काठमाडौं । केन्द्रबिन्दु अनलाइन मिडिया प्रालिको आयोजनामा आज मंगलबार ललितपुरस्थित ‘द प्लाजा’ मा आयोजना भइरहेको ‘चौथो केन्द्रबिन्दु एजुकेसन एक्सिलेन्स अवार्ड २०८३’ अन्तर्गत प्यानल डिस्कसन पनि हुनेछ ।
अवार्ड वितरण हुनुअघि शिक्षा क्षेत्रको वर्तमान अवस्था र आगामी दिशाबारे गरिने गहन विमर्श अन्तर्गत दोस्रो सत्रको विषय ‘के नेपाललाई एजुकेसन हब बनाउन सकिन्छ ?’ तय गरिएको छ ।
यस महत्त्वपूर्ण सत्रको सुरुवात मुख्य वक्ता काठमाडौँ विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. भोला थापाको विशेष मन्तव्यबाट हुनेछ । उनले नेपाललाई अन्तर्राष्ट्रिय स्तरको शैक्षिक केन्द्र (एजुकेसन हब) बनाउन रहेका आधार, चुनौती र सम्भावनाबारे आफ्नो धारणा राख्नेछन् ।
मुख्य मन्तव्यपछि सुरु हुने प्यानल छलफलमा शिक्षा, स्वास्थ्य तथा सूचना समितिका सभापति डा. ओजस्वी शेरचन, शिक्षा मन्त्रालयको प्राविधिक तथा व्यावसायिक महाशाखाका सहसचिव चन्द्रकान्त भुसाल, प्याब्सनका पूर्वअध्यक्ष एवं रेडियन्ट स्कूलका संस्थापक डीके ढुङ्गाना, र गेट कलेजका संस्थापक अध्यक्ष खेम लकाई प्यानलिस्टका रूपमा सहभागी हुनेछन् ।
नीतिगत व्यवस्था, सरकारी योजना, निजी क्षेत्रको भूमिका र देशमै अन्तर्राष्ट्रिय स्तरको व्यावहारिक शिक्षाको उपलब्धता जस्ता आयामहरूमा केन्द्रित रहने यस बहसको सहजीकरण इक्यानका निवर्तमान अध्यक्ष शेषराज भट्टराईले गर्नेछन् ।





























प्रतिक्रिया