बजारमा एलपी ग्याँसको आधा सिलिन्डर आपुर्ति, घाटामा उपभोक्ता र व्यवसायी

बजारमा एलपी ग्याँसको आधा सिलिन्डर आपुर्ति, घाटामा उपभोक्ता र व्यवसायी

केन्द्रबिन्दु
21
Shares

काठमाडौं । मुलुकका विभिन्न जिल्लामा खाना पकाउने एलपी ग्यास अभाव भएको गुनासो ह्वात्तै बढेको छ । उपत्यका बाहिरका पहाडीदेखि तराईका जिल्लासम्म ग्यासका लागि घण्टौं लाइन बस्नुपरेको विक्रेता र उपभोक्ताले गुनासो गरेका हुन् ।

नेपाल ग्यास बिक्रेता महासंघले अहिले देखिएको समस्या कृत्रिम अभाव नभई आधा सिलिन्डर नीतिका कारण बढेको ढुवानी खर्च र उद्योगहरूसँग माग अनुसार पर्याप्त स्टक नहुँदा उब्जिएको प्राविधिक जटिलता भएको बताएको छ । विशेषगरी राजधानी बाहिरका दूरदराज र टाढाका जिल्लामा ग्यास आपूर्तिमा केही ढिलाइ हुनुको मुख्य कारण ढुवानी लागत (ट्रान्सपोर्टेसन कस्ट) रहेको महासंघको भनाइ छ ।

सरकारले आपूर्ति सहज बनाउन र सबै उपभोक्ताले समान रूपमा ग्यास पाउन् भनेर ‘आधा सिलिन्डर’ नीति ल्याए पनि त्यसले समस्या समाधान गर्नुको सट्टा झन् बल्झाएको व्यवसायी र उपभोक्ताहरूको आरोप छ । अमेरिका–इजरायल र इरानबीचको तनावले इन्धन आपूर्तिमा पारेको जोखिम देखाउँदै नेपाल आयल निगमले आधा सिलिन्डर ग्यास नीति ल्याएको थियो ।

बजारमा ग्यास अभाव समस्या हल गर्न भन्दै निगम सञ्चालक समितिको अनुरोधमा २९ फागुन २०८२ देखि ७.१ किलो ग्यास मात्रै भरेर बजार पठाउन थालिएको थियो । सुरुमा जम्मा १५ दिनका लागि भनेर लागु गरिएको यो प्रावधान तीन महिना बितिसक्दा पनि पुनरावलोकन हुन सकेको छैन । छोटो समयको संकट टार्न ल्याइएको नीति उल्टै बजारमा ग्यास अभाव गराउने मुख्य कारक बनेको उद्योगी–व्यवसायीले आरोप लगाएका छन् ।

पहाडी जिल्ला सल्यान, सुर्खेत, गुल्मीदेखि तराईका जनकपुर र सर्लाहीसम्म ग्यास नपाएपछि उपभोक्ताले सास्ती खेपिरहेको गुनासो गरिरहेका हुन् । बजारमा एलपी ग्यास आपूर्तिमा केही असहजता देखिँदा उपभोक्तामा कतै व्यवसायीले ग्यास लुकाएर ‘कृत्रिम अभाव’ त गराएका छैनन् भन्ने आशंका पनि उब्जिएको छ ।

मध्यपूर्वको द्वन्द्वका कारण डिजेल मूल्य बढेपछि ढुवानी भाडा पनि बढेको छ । सोही कारण उद्योगले धेरै नै घाटा बेहोर्नुपरेको उद्योगीले बताएका छन् । आधा सिलिन्डर ग्यास मात्रै बजार पठाउने निर्णयले ग्यास उद्योगी र डिलरहरूको आम्दानीमा ठूलो गिरावट आएको उनीहरू बताउँछन् ।यसअघि प्रतिसिलिन्डर ५८ रुपैयाँ कमिसन पाउने डिलरहरूले अहिले २९ रुपैयाँमै चित्त बुझाउनुपरेको छ भने उद्योगीहरूको कमिसन पनि ३१ रुपैयाँ ९० पैसाबाट घटेर करिब १६ रुपैयाँमा झरेको छ ।

