विनायक सिद्ध (भीएस) कलेजमा कक्षा ११ का विद्यार्थीलक्षित ओरिएन्टेसन कार्यक्रम सम्पन्न

विनायक सिद्ध (भीएस) कलेजमा कक्षा ११ का विद्यार्थीलक्षित ओरिएन्टेसन कार्यक्रम सम्पन्न

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । चाबहिलमा अवस्थित विनायक सिद्ध (भीएस) कलेजमा कक्षा ११ मा नयाँ भर्ना भएका विद्यार्थीहरूका लागि एक भव्य ओरिएन्टेसन कार्यक्रम सम्पन्न भएको छ। कलेज प्रशासन, प्राध्यापक तथा नयाँ विद्यार्थीहरूको उत्साहजनक उपस्थितिमा उक्त कार्यक्रम आयोजना गरिएको हो।

कार्यक्रमलाई सम्बोधन गर्दै कलेजका प्रमुख रामकृष्ण सिम्खडाले कलेजको नयाँ शैक्षिक सत्रमा प्रवेश गरेका सम्पूर्ण विद्यार्थीहरूलाई विनायक सिद्ध परिवारमा स्वागत गरे । उनले विद्यार्थीहरूलाई कलेजमा बिताउने दुई वर्षको अवधि उनीहरूको जीवनको मार्गचित्र कोर्ने महत्वपूर्ण समय भएको बताए ।

कक्षा ११ र १२ को शिक्षालाई माध्यमिक तहको उच्चतम र संवेदनशील कक्षाको रूपमा लिइने चर्चा गर्दै सिम्खडाले भने, “तपाईंहरू थुप्रै सपनाहरू बोकेर विभिन्न शैक्षिक विधा (स्ट्रिम) मा यस कलेजसँग जोडिनुभएको छ। कलेज प्रशासन तपाईंहरूका ती सपनाहरूलाई साकार पार्न व्यक्तिगत र संस्थागत रूपमा पूर्ण प्रतिबद्ध छ।” उनले विद्यार्थी जीवनमा सफलता प्राप्त गर्न ‘डि स्क्वायर’ अर्थात् ‘ड्रिम’ र ‘डिसिप्लिन’ अनिवार्य हुनुपर्नेमा जोड दिए ।

कार्यक्रममा कलेजका प्लस टु कोअर्डिनेटर विनय सिम्खडाले नयाँ शैक्षिक सत्रका विद्यार्थीहरूलाई विशेष उत्प्रेरणा जगाउँदै स्वागत गरे । कलेजले केवल शैक्षिक गतिविधिमा मात्र सीमित नभई विद्यार्थीभित्र लुकेका खेलकुद, कला तथा सांस्कृतिक प्रतिभाहरूलाई प्रस्फुटन गराउन सदैव मार्गनिर्देशन, सहयोग र प्रेरणा प्रदान गर्ने उनले प्रतिबद्धता व्यक्त गरे ।

उनले थप भने, “तपाईंहरूको यो नयाँ शैक्षिक अध्यायमा सफलता हासिल गर्न निरन्तर प्रयास र सकारात्मक सोचको सबैभन्दा ठूलो भूमिका हुन्छ। तपाईंहरूको सफलता र खुसीसँग तपाईंहरूलाई यहाँसम्म पुर्‍याउन दिनरात मेहेनत गर्ने आमाबुबाको सपना र सिङ्गो समाजको अपेक्षा जोडिएको हुन्छ, यसलाई सधैं स्मरण गर्नुपर्छ।”

आगामी तीन वर्षभित्र विनायक सिद्ध कलेजलाई मुलुककै उत्कृष्ट र विद्यार्थीहरूको पहिलो रोजाइको कलेज बनाउने लक्ष्यका साथ भौतिक पूर्वाधार, अब्बल प्राध्यापक टोली र शैक्षिक गुणस्तरमा निरन्तर परिमार्जन गरिरहेको कलेजले जनाएको छ। ओरिएन्टेसन कार्यक्रममा नयाँ सत्रको नियमित कक्षाहरू आगामी असार ८ गते सोमबारदेखि विधिवत् रूपमा सञ्चालन हुने कलेज प्रशासनले जानकारी दिएको छ।

वि.सं. २०७१ सालमा स्थापना भएको भीएस कलेज चाबहिलले छोटो समयमै गुणस्तरीय शिक्षा, अनुशासित वातावरण र विद्यार्थी केन्द्रित शिक्षण पद्धतिका कारण आफ्नो छुट्टै पहिचान निर्माण गर्न सफल भएको छ । कक्षा ११ र १२ अन्तर्गत विज्ञान, व्यवस्थापन, कानुन र मानविकी संकाय सञ्चालन गरिरहेको विनायक सिद्ध कलेजले विद्यार्थीको अन्तर्निहित प्रतिभा पहिचान गरी उनीहरूलाई लक्ष्यप्रति केन्द्रित बनाउन विशेष भूमिका खेल्दै आएको छ।

Logo