काठमाडौं । चालु आर्थिक वर्षको १० महिनामा २ अर्ब ५५ करोड १५ लाख २८ हजार रुपैयाँको जुत्ता–चप्पल निर्यात भएको व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रको तथ्यांक छ। जब कि गत आर्थिक वर्षको सोही अवधिमा १ अर्ब ५० करोड २७ लाख २९ रुपैयाँको निर्यात भएको थियो। केन्द्रका अनुसार गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा निर्यात ६९.७९ प्रतिशतले बढेको छ।
साढे २ अर्ब रुपैयाँको जुत्ता–चप्पल निर्यात हुँदा चालु आर्थिक वर्षको १० महिनामा यस्तो सामग्री ७ अर्ब ९५ करोड रुपैयाँको आयात भएको केन्द्रको तथ्यांकले देखाउँछ। गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षमा आयात भने सामान्य घटेको देखिन्छ। गत आर्थिक वर्षको १० महिनामा ८ अर्ब ३ करोड रुपैयाँको जुत्ता–चप्पल आयात भएको थियो।
मुलुकमा वार्षिक १० करोड जोडी जुत्ता–चप्पल खपत हुने गरेको जुत्ता उत्पादक संघ नेपालको तथ्यांक छ। त्यसमध्ये साढे ८ करोड जोडी नेपालमै उत्पादित ब्रान्ड रहेको र बाँकी आयातित जुत्ता खपत हुने संघका अध्यक्ष रुद्रप्रसाद न्यौपानेले बताए। यस वर्ष ८० लाख जोर जुत्ता निर्यात हुने उनको अनुमान छ। ‘विश्व बजारमा चलेका र ग्राहकले चाहने जुत्ता–चप्पल औपचारिक बजारबाट १० प्रतिशतसम्म आयात गर्नैपर्छ। नत्र बजारमा स्वदेशीको एकाधिकार हुन्छ। कार्टेलिङ हुन दिनु हुँदैन। प्रतिस्पर्धी बनाउँछ,’ न्यौपानेले भने, ‘मुलुकको मागको ९० प्रतिशत आन्तरिक रूपमै उत्पादन गरी आत्मनिर्भर बनाउन सक्छौं। त्यो पनि यही वर्ष बन्न सम्भव छ।’
जुत्ता–चप्पल उद्योगलाई वर्गीकरण गर्न नसकिएको समेत न्यौपानेले स्विकारे। ‘१० जोडी घरमै बनाउनेदेखि अर्बौं लगानी गरी ठूला फ्याक्ट्री नै राख्नेसम्म छन्, दर्जनौं ठूला उद्योग छन् भने साना पनि उस्तै छन्,’ उनले भने, ‘आयातभन्दा बढी निर्यात गर्न सके हामीले आत्मनिर्भर भयौं भनेर घोषणा गरिसक्थ्यौं।’





























प्रतिक्रिया