टेक्सास इन्टरनेशनल कलेजद्वारा कक्षा ११ का विद्यार्थीका लागि अभिमुखीकरण कार्यक्रम आयोजना

टेक्सास इन्टरनेशनल कलेजद्वारा कक्षा ११ का विद्यार्थीका लागि अभिमुखीकरण कार्यक्रम आयोजना

केन्द्रबिन्दु
12
Shares

काठमाडाैं । काठमाडाैंकाे मित्रपार्कमा अवस्थित टेक्सास इन्टरनेशनल कलेजले कक्षा ११ मा भर्ना भएका नयाँ विद्यार्थीहरूका लागि आयोजना गरेको अभिमुखीकरण कार्यक्रम सम्पन्न भएकाे छ ।

कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा आयोजित उक्त कार्यक्रममा विद्यार्थीहरूलाई कलेजको वातावरण, शैक्षिक मार्गनिर्देशन र पालना गर्नुपर्ने नियमहरूबारे विस्तृत जानकारी गराइएको हो ।

कार्यक्रममा नयाँ विद्यार्थीहरूलाई स्वागत गर्दै टेक्सास इन्टरनेसनल एजुकेसन नेटवर्कका प्रधानाध्यापक डा. श्यामसुन्दर श्रेष्ठले संस्थाले आध्यात्मिक रूपमा सचेत, विवेकी र सीपयुक्त जनशक्ति उत्पादन गर्ने लक्ष्य राखेको बताए । उनले कलेजले सिकाइमा कुनै कसर बाँकी नराख्ने उल्लेख गर्दै विद्यार्थीहरूलाई आफ्नो रुचि र मेहनतका साथ अघि बढ्न आग्रह गरे ।

विज्ञान र व्यवस्थापन संकायमा विद्यार्थीको आकर्षण बढ्दो रहेको चर्चा गर्दै उनले कुनै पनि विषय आफैमा कमजोर नहुने र सफलताका लागि विद्यार्थीको निरन्तर परिश्रम आवश्यक पर्ने धारणा राखे ।

अभिमुखीकरणका क्रममा विद्यार्थीहरूलाई कलेजको अनुशासन, अनिवार्य विद्यालय पोशाक, समयपालन तथा अतिरिक्त क्रियाकलापमा सहभागिताको महत्त्वबारे सूचित गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि एवं जीवन विकास विशेषज्ञ एलपी भानु शर्माले विद्यार्थीहरूलाई बजारको लहैलहैमा लाग्नुभन्दा आफ्नो वास्तविक रुचि र लगाव पहिचान गर्न सुझाव दिए । आफ्नो ज्ञान र क्षमतामा इमानदारीपूर्वक काम गरे बजार आफैं पछाडि दगुर्ने उनको भनाइ थियो ।

उक्त विशेष समारोहमा टेक्सास इन्टरनेसनल एजुकेसन नेटवर्कका चिफ अफ एकेडेमिक्स प्रा. डा. गोविन्दप्रसाद आचार्य, प्रबन्ध निर्देशक जितेन्द्र कुमार बाखु, क्याम्पस प्रमुख, विभिन्न विभागका प्रमुखहरू तथा प्राध्यापकहरूको बाक्लो उपस्थिति रहेको थियो ।

Logo