प्रकृति, संस्कृति र इतिहासको अनुपम सङ्गम म्याग्दीको रघुगङ्गा गाउँ

प्रकृति, संस्कृति र इतिहासको अनुपम सङ्गम म्याग्दीको रघुगङ्गा गाउँ

केन्द्रबिन्दु
0
Shares

बेनी (म्याग्दी) । जिल्लाको उत्तर–पूर्वी भूभागमा फैलिएको रघुगङ्गा गाउँपालिका प्रकृति, संस्कृति र इतिहासको अनुपम सङ्गमका रुपमा रहेको छ । प्राकृतिक सुन्तरता र भौगोलिक विविधताले भरिपूर्ण यस गाउँपालिका मौलिक कला, संस्कृति, धार्मिक, ऐतिहासिक धरोहरले धनी छ । पवित्र कालीगण्डकी नदीको तीरदेखि विश्वको सातौँ अग्लो धौलागिरि हिमाल (आठ हजार १६७ मिटर) को पूर्वी मोहोडासम्म फैलिएको यहाँको मनोरम भूगोलले जो कोहीलाई पनि मन्त्रमुग्ध बनाउँछ ।

राहुघाट र कालीगण्डकी नदीको सङ्गमस्थलदेखि धौलागिरि आइसफल आधार शिविरसम्म फैलिएको रघुगङ्गाको नाम पनि धौलागिरिको काखबाट बग्ने रघुगङ्गा नदीबाट रहन गएको हो । मगर, छन्त्याल, थकाली, ठकुरी, बाहुन, क्षेत्री, दलितलगायत विभिन्न समुदायको सहअस्तित्वले यहाँको सामाजिक संरचना जीवन्त बनेको छ । विविधतायुक्त संस्कृति, चालचलन र परम्पराले रघुगङ्गालाई केवल एउटा भूगोलको गाउँपालिका नभई जीवित सांस्कृतिक सङ्ग्रहालय बनाएको छ ।

रघुगङ्गाको परिचय केवल पहाड र हिमालसँग मात्र सीमित छैन । यहाँका वनजङ्गल, झरना, तालतलैया, नदी, हरिया डाँडाकाँडा र गुराँसले ढाकिएका पहाडहरूले पर्यटकलाई डाकिरहेका छन् । धौलागिरि आइसफल पदमार्ग, धौलागिरि सेञ्चुरी पदमार्ग र टोड्के–धौलागिरि पानोरमा पदमार्ग यस क्षेत्रका प्रमुख पर्यटकीय मार्ग हुन् । यी पदमार्गले पर्यटकलाई हिमालको फेदीसम्म पु¥याउँदै प्राकृतिक सौन्दर्यको अद्भुत अनुभूति दिलाउँछन् ।

जिल्ला सदरमुकाम बेनीदेखि मुस्ताङ जोड्ने परम्परागत पदमार्ग सडक निर्माणसँगै विस्थापित बनेको अवस्थामा रघुगङ्गा मुस्ताङलाई ‘ट्रेकिङ ट्रेल’मार्फत जोड्ने ट्रान्जिटका रुपमा रहेको छ । यस गाउँपालिकाबाट सुरु हुने सेन्चुरी र पानोरमा ट्रेकसमेत समेटिने आइसफल पदमार्ग मुस्ताङको लेते जोडिने भएकाले यस क्षेत्रमा पूर्वाधार विकास गर्नुपर्ने ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्यले बताए ।

“रघुगङ्गामा पर्यटन विकासको सम्भावना अथाह छ, छोटो र लामो दूरीमा क्याम्पिङ टे«किङ नै गर्न सकिने ठाउँहरु पनि प्रशस्त छन, तर त्यसका लागि पदमार्ग, पर्यटन सूचनाबोर्ड, सङ्केत पोल, खानेपानी, आश्रयस्थल, सञ्चारलगायत अत्यावश्यक पूर्वाधार बनाउनुपर्छ,” उनले भने ।

टोड्के–धौलागिरि पानोरमा र सेन्चुरी पदमार्ग आइसफल पदमार्गमै जोडिने भएकाले धौलागिरि आइसफल पदमार्गका पर्यटकीय गन्तव्यहरुलाई समेटेर नक्साङ्कन गर्ने र विस्तृत अध्ययन प्रतिवेदनका आधारमा पूर्वाधार बनाउन जरुरी रहेको उनको भनाइ छ ।

