विराटनगर । निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन सम्बन्धी सुझाव सङ्कलन कार्यक्रममा विराटनगरमा सहभागी अधिकांश नेता कार्यकर्ताले पार्टी पुनर्गठनको पक्षमा मत राखेका छन् । भर्चुअल रूपमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अध्यक्ष परिवर्तनका विषयमा छलफल नगर्न निर्देशन दिए पनि कार्यकर्ताले पुनर्गठनको पक्षमा अभिमत दिएको सहभागी एक नेताले बताए ।
पार्टीले उपाध्यक्ष रामबहादुर थापाको संयोजकत्वमा गठन गरेको सुझाव सङ्कलन कार्यदलले आयोजना गरेको सुझाव सङ्कलन कार्यक्रममा सहभागीहरूले शिरदेखि नै पार्टी पुनर्गठन हुनु पर्ने पर्ने बताए । उनीहरूले कम्युनिस्ट पार्टीमा व्यक्ति भन्दा आन्दोलन प्रधान हुने भएकाले आन्दोलनलाई अगाडि बढाउन पार्टी पुनर्गठन हुनु पर्ने धारणा राखे ।
सुझाव सङ्कलन कार्यक्रममा कोशी प्रदेशका पाँचथर बाहेक १३ वटै जिल्लाबाट पदाधिकारीहरू सहभागी भएका थिए । यस्तै फागुन २१ को निर्वाचनमा प्रदेशका विभिन्न निर्वाचन क्षेत्रबाट उम्मेदवार भएकाहरु समेत निर्वाचन समीक्षा पार्टी पुनर्गठन सम्बन्धी सुझाव सङ्कलन कार्यक्रममा सहभागी हुन आएका थिए ।
यस्तै कोशी भूगोलमा रहेका केन्द्रीय सदस्यहरू समेत कार्यक्रममा सहभागी भएका थिए । सहभागीहरूले कम्युनिस्ट आन्दोलन कमजोर भएकाले आन्दोलन हाँक्न पार्टीका केन्द्र प्रदेश जिल्ला नगर तह सम्ममा पुनर्गठन आवश्यक रहेको बताए । सहभागीहरूले भने, ‘अहिले पार्टी व्यक्ति केन्द्रित भएको छ । व्यक्ति केन्द्रित भएर पार्टी अगाडि बढ्न सक्दैन । आन्दोलन हाँक्न सकिन्न ।’
फेरिएको परिस्थिति अनुसार पार्टी पनि बदलिनु पर्ने उनीहरूको धारणा थियो । सुझाव सङ्कलनका लागि पार्टीका उपाध्यक्षहरू रामबहादुर थापा बादल, विष्णु पौडेल, पृथ्वी सुब्बा गुरुङ महासचिव शङ्कर पोख्रेल सचिवहरू शेरधन राई , भानुभक्त ढकाल हिक्मत कार्कीको सहभागिता थियो ।
मञ्चमा आसिन नेताहरूकै अगाडि सहभागीहरूले नाम नतोकी पार्टीमा समस्या आएको बताए । पार्टीको विचार भन्दा पनि नेतृत्वको कार्यशैलीका कारण पार्टीले निर्वाचनमा लज्जास्पद हार व्यहोर्नु परेको सहभागीहरूले बताए ।
सुझाव दिनका लागि जिल्लाका अध्यक्षहरूलाई समय दिइएको थियो । अध्यक्षको भनाइ पछि पदाधिकारीले पूरक सुझाव समेत दिएका थिए । सुझाव सङ्कलन अघि पार्टी अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट कार्यक्रमलाई सम्बोधन गरेका थिए । सम्बोधनका क्रममा ओलीले निर्वाचनका नाममा डर र त्रासका देखाएर सत्ता कब्जा गरिएको बताए । उनले सत्ता कब्जाबाट मुक्त हुन पार्टी एक ढिक्का हुनु पर्ने बताए । उनले भने, ‘सही पार्टी र सही नीतिले मात्रै सत्ता कब्जाबाट बाहिर निस्कन सकिन्छ । पार्टीमा विवाद गर्न हुँदैन ।’





























प्रतिक्रिया