बेल्जियमको गोल्डेन जेनेरेसनविरुद्ध मोहम्मद सालाहको इजिप्ट, को कति पानीमा ?

बेल्जियमको गोल्डेन जेनेरेसनविरुद्ध मोहम्मद सालाहको इजिप्ट, को कति पानीमा ?

केन्द्रबिन्दु
12
Shares

काठमाडौं । सोमबार राति पौने १ बजे नेपाली समयअनुसार फिफा विश्वकप २०२६ अन्तर्गत ‘म्याच–डे ६’ अन्तर्गत बेल्जियम र इजिप्ट भिड्दै छन् ।

आज रातीको खेलमा एकातिर ‘गोल्डेन जेनेरेसन’ को अन्तिम मौकाको खोजीमा रहेको बेल्जियमले विश्वकपमा आफ्नो दाबेदारी बलियो बनाउन चाहन्छ भने अर्कोतिर मोहम्मद सालाहको कप्तानीमा इजिप्ट लगातार दोस्रो विश्वकपमा नकआउट चरणको सपना बुनिरहेको छ ।

बेल्जियमका लागि यो खेलको सबैभन्दा सुखद पक्ष केभिन डी ब्रुएनाको पूर्ण फिटनेस हो । ह्यामस्ट्रिङको समस्याले गत सिजनको अन्त्य प्रभावित भए पनि डी ब्रुएनाले समयमै रिकभरी गर्दै विश्वकप खेल्न सक्ने भएका छन्, जसले बेल्जियमको मिडफिल्डमा सिर्जनात्मकता र अनुभवको सञ्चार गरेको छ ।

यद्यपि, प्रशिक्षक डोमेनिको टेडेस्कोका सामु रक्षापंक्तिको चिन्ता कायमै छ । अनुभवी सेन्टर ब्याक जान भेर्टोङेनले उमेरको प्रभावसँग जुधिरहँदा युवा जिनो डेबास्टलाई विश्वकपको ठूलो मञ्चमा जिम्मेवारी सम्हाल्नुपर्ने दबाब छ । त्यसमाथि थिबो कोर्टोइसले घुँडाको लामो चोटपछि लय समात्न संघर्ष गरिरहेको अवस्थामा गोलकिपिङमा केही अनिश्चितता देखिन्छ ।

आक्रमणमा भने बेल्जियमसँग शक्तिशाली विकल्प छन् । रोमेलु लुकाकुको शारीरिक उपस्थिति र जेरेमी डोकुको गति तथा चाल्र्स डी केटेलेरको प्राविधिक क्षमताले विपक्षी रक्षापंक्तिलाई ध्वस्त बनाउने योजना रहेको छ । लियान्ड्रो ट्रोसार्ड र योरी टिलेमान्सको अनुभवले बेन्चलाई पनि बलियो बनाएको छ । बेल्जियमले पोजिसनमा आधारित आक्रामक खेल खेल्दै मिडफिल्डमा डी ब्रुएनाको पासिङ र डोकुको ड्रिब्लिङबाट इजिप्टको अनुशासित डिफेन्सलाई चिर्ने प्रयास गर्नेछ ।

अर्कोतर्फ इजिप्टको यात्रा भने कठिन छ, तर असम्भव छैन । अफ्रिकी छनोटमा उत्कृष्ट प्रदर्शन गर्दै स्थान पक्का गरेको ‘फारोहज’ उपनामले चिनिने इजिप्टको मुख्य हतियार कप्तान मोहम्मद सालाहकै व्यक्तिगत क्षमतामा निर्भर छ ।

लिभरपुलमा निरन्तर गोल र असिस्ट गरिरहेका सालाह विश्वकपमा इजिप्टको आशाको केन्द्र हुन् । उनलाई मोस्ताफा मोहम्मद र ट्रेजेग्वेटजस्ता खेलाडीको साथले आक्रमणमा विविधता दिनेछ । तर, मिडफिल्डमा मोहम्मद एल्नेनीको अनुपस्थिति इजिप्टका लागि धक्का पुगेको छ । घुँडाको चोटका कारण उनी विश्वकपबाट बाहिरिँदा डिफेन्सिभ मिडफिल्डको जिम्मेवारी हम्दी फाथी र इमाम असोरमाथि आइपरेको छ ।

प्रशिक्षक रुई भितोरियाले इजिप्टलाई अनुशासित ४–३–३ संरचनामा उतार्ने अनुमान छ, जहाँ डिफेन्समा आब्देलमोनिम र हेगाजीको जोडीले बेल्जियमका शारीरिक आक्रमणलाई रोक्ने प्रयास गर्नेछन् । इजिप्टको स्पष्ट रणनीति भनेको डिपमा रक्षा गर्दै सालाहको गतिमार्फत तीव्र काउन्टर अट्याकमा गोल गर्ने हुनेछ । त्यस्तै इजिप्टसँग हार्नुपर्ने कुनै दबाब नभएकाले उनीहरू स्वतन्त्र भएर खेल्न सक्छन्, जसले बेल्जियमलाई अकमक्याउन पनि सक्छ ।

हेड टु हेडको कुरा गर्दा बेल्जियम र इजिप्टले यसअघि विश्वकपमा कहिल्यै एकअर्काको सामना गरेका छैनन् । यद्यपि, सन् २०१८ मा विश्वकपअघि भएको मैत्रीपूर्ण खेलमा बेल्जियमले इजिप्टलाई ३–० गोलले पराजित गरेको थियो । तर त्यो नतिजा पनि इतिहास भइसकेको छ, जसले गर्दा आजको भेट दुवैका लागि नयाँ रणनीतिक परीक्षा हुनेछ । बेल्जियमसँग युरोपेली र विश्वकपको ठूलो अनुभव छ भने इजिप्टसँग अफ्रिकी च्याम्पियनको आत्मविश्वास र सालाहजस्तो विश्वस्तरीय स्टारको प्रेरणा छ ।

समग्रमा आज राति हुने खेल बेल्जियमको ‘गोल्डेन जेनेरेसन’ का लागि यो अन्तिम विश्वकप हुन सक्छ, भने इजिप्टका लागि यो गर्विलो इतिहास रच्ने अवसर हो । डी ब्रुएनाको सिर्जना, लुकाकुको शक्ति र सालाहको जादुले भरिएको यो महायुद्ध तीन अंकका मात्र मात्र नभई समूहको नेतृत्वको महासंग्राम पनि बन्ने निश्चित छ ।

Logo