टोड्के–धौलागिरि पानोरमा ट्रेक पर्यटकीयस्थल टोड्केबाट मालिकाधुरी, ठाडाखानी, कुइनेखानी, चौरखानी भएर घ्याँसीखर्क तथा धौलागिरि सेञ्चुरी पदमार्ग झीँ, पाखापानी, कोटगाउँ, रायखोर, मूलपानी हुँदै घ्याँसीखर्कमा आइसफल पदमार्गमा जोडिएको छ । घ्याँसीखर्क हुँदै आइसफल आधार शिविर भएर कालीबराह ताल पुगेर मुस्ताङको लेते जोडिएको छ भने अर्कोतर्फ गायत्री मन्दिर, पिप्ले, भगवती, रुइसे, भेडिओडार, मुटुकाटे, सोवाङ धुरी हुँदै आधार शिविर पुग्ने धौलागिरि आइसफल पदमार्गको पहिचान भएको छ ।

पाँच दिनदेखि दुई सातासम्मको लामो र छोटो दूरीमा पदयात्रा गर्न सकिने विकल्पसहित पहिचान भएको धौलागिरि आइसफल पदमार्गले रघुगङ्गा गाउँपालिकाको पिप्ले, भगवती, बेगखोला, दग्नाम, चिमखोला, कुइनेमङ्गले अन्नपूर्ण गाउँपालिकाको दोबा, भुरुङ, दानालगायत ठाउँको उच्च पहाडी डाँडाको धुरी हुँदै मुस्ताङको लेते जोडिएको छ ।

विक्रम संवत् २०६८ मा पहिलो पटक सम्भाव्यत्ता अध्ययन गरिएको धवलागिरि आइसफल पदमार्गको पूर्वाधार विकास र प्रवर्द्धनका लागि रघुगङ्गा गाउँपालिकाले विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) तयार गरिसकेको गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीले जानकारी दिए । धौलागिरि हिमालको आधार शिविरलाई समेटिएको १८२ किलोमिटर लामो आइसफल पदमार्गको डिपिआर तयार गरी सङ्घीय र प्रदेश सरकारमार्फत पूर्वाधार बनाउन पहल थालिएको गाउँपालिकाका अध्यक्ष भण्डारीले जानकारी दिए ।

उनका अनुसार चिमखोला–घ्याँसीखर्क, हुँदै आइसफल आधार शिविर पुग्ने पदमार्गमा पर्यटन मन्त्रालयमार्फत पदमार्ग निर्माण भए पनि कोखेभिर र धौलागिरि हिल भ्यू पोइन्ट पहाडमा अझै पदमार्ग बन्न सकेको छैन । आधार शिविरदेखि कालीबराह हुँदै मुस्ताङको लेते निस्कने परम्परागत गोरेटोबाटो र भगवतीको रुइसेदेखि पछेत्राधुरी, सोबाङधुरी, लोसधुरी, दहबुकी, फेदी, सुगुरथला हुँदै ससलधारा क्षेत्रसम्म पहिचान गरिएको बाटोमा सिँढी चिनेर पदमार्गलाई स्तरोन्नति गर्नुपर्ने काम बाँकी रहेको छ ।

धवलागिरि र अन्नपूर्ण रेञ्जका दर्जनौँ हिमाललाई नजिकबाट अवलोकन गर्न सकिने यस पदमार्गमा डाँफे, मुनाल, कालिज, कस्तुरी, झारल, नाउर, घोरल, थार, रतुवा, हिमचितुवालगायत जङ्गली पशुपक्षी र बासस्थानलाई समेत प्रत्यक्ष अवलोकन गर्न सकिन्छ । यस पदमार्गमा हिमालको हिउँ खसेको दृश्य (आइसफल) सँगै कालिबराह, लाटीबराह, निली बराह, सेती बराह र पहेँलीबराह ताल थप आकर्षणका रुपमा रहेका छन् । कुमारी पदमार्गका रुपमा रहेको धौलागिरि आइसफल पदमार्गलाई सञ्चालनमा ल्याउन सकेमा यसले रघुगङ्गासँगै म्याग्दी र मुस्ताङको पर्यटन विकासमा नयाँ आयाम सिर्जना गर्ने रघुगङ्गा गाउँपालिका–७ चिमखोलाका वडाअध्यक्ष थकबहादुर पाइजाले बताए ।

यस गाउँपालिकामा लामो दूरीका ट्रेकिङ ट्रेलका अलवा रुइसे, भेडिओडार, सोवाङधुरी, टोड्के, मालिका धुरी, रिखार, नांगीडाँडा, नेपालकै लामो पुलहरुको सूचीमा पर्ने बेग–बाँदुक जोड्ने पुललगायत छोटो दूरीमा रहेका पर्यटकीय गन्तव्यको पर्यटन विकास र प्रचारप्रसारमा समेत जोड दिइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुलराज पौडेलले बताउनुभयो । “गाउँपालिकाले पदमार्ग, भ्यूटावर, आश्रयस्थल, पार्कलगायत पर्यटन पूर्वाधार बनाउने काम गर्दै आएको छ, पहिचान भएका गन्तव्यको प्रचारप्रसार र प्रवद्र्धनको अभियानमा पनि गाउँपालिका जुटिसकेको छ, पर्यटनमार्फत रघुगङ्गाको समृद्धिमा अथाह सम्भावना छ,” उहाँले भन्नुभयो । यस वर्ष धार्मिक पर्यटकीयस्थल मालिका धुरी र रिखार जाने पदमार्ग निर्माण भएको छ । यस गाउँपालिकाको वडा नम्बर ४ दर्मिजामा रहेको तातोपानीको कुण्ड प्राकृतिक चिकित्सालयका रुपमा परिचित छ ।

