केन्द्रबिन्दु संवाददाता । धादिङ, २८ मंसिर
धादिङमा गाँजासहित ट्रक चालक र सह–चालकलाई प्रहरीले पक्राउ गरेको छ । गजुरी गाउँपालिका–१ गजुरी बजारस्थित पृथ्वी लोकमार्ग हुँदै गइरहेको ना.२ख. ७३११ नम्वरको खाली ट्रकबाट प्रहरीले ३० केजी गाँजा सहित उनीहरुलाई नियन्त्रणमा लिएको हो ।
पर्सा कल्याणपुर गाउँपालिका–४ बस्ने ट्रक चालक २७ बर्षीय हृदय नन्द प्रसाद महतो र सोही ट्रकका बीरगञ्ज महानगरपालिका–२ छप्कैया बस्ने सह–चालक १२ वर्षीय आकास कुमार नुनियालाई प्रहरीले पक्राउ गरेको हो ।
इलाका प्रहरी कार्यालय गजुरीबाट खटिएको प्रहरी टोलीले काठमाडौँबाट बीरगंजतर्फ जाँदै गरेको उक्त ट्रकलाई आज बिहीबार चेकजाँच गर्ने क्रममा ट्रकको अगाडि क्याबिनमा प्लाष्टिकको दुईवटा बोरामा पोका बनाई लुकाई छिपाई राखेको अवस्थामा उक्त गाँजा प्रहरीले बरामद गरेको थियो । यस बिषयमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय गजुरीले जनाएको छ ।































प्रतिक्रिया