यसका साथै ढुवानी बापत प्रतिसिलिन्डर प्राप्त हुने ४५ रुपैयाँ ८८ पैसाको आम्दानी पनि आधा घटेर २३ रुपैयाँमा सीमित भएको छ । खर्च बढ्ने तर कमिसन र ढुवानी भाडा घट्ने अवस्थाले व्यवसाय सञ्चालनमा कठिन भएको भन्दै व्यवसायीहरूले गुनासो गरेका छन् । नेपाल एलपी ग्यास उद्योग संघले पहाडी र तराईका जिल्लाहरूमा उच्च ढुवानी खर्चका कारण ग्यास अभाव देखिएको स्वीकारेको छ ।

भारतबाट ग्यास आयात नियमित भइरहे पनि आधा सिलिन्डर ग्यास पहाडी तथा दूरदराजका जिल्लाहरूमा पठाउँदा ढुवानी खर्च दोब्बर महँगो परेका कारण अभाव देखिएको संघ अध्यक्ष दिवान चन्दले बताए ।

‘भारतबाट बुधबार ८६ र बिहीबार मात्रै ८८ गाडी र ग्यास आएको छ, आयातमा समस्या छैन,’ उनले भने, ‘तर, पहाडी जिल्लाहरूमा ग्यास पठाउँदा ढुवानी खर्च धेरै लाग्छ, आधा सिलिन्डर पठाउँदा पनि पूरै गाडीको भाडा तिर्नुपर्ने भएपछि उद्योगीले त्यहाँ ग्यास पठाउन सकेका छैनन्, जसले गर्दा अभाव भएको हो ।’

सुरुमा १५ दिनका लागि भनेर लागु गरिएको आधा सिलिन्डरको नीति ३ महिनासम्म लम्बिँदा उद्योगीले ठूलो घाटा बेहोर्नुपरेको र यसलाई कृत्रिम अभाव भन्न नमिल्ने चन्दको दाबी छ ।

तराईमा ग्यास अभाव हुनुको कारण खुला सिमानाबाट भारततर्फ ग्यास तस्करी हुने गरेको ग्यास उद्योगीहरूले दाबी गरेका छन् । विशेषगरी जनकपुर लगायत तराईका खुला सिमाना भएका क्षेत्रबाट भारततिर ग्यास गइरहेको एक उद्योगीले दाबी गरे ।

‘पहिले १ सय वटा सिलिन्डर बेच्ने डिलरले अहिले २ सयदेखि २ सय ५० वटा मागिरहेका छन्,’ ती उद्योगीले भने, ‘यो माग एक्कासि किन बढ्यो ? किनकि ग्यास पारि (भारत) गइरहेको छ ।’भारतमा ग्यासको मूल्य बढेको र सरकारले अनुदानको ग्यासमा कडाइ गरेका कारण नेपालको ग्यास उता जान थालेको उनको दाबी छ ।

आयल निगमले आधा सिलिन्डर नीति लागु भएपछि बजारमा ग्यासको माग र खपत घटेको दाबी गरिरहँदा नेपाल ग्यास विक्रेता महासंघले भने त्यसलाई पूर्णरूपमा अस्वीकार गरेको छ ।

निगमले भनेजस्तो उपभोक्ताको वास्तविक माग घटेको होइन, बरु उपभोक्ताले आधा सिलिन्डर भर्न झन्झट मानेर पूर्ण सिलिन्डरको पर्खाइमा खाली सिलिन्डर नै घरमा ‘होल्ड’ गरेर राखेको महासंघको दाबी छ । महासंघ अध्यक्ष ज्ञानेश्वर अर्यालले छिट्टै ग्यास सकिने र ढुवानी लगायत झन्झट हुने भएपछि धेरैजसो उपभोक्ताले आधा सिलिन्डर ग्यास भर्न छाडेको बताए ।

‘निगमले माग घट्यो भनिरहेको छ, तर यथार्थ त्यस्तो होइन, फुल आएपछि मात्र भर्छु भनेर धेरै मान्छेले खाली सिलिन्डर घरमै होल्ड गरेर बसेका छन्,’ उनले भने, ‘बजारमा ग्यास नचाहिएर खपत कम देखिएको होइन, पूर्ण सिलिन्डरको पर्खाइले गर्दा ग्यास नभरिएको मात्र हो ।’बीचमा निगमले लोडिङ कम दिएको र पछि भारतबाटै लोडिङ कम आउँदा ठूला उद्योगहरूसँग भएको स्टक सकिएकाले माग अनुसार आपूर्ति हुन नसकेको महासंघको दाबी छ ।

Logo