धौलागिरि हिमशृङ्खलाको फेदीमा वडा नम्बर ८ मा अवस्थित रिखार धार्मिक र प्राकृतिक पर्यटनको दुर्लभ सङ्गम हो । करिब चार हजार ६०० मिटर उचाइमा रहेको यस पवित्र स्थलमा हरेक वर्ष हजारौँ श्रद्धालु पुग्ने गर्छन् । तालमा रहेको डुङ्गा आकारको ढुङ्गामा बनेको मन्दिरले यस क्षेत्रको सौन्दर्यलाई अझ विशिष्ट बनाएको छ । जनैपूर्णिमा पर्वमा विशेष पूजाआजा हुने रिखारलाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न सकिने सम्भावना छ ।

गायत्री मन्दिर, टोड्केको स्वर्गाश्रम, बेगको धौलेश्वर महादेव, भगवती कोत, नौलीबराह, नांगीदेवी, मालिका धुरी, मण्डली थान, कमलजैसी थान, भूमेथानलगायत धार्मिक स्थलहरूले रघुगङ्गाको आध्यात्मिक पहिचानलाई बलियो बनाएका छन् । मुक्तिनाथ जाने पुरानो पदमार्गको प्रवेशद्वारका रूपमा रहेको गायत्री मन्दिरमा परापूर्वकालमा ऋषिहरुले तपस्या गरेर ज्ञान आर्जन गरेको मान्यता छ । यस क्षेत्रमा कलात्मक र पौराणिक किसिमका मठमन्दिर छन् भने ध्यानआश्रमका लागि यो ठाउँ उपयुक्त मानिन्छ ।

त्यस्तै, भगवती कोत म्याग्दीकै पुराना कोतमन्दिरमध्ये एक मानिन्छ । भगवती कोतले यस क्षेत्रको ऐतिहासिक विरासतलाई प्रतिबिम्बित गरेको छ । १७औँ शताब्दीको विरासतसँग जोडिएको भगवती कोत मन्दिर धार्मिक पर्यटकीयस्थलका रुपमा चिनिन्छ । अहिले निकै चर्चामा रहेको पर्यटकीयस्थल रुइसे तत्कालीन बाइसे चौबिसे राज्यको पालामा शासन चलाएको ऐतिहासिक ठाउँका रुपमा पनि परिचित छ । यहाँ तत्कालीन राजाले बनाएको दरबारको भग्नावशेष, आराम गर्ने ढुङ्गा, तत्कालीन समयमा प्रयोग गरेका पानीका कुवा, हात्ती बाँध्ने ठाउँलगायत प्रमाणहरु अझै भेटिन्छन् ।

रघुगङ्गाको अर्को परिचय मौलिक कला र संस्कृति हो । यहाँका थालीनाच, पुख्र्यौली नाच, सोरठी, मादले मारुनी, यानीमाया, सिरफुले, साइलो भाका, सेदो भाका, रत्यौली, नौमती पञ्चेबाजा र भजन–कीर्तनले मौलिक कला र संस्कृतिलाई जीवन्त बनाएका छन् । विशेषगरी वडा नम्बर ७ चिमखोला थालीनाचको उद्गमस्थलका रूपमा परिचित छ ।

कुइनेमङ्गले, चिमखोला, पाखापानी, बेग, दग्नामलगायत क्षेत्रमा गरिने परम्परागत भिर मह सिकार साहसिक पर्यटनको महत्वपूर्ण आधार हो । अग्ला चट्टानमा झुन्डिएर गरिने मह सिकारले विदेशी पर्यटकलाई विशेष आकर्षित गर्ने गरेको छ । यसलाई स्थानीय जीवनशैली, साहस र परम्पराको अनुपम मिश्रणका रूपमा हेरिन्छ । यसका अतिरिक्त विभिन्न बस्तीमा रहेका तामा खानी, घुम्ती गोठ, भेडाबाख्रा पालन, जडीबुटी सङ्कलन र हिमाली जनजीवनको अध्ययन पनि रघुगङ्गामा पर्यटन विकासमा नयाँ सम्भावनाहरु हुन् ।

Logo