काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको शान्ति सम्झौतामा उपराष्ट्रपति जेडी भान्सले शुक्रबार स्विट्जरल्यान्डमा हस्ताक्षर गर्ने बताएका छन् । स्विट्जरल्यान्डमा हुने शान्ति सम्झौताको अमेरिकी प्रतिनिधिमण्डलको नेतृत्व जेडी भान्सले गर्ने भएका छन् ।
न्युयोर्क टाइम्सलाई उद्धृत गर्दै संचारमाध्यमहरूमा प्रकाशित विवरणअनुसार, एक वरिष्ठ अमेरिकी अधिकारीले ट्रम्प र भान्स दुवैले इरानका मुख्य वार्ताकार मोहम्मद बाघेर गालिबाफसँग सम्झौताको मस्यौदामा डिजिटल हस्ताक्षर गरिसकेको बताएका छन् ।
फ्रान्समा सोमबार सञ्चारकर्मीहरूसँग ट्रम्पले भान्स हस्ताक्षर समारोहमा सहभागी हुने जानकारी दिएका हुन् । यद्यपि, उनले आफू स्वयं कार्यक्रममा सहभागी हुने वा नहुने विषयमा स्पष्ट जानकारी दिएनन् ।
“सम्झौता पत्रको पूर्ण पाठ शुक्रबारपछि कुनै पनि समय जारी गरिनेछ,” ट्रम्पले भने । एक सञ्चारमाध्यमसँगको अन्तर्वार्तामा उपराष्ट्रपति भान्सले शान्ति सम्झौतामा आइतबार नै डिजिटल हस्ताक्षर सम्पन्न भइसकेको र यसको पूर्ण विवरण यस हप्ताको अन्त्यसम्म सार्वजनिक हुन सक्ने बताएका छन् ।
भान्सले एबीसी न्युजको कार्यक्रम ‘गुड मर्निङ अमेरिका’मा भने, “हामीले यो सम्झौतामा हिजो (आइतबार)नै डिजिटल रूपमा हस्ताक्षर गरिसकेका छौँ ।”
यो सम्झौता पाकिस्तान, कतारलगायत विभिन्न मध्यस्थकर्ता देशहरूको सहकार्यमा तयार पारिएको हो । पाकिस्तानका प्रधानमन्त्री शहबाज शरिफका अनुसार, यस सम्झौताको औपचारिक हस्ताक्षर समारोह आगामी जुन १९ (शुक्रबार) मा स्विट्जरल्यान्डमा आयोजना गरिनेछ ।
न्युयोर्क टाइम्सका अनुसार, एक वरिष्ठ अमेरिकी अधिकारीले रणनीतिक होर्मुज जलमार्ग शुक्रबारसम्म पूर्ण रूपमा सञ्चालनमा ल्याइने र तेल तथा ग्यासको आपूर्ति सहज बनाउन ठूला ट्यांकरहरूलाई प्राथमिकता दिइने बताएका छन् । हिन्दुस्तान टाइम्सबाट





























प्रतिक्रिया