पोर्चुगलको लागि हरेक खेल फाइनल

पोर्चुगलको लागि हरेक खेल फाइनल

केन्द्रबिन्दु
39
Shares

ह्युस्टन । पोर्चुगलको विश्वकप जित्ने एक अर्को अभियानको सुरुआत बुधबार हुँदै छ । समूह ‘के’ मा पोर्चुगलको पहिलो प्रतिद्वन्द्वी छ, गणतन्त्र कंगो । यो अफ्रिकी देश ५२ वर्षपछि पहिलो पटक विश्वकप खेल्दै छ । कंगोले अन्तिम पटक सन् १९७४ मा विश्वकप खेलेको थियो । त्यतिबेला कंगोको नाम थियो, जायर ।

जायरले त्यस बेला सबै तीनै खेल गुमाएको थियो । यसक्रममा १४ गोल खाएको थियो । गरेको गोलसंख्या भने एकमात्रै । यसपल्टको विश्वकपमा २०२६ मा सम्भवतः कंगोको प्रदर्शन उत्तिकै खराब हुने छैन । पोर्चुगल टिममा ४१ वर्षीय क्रिस्टियानो रोनाल्डोका रूपमा त्यस्ता खेलाडी छन्, जसले आफ्नो सफल खेलजीवनमा लगभग सबथोक जितिसकेका छन् तर विश्वकप भने जित्न सकेका छैनन् ।

सन् २०२२ को विश्वकपमा पोर्चुगल क्वाटरफाइनलमा अर्को अफ्रिकी टिम मोरक्कोसँग पराजित रहेको थियो । विश्वकपमा पोर्चुगलको अहिलेसम्मकै सबैभन्दा उत्कृष्ट प्रदर्शन भनेको सन् १९६६ को हो, जतिबेला टिम तेस्रो स्थानमा आएको थियो । पोर्चुगलको अहिलेको उद्देश्य विजयी सुरुआत नै रहनेछ । यो समूहका अन्य दुई टिममा कोलम्बिया र उज्वेकिस्तान छन् ।

विश्वकपका लिग चरणका १५ खेलमा पोर्चुगल दुईपल्ट मात्र हारेको छ । त्यसमध्ये सन् २०२२ मै पनि पोर्चुगल दक्षिण कोरियाको हातबाट पराजित भएको थियो । पोर्चुगाली डिफेन्डर म्याथ्युज नुनेज भन्छन्, ‘हामीलाई विश्वकप कस्तो प्रतियोगिता हो, त्यो राम्रोसँग थाहा छ । विश्वकपमा सहभागी जति पनि देश छन्, ती सबै स्तरको आधारमा कमजोर छैनन् ।’

उनी प्रत्येक खेललाई एक अर्को फाइनलका रूपमा हेर्नुपर्ने मान्छन् । उनको भनाइ छ, ‘विश्वकप जित्न आठ खेल मात्र आवश्यक छ । प्रत्येक खेललाई फाइनल मान्नुपर्छ । केही टिम कागजमा कमजोर त हुन सक्छन्, तर मैदानमा त्यही टिमको प्रदर्शन जस्तो पनि हुनसक्छ । कुनै पनि खेलमा जस्तै नतिजा पनि सम्भव हुन्छ ।’

नुनेज थप्छन्, ‘९० मिनेटको खेल लामो पो हुन्छ । प्रत्येक खेल जित्नका लागि कडा मिहिनेत चाहिन्छ ।’ यसबीच पोर्चुगाली डिफेन्डर रुबेन डियाजले सोमबार एक्लै प्रशिक्षण गरेका छन् र त्यसको कारण भने दिइएको छैन । उनी बाँकी टिमभन्दा अलग रहेका छन् । पोर्चुगल विश्वकपका पछिल्ला पाँच संस्करणका लिग चरणका खेलमा अफ्रिकी टिमविरुद्ध हार्नुपरेको छैन ।

सन् १९८६ मा मोरक्कोसँग हारेयता पोर्चुगलले अफ्रिकी टिमविरुद्ध ४ जित र १ बराबरीको नतिजा निकालेको छ । कंगोको विश्वकप तयारी भने आफैंमा राम्रो रहेको छैन । इबोला भाइरस संक्रमणको प्रकोपका कारण टिमको तयारी प्रभावित रहेको छ । कंगोका अधिकांश खेलाडी युरोपमै व्यावसायिक फुटबल खेल्छन्, टिमका कोही पनि खेलाडी कम्तीमा कंगोको घरेलु लिगमा खेल्दैनन् ।

तर बेल्जियम र स्पेनमा २१ दिन बिताइसकेपछि मात्र उनीहरूलाई अमेरिका प्रवेशको अनुमति दिइएको थियो । टिम ह्युस्टनमै छ । अमेरिका आएयताका मैत्रीपूर्ण खेलमा कंगाले डेनमार्कविरुद्ध गोलरहित बराबरी खेलेको थियो भने चिलीविरुद्धको खेल भने २–१ ले गुमाएको थियो । कंगोली प्रशिक्षक सेबास्टिन डेसाब्रे भन्छन्, ‘हामीले आफूलाