काठमाडौं । दार्चुलाको आकाशमा अनुमतिविना भारतीय सैनिक हेलिकप्टर उडेको छ। व्यास गाउँपालिका–१ छाङरुको आकाशमा अनुमतिविना भारतीय हेलिकप्टर उडेको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ।
सहायक प्रमुख जिल्ला अधिकारी मोहनसिंह धामीका अनुसार जेठ २७ गते बिहान भारतीय सैनिक हेलिकप्टर नेपाली आकाश हुँदै कालापनीतर्फ उडेको हो।
भारतको इन्डो–टिबटेन बोर्डर पुलिस (आइटीबीपी)का डिजी शत्रुजीतसिंह कपूर सवार हेलिकोप्टर दार्चुलाको छाङरुको आकाश हुँदै कालापानी गएको पाइएको स्थानीय प्रशासनले जनाएको छ।
सशस्त्र प्रहरी बलमार्फत जानकारी आएपछि यस विषयमा जिल्ला प्रशासन कार्यालयले गृह मन्त्रालयमा मौखिम जानकारी गराएको थियो। घटनाको विस्तृत जानकारी संकलन गरेर सोमबार लिखित रुपमा मन्त्रालयलाई जानकारी गराइने सहायक प्रमुख जिल्ला अधिकारी धामीले बताए।
आईटीबीपी प्रमुख कपुर कालापानी क्षेत्रको गुञ्जीस्थित ब्यारेक निरीक्षण गर्न गएको बुझिएको छ। ‘हामीसँग अनुमति केही लिइएको छैन। प्रारम्भिक रूपमा बुझ्दा त्यताको प्रदेशस्तरीय व्यक्ति आएकोले यसबारेमा मन्त्रालयमा जानकारी गराएका छौँ,’ सहायक प्रमुख जिल्ला अधिकारी धामीले भने, ‘हामी पनि यसबारेमा विस्तृत बुझ्दै छौँ। हाम्रो तहबाट हुने हामी गर्छौँ । माथिल्लो तहमा हुने कुरा उताबाटै हुन्छन्।’





























प्रतिक्रिया