काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको राष्ट्रिय महाधिवेशन पहिले नै सबै प्रदेश अधिवेशन सम्पन्न हुनेमा संशय पैदा भएको छ । रास्वपाको केही स्थानीय र जिल्ला तह संरचनामा विवाद देखिएको हो । रास्वपाले कोशी, बागमती, गण्डकी र लुम्बिनी गरी चार प्रदेश अधिवेशन सम्पन्न गरेको छ भने दुई प्रदेश कर्णाली र सुदूरपश्चिममा मंगलबार अधिवेशन हुने तय भएको छ । तर मधेश प्रदेशमा भने विवादले अधिवेशन अनिश्चित बनेको छ । रास्वपाले ७–९ असारमा चितवनमा महाधिवेशन गर्दै छ ।
मधेश प्रदेशका आठ जिल्लामध्ये पर्साको मात्रै जिल्ला अधिवेशन सकिएको छ । रास्वपा निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार महाधिवेशनअघि मधेश प्रदेश अधिवेशन गर्न मुस्किल छ । ‘समावेशिता र समायोजनको विषय टुंगो लाग्न बाँकी छ । अब महाधिवेशनको समय पनि नजिकिँदो भएकाले र समय पनि कमी भएकाले मधेशमा अधिवेशन हुने सम्भावना न्यून छ,’ केसीले भने ।
रास्वपा प्रवक्ता मनीष झाले महाधिवेशन अगाडि नै मधेश प्रदेश अधिवेशन सम्पन्न गराउने प्रयास जारी रहेको बताए । ‘रास्वपा मधेश प्रदेशमा केही प्रतिनिधिसम्बन्धी विवाद रहेकाले पर्साबाहेकको जिल्ला अधिवेशन रोकिएको छ । जिल्लाको केही विवाद समाधान गरेर महाधिवेशन अगाडि नै प्रदेश अधिवेशन सम्पन्न गराउने प्रयास हुँदै छ, अन्यथा महाधिवेशनपश्चात्को विकल्प छैन,’ उनले भने । रास्वपा निर्वाचन आयोगका उपप्रमुख राम गुरुङले मधेश अधिवेशन गर्नेबारे छलफल चलिरहेको जानकारी दिए ।
रास्वपाको कोशी प्रदेश सभापतिमा चन्द्र राई निर्वाचित भएका छन् । उनले सरिन तामाङलाई पराजित गर्दै नेतृत्व हात पारेका हुन् । कोशी प्रदेश सभापतिको निर्वाचनमा राईले २ सय ८० मत प्राप्त गरे । तामाङले १ सय ४१, चन्द्रकुमार गौलीले २७ र खगेन्द्र कटुवालले ४१ मत मात्रै प्राप्त गरेका थिए । सरिन तामाङ रास्वपा कोशी प्रदेशको निवर्तमान कार्यवाहक सभापति थिइन् । सभापतिमा पराजित भएपछि उनले पार्टी परित्यागको घोषणा गरेकी छन् ।
रास्वपा बागमती प्रदेशमा प्रतिनिधिसभा सदस्य तथा निवर्तमान सभापति पराजित भएका छन् । रास्वपा प्रदेश सभापति निर्वाचनमा उत्सव अर्याल निर्वाचित भएका छन् । उनले यसअघि सभापति सांसद अच्युतम लामिछानेलाई २ मतको अन्तरले पराजित गरेका हुन् । अर्याल ४ सय १६ मत प्राप्त गरी विजयी हुँदा लामिछानेले ४ सय १४ मत प्राप्त गरे । बागमती प्रदेश सभापतिमा प्रतिनिधिसभाका दुई सांसदले उम्मेदवारी दिएका थिए । नुवाकोट २ बाट निर्वाचित लामिछाने पराजित भए भने काभ्रे २ बाट निर्वाचित बदनकुमार भण्डारीको सभापतिमा उम्मेदवारी नै खारेज भएको थियो ।
लामिछानेले पार्टीमा एक पद एक व्यक्तिको नीतिले नेताहरूलाई निस्तेज गर्ने बताएका थिए । महामन्त्री बुर्लाकोटीले संघीय सांसदलाई प्रदेश र जिल्लाको नेतृत्व नलिन भनी गरेको पत्राचारलाई लामिछानेले अस्वीकार गरेका थिए । ‘एक पद एक व्यक्तिले निस्तेज गर्छ, राजनीति गर्ने हरेकले बुझ्नुपर्छ,’ उनले भनेका थिए ।
रास्वपा लुम्बिनी प्रदेश सभापति दोस्रो पटक निर्वाचनको समय निर्धारण गरिएपछि भएको थियो । पहिलो चरणमा भएको निर्वाचनमा लुम्बिनी प्रदेश सभापतिका कुनै पनि उम्मेदवारले पार्टी विधानको व्यवस्था अनुसार बहुमत (५० प्रतिशत प्लस १) नपाएपछि पुनः मतदान घोषणा गरिएको थियो । त्यसपछि सबैभन्दा बढी मत ल्याउने उम्मेदवारलाई दोस्रो बढी मत ल्याउने उम्मेदवारले समर्थन गरेका थिए ।
लुम्बिनी प्रदेश सभापतिका लागि ६ उम्मेदवार थिए । शालिकराम घिमिरेले १ सय ९९, गोपाल घिमिरेले ८७, गणेश पौडेलले ८४, राजकुमार सुवेदीले ८०, मञ्जु भुसालले ७१ र मधुप्रसाद अर्यालले १९ मत पाएका थिए । सभापतिका लागि दोस्रो चरणको निर्वाचन हुने भएपछि शालिकरामलाई गोपालले समर्थन गरेका थिए । रास्वपा लुम्बिनीको सभापतिमा ७१ मत मात्र प्राप्त गरेकी मञ्जु ज्ञवाली भुसाल समानुपातिकबाट प्रतिनिधिसभा सभा सदस्य छिन् ।
रास्वपा कर्णालीको अधिवेशन आइतबारदेखि प्रदेश राजधानी सुर्खेतको वीरेन्द्रनगरमा सुरु भएको छ । ५ सय ५ प्रतिनिधि सहभागी अधिवेशनको उद्घाटन महामन्त्री भूपदेव शाहले गरेका छन् । रास्वपा कर्णाली सभापतिका लागि वर्तमान सभापति मदन खड्कासहित उपसभापति प्रेमबहादुर बोहरा, कोषाध्यक्ष स्नेहा उपाध्याय नेपाल, रुकुम पश्चिमका पूर्वसभापति मानबहादुर शाही र नन्दकिशोर बस्नेत (एनके) आकांक्षी छन् ।
रास्वपा सुदूरपश्चिम प्रदेशको अधिवेशन मंगलबारदेखि धनगढीमा हुँदै छ । यो अधिवेशनमा सभापतिमा उम्मेदवारी घोषणा गर्नेहरूको संख्या बढिरहेको छ । रास्वपा सुदूरपश्चिमका हालका सभापति प्रकाश विष्ट, संस्थापक सभापति नरेन्द्रबहादुर चन्द, जनकराज पन्त, भोजराज जोशीलगायतले उम्मेदवारी घोषणा गरेका छन् ।





























प्रतिक्रिया