन्त्री डा. वाग्लेको शैक्षिक पृष्ठभूमि (बूढानीलकण्ठ स्कुल)लाई जोडेर व्यङ्ग्य गरे । बजेट निर्माणमा अर्थमन्त्रीको विज्ञताको नेटवर्क उपयोग गरी कम्तीमा सातै प्रदेशमा बूढानीलकण्ठ जस्तै गुणस्तरीय सरकारी विद्यालय बन्ने आशा आफूले राखेको तर बजेटमा त्यस्तो कुनै योजना नभेटिँदा ठूलो पीडा भएको उनको भनाइ थियो।

आफू संविधानको हस्ताक्षरकर्तासमेत रहेको स्मरण गराउँदै डा. सिंहले मौलिक अधिकारका रूपमा रहेका शिक्षा र स्वास्थ्य क्षेत्रमा कर लगाउनु सरासर संविधानको उल्लंघन भएको दाबी गरे । निजी विद्यालय वा अस्पतालका माध्यमबाट अन्ततः विद्यार्थी र सर्वसाधारणमाथि नै करको भार थपिएको भन्दै उनले सरकारी शिक्षा मजबुत बनाउनेतर्फ सरकारले पाइला नचालेको आरोप लगाए ।

देशको वर्तमान अर्थतन्त्रलाई गाउँको एउटा साहुजी ऋणको पासोमा परेर भागेको प्रसङ्गसँग जोड्दै उनले नेपाल पनि ‘ऋण तिर्नकै लागि नयाँ ऋण लिने’ दुष्चक्रमा फसेको बताए । अर्थमन्त्रीले आफैँ बजेट भाषणमा साढे २ खर्ब आन्तरिक ऋण लिने र त्यसमध्ये साढे १ खर्ब रुपैयाँ सावाँ-ब्याज भुक्तानीमा जाने स्वीकार गरेको उल्लेख गर्दै सिंहले भने, “यसको अर्थ पुरानो ऋण तिर्नका लागि मात्र ऋण लिइँदै छ, विकासका लागि होइन। जुन देशमा विकास खर्च (पुँजीगत खर्च) २० प्रतिशत मात्र हुन्छ र जहाँ लगानी नै हुँदैन, त्यो देशलाई अब भगवान्ले मात्र बचाउन सक्छन्।”

सांसद सिंहले बजेटले गरिब, किसान र युवाहरूको समस्यालाई पूर्ण रूपमा उपेक्षा गरेको आरोपसमेत लगाए । आफ्नो क्षेत्रका किसानले ५ रुपैयाँमा बेचेको तरकारी काठमाडौँमा उपभोक्ताले ५० रुपैयाँमा किन्नुपर्ने बिचौलियाको राज अन्त्य गर्न बजेट मौन रहेको उनको तर्क थियो। कर्मचारीको तलब वृद्धिले ३ करोड जनसङ्ख्याको सानो हिस्सालाई मात्र छुने तर मुसहर, दलित र चेपाङ बस्तीका गरिबहरू महँगीको मारमा पिल्सिइरहने उनले उल्लेख गरे ।

नयाँ प्रविधिको विकास र एआईको लहरसँगै बेरोजगारी विश्वकै ठूलो चुनौती बनेको अवस्थामा बजेटले युवाहरूलाई रोजगारी दिने कुनै ठोस मार्गचित्र नल्याएको उनले बताए । नयाँ पुस्ताको ‘जेनजी’ आन्दोलन युवाहरूको विद्रोह भएको चेतावनी दिँदै उनले देशमा व्यापार गर्ने वातावरण नभएको र डरको वातावरणले शासन चल्न सके पनि विकास हुन नसक्ने प्रस्ट पारे ।

विगत २० वर्षदेखि हरेक अर्थमन्त्रीले बजेट आएकै भोलिपल्ट देश सिङ्गापुर वा जापान बन्छ जस्तो गफ दिने गरे पनि परिणाम सधैँ ‘ढकको तीन पात’ हुने र देश केवल ऋणको भारमा मात्र थपिने परिपाटी यसपटक पनि दोहोरिएको भन्दै उनले बजेटको आलोचना गरे ।

Logo