काठमाडौं । गेट कलेजका संस्थापक एवं अध्यक्ष खेम लकाईले नेपाललाई अन्तर्राष्ट्रिय स्तरको शैक्षिक केन्द्र बनाउन पर्याप्त सम्भावना भए पनि राज्यको नीति र सोच बाधक रहेको बताएका छन् ।
केन्द्रबिन्दु अनलाइन मिडिया प्रालिको आयोजनामा मंगलबार ललितपुरमा सम्पन्न ‘चौथो केन्द्रबिन्दु एजुकेसन एक्सिलेन्स अवार्ड २०८३’ अन्तर्गत ‘के नेपाललाई एजुकेशन हब बनाउन सकिन्छ ?’ विषयक प्यानल डिस्कसनमा बोल्दै लकाईले नेपाल अहिले विश्वकै नजरमा परेको र हालै बहुर्राष्ट्रिय होटल चेन ‘म्यारियट’ का अध्यक्षको नेपाल भ्रमण तथा विभिन्न अन्तर्राष्ट्रिय होटल चेनहरूको नेपाल आगमनले पनि यस कुरालाई पुष्टि गरेको उल्लेख गरे ।
नेपाल साच्चिकै शैक्षिक केन्द्र बन्न सक्छ भन्ने विश्वासका साथ सोचमा परिवर्तन ल्याउनुपर्ने र यसका लागि बलियो सरकार र स्पष्ट नीतिको खाँचो रहेको उनको भनाइ थियो । तर, सरकारको नीति निर्माण प्रक्रियाले अन्तर्राष्ट्रिय रूपमा हुने शैक्षिक आवतजावत र गतिविधिलाई सकारात्मक रूपमा नहरेको भन्दै उनले असन्तुष्टि व्यक्त गरे ।
कार्यक्रममा नीतिगत जटिलतातर्फ संकेत गर्दै लकाईले भने, ‘हाम्रा शैक्षिक संस्थाहरू किन अगाडि बढ्न वा टिक्न सकिरहेका छैनन् ? नीति निर्माताहरूले ध्यान दिनुपर्ने कुरा के हो भने, सरकारले नीति निर्माण गर्दा त्यो ट्रान्सफर्मेसन र ग्लोबल मोबिलिटीलाई किन एउटा अपराध जस्तो जस्टिफाई वा प्रमाणित गर्न खोजिरहेको छ ? यसलाई कसरी हेर्नुहुन्छ ? यसलाई सच्याउनै पर्छ ।’
लकाईले नेपालमा हस्पिटालिटी क्षेत्रको शिक्षामा उत्साहजनक सुधार भएको र अन्तर्राष्ट्रिय स्तरको पूर्वाधार तयार भइसकेको दाबी गरे । आफूले विगतमा स्विजरल्याण्डमा पढ्दाको छात्रवास सम्झिँदै उनले अहिले नेपालमै त्योभन्दा कैयौँ गुणा उत्कृष्ट पूर्वाधार र आवासको व्यवस्था विदेशी विद्यार्थीहरूलाई दिइरहेको बताए । काठमाडौँ विश्वविद्यालयको ‘ब्याचलर्स इन प्रोफेसनल हस्पिटालिटी’ (बीपीएच) कार्यक्रममा अहिले फिलिपिन्स, भुटान र दक्षिण कोरिया जस्ता देशका विदेशी विद्यार्थीहरू आएर डलर तिर्दै अध्ययन गरिरहेको उनले जानकारी दिए । कक्षामा एकजना मात्रै विदेशी विद्यार्थी हुँदा पनि स्वदेशी विद्यार्थी र शिक्षक दुवैलाई अन्तर्राष्ट्रिय स्तरअनुसार अब्बल बन्न र प्रतिस्पर्धा गर्न सकारात्मक दबाब सिर्जना हुने उनको अनुभव थियो ।
नेपाली युवाहरूको विदेश पलायन र विदेशी विद्यार्थीको नेपाल आगमनको विरोधाभासपूर्ण रहेको बताए । ‘हाम्रो देशमा युवाहरूले कोरिया जान पाएनन् भनेर ज्यान गुमाउनुपर्ने परिस्थिति छ, तर अर्कोतिर कोरियाकै विद्यार्थी डलर तिरेर हाम्रो देशको प्रणालीमा पढ्न आइरहेका छन् । समाजमा हामीले यस्तो ‘प्राइड’ (गौरव) स्थापित गर्नुपर्नेछ । पुराना पुस्ताले जे-जस्तो विरासत छोडेर गए पनि अब हामीले यसलाई अर्को ठाउँमा लैजानुपर्छ,’ उनले भने ।
लकाईले नेपालको हस्पिटालिटी क्षेत्र, यहाँको फराकिलो सोच र कलेजहरूले गरिरहेको कामको कथा आफूले ‘हार्वर्ड स्कुल अफ एजुकेशन’ र ‘युकन’ जस्ता विश्वप्रसिद्ध संस्थाहरूमा समेत प्रस्तुत गरेको स्मरण गरे । उनले नेपालका शैक्षिक संस्थाहरूमा विश्व बजारको नेतृत्व गर्न सक्ने क्षमता रहेको भन्दै अब एक-अर्काविरुद्ध भिड्ने नभई सहकार्यको बाटो रोज्नुपर्ने बताए । ‘यो लडाइँ ‘वान भर्सेस अगेन्स्ट अदर’ हुँदै होइन । गुण र दोषका कुरा आफ्ना ठाउँमा होलान्, तर अब हामी अगाडि बढ्नुपर्ने बाटो स्पष्ट छ । हाम्रा चुनौतीहरू पनि साझा हुन् र सपनाहरू पनि साझा हुन् । हस्पिटालिटीको यो फिल्ड र हाम्रो फराकिलो सोचका साथ हामी सबैजनाले मिलेर यो काम गर्न सक्छौँ,’ उनको भनाइ थियो ।





























प्रतिक्रिया