काठमाडौं । सुदूरपश्चिम विश्वविद्यालयका पूर्व उपकुलपति एवं वरिष्ठ शिक्षाविद् प्रा.डा. जयराज अवस्थी ‘शिक्षा क्षेत्रका प्रोज्जवल नक्षत्र, २०८३’ बाट सम्मानित भएका छन् ।
केन्द्रबिन्दु अनलाइन मिडिया प्रालिद्वारा मंगलबार ललितपुरस्थित द प्लाजामा आयोजित ‘चौथो संस्करणको केन्द्रबिन्दु एजुकेसन एक्सिलेन्स अवार्ड २०८३’ को विशेष समारोहका बीच नेपाली शिक्षा क्षेत्रमा पुर्याएको अतुलनीय र ऐतिहासिक योगदानको कदरस्वरूप प्रा.डा. अवस्थीलाई सो प्रतिष्ठित सम्मान प्रदान गरिएको हो ।
सुदूरपश्चिमको दार्चुला जिल्ला, मालिकार्जुन गाउँपालिकास्थित हुनैनाथ–४, गोठ्युडीमा वि.सं. २००९ साल वैशाख ३ गते जन्मिएका डा. अवस्थी नेपाली उच्च शिक्षा क्षेत्रका प्रतिष्ठित शिक्षाविद्, अनुसन्धानकर्ता तथा शैक्षिक नेतृत्वकर्ता हुन् । उनले त्रिभुवन विश्वविद्यालयमा लामो समय अंग्रेजी विषयको प्राध्यापन तथा अनुसन्धान गर्नुका साथै सुदूरपश्चिम विश्वविद्यालयका प्रथम उपकुलपतिका रूपमा विश्वविद्यालयको संस्थागत विकासमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।
विश्वविद्यालय स्थापनाको प्रारम्भिक चरणमा पाठ्यक्रम विकास, शैक्षिक संरचना निर्माण, भौतिक पूर्वाधार विस्तार तथा जनशक्ति व्यवस्थापनमा उनले उल्लेखनीय योगदान पुर्याएका छन् । विश्वविद्यालयलाई केवल क्याम्पसहरूको समूहका रूपमा मात्र सीमित नराखी, एक उत्कृष्ट उच्च शिक्षा र अनुसन्धान संस्थानका रूपमा विकास गर्न उनले अथक प्रयास गरे ।
शिक्षा प्रणालीलाई राजनीतिक प्रभावबाट मुक्त राखी योग्यता, क्षमता र प्रतिस्पर्धाका आधारमा नेतृत्व चयन हुनुपर्ने उनको धारणा रहँदै आएको छ। साथै, प्राविधिक तथा व्यावसायिक शिक्षाको विस्तारमार्फत आत्मनिर्भर र दक्ष जनशक्ति उत्पादन गर्नुपर्ने आवश्यकता उनले बारम्बार औंल्याउँदै आएका छन् ।
केन्द्रबिन्दुले नेपाली शिक्षा क्षेत्रको गुणात्मक विकास र संस्थागत सुधारमा पुर्याएको योगदानको कदर गर्दै हरेक वर्ष परिष्कृत रूपमा यो अवार्ड प्रदान गर्दै आएको छ । यसअघि ‘शिक्षा क्षेत्रका प्रोज्जवल नक्षत्र २०८०’को रुपमा प्रा.डा. सुरेशराज शर्मा, ‘शिक्षा क्षेत्रका प्रोज्जवल नक्षत्र २०८१’ चाँदनी जोशी, ‘शिक्षा क्षेत्रका प्रोज्जवल नक्षत्र २०८२’ उमेश श्रेष्ठलाई प्रदान गरिएको थियो ।





























प्रतिक्रिया