बेन्जामिन नेतन्याहुले भने ‘लडाइँ अझै सकिएको छैन’

बेन्जामिन नेतन्याहुले भने ‘लडाइँ अझै सकिएको छैन’

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । अमेरिका र इरानबिच शान्ति सम्झौताको घोषणा भए पनि इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले ‘लडाइँ अझै नसकिएको’ बताएका छन्।

अमेरिका र इरानबिच युद्ध अन्त्यका लागि सम्झौता गरिएपछि सोमबार इजरायलको राजधानी जेरुसेलममा पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले त्यसलाई अस्वीकार गरेका हुन्। उनले भने, ‘मेरो सरकारले इजरायललाई पूर्ण रूपमा ध्वस्त हुनबाट बचाएको छ, तर लडाइँ अझै सकिएको छैन।’

साथै उनले इजरायल सतर्क रहनुपर्ने र आवश्यक परेमा आफ्नो रक्षाका लागि तयार हुनुपर्ने पनि बताए। सम्झौताको घोषणापछि इजरायलका राष्ट्रिय सुरक्षामन्त्री र अति-दक्षिणपन्थी नेता इटामार बेन-गियोरले आफ्नो देश सम्झौता पालना गर्न ‘बाध्य नभएको’ बताएका थिए।

यसैबिच इजरायलका रक्षामन्त्री इजरायल काट्जले भने, ‘प्रधानमन्त्री बेन्जामिन नेतन्याहु र म स्पष्ट नीतिमा काम गरिरहेका छौँ, जसअन्तर्गत इजरायली सेना लेबनन, सिरिया र गाजाको बफर जोनमा अनिश्चित कालसम्म रहनेछ।’

नेतन्याहुले पत्रकार सम्मेलनमा थपे, ‘इजरायल आफ्नो सुरक्षाका लागि आवश्यक परेसम्म सिक्योरिटी जोनमा रहनेछ।’ उनले आफू र अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प केही मुद्दामा मतभेद भए पनि उनले इजरायलको हितको रक्षा गर्ने विश्वास व्यक्त गरे।

उनले भने, ‘आवश्यक परेका बेला उहाँ (ट्रम्प) इजरायलका हितका पक्षमा दृढतापूर्वक उभिनुहुनेछ।’नेतन्याहुले लेबननको सीमामा रहेको उत्तरी इजरायलका जनताको सुरक्षा सुनिश्चित गर्न आफू प्रतिबद्ध रहेको पनि बताए।

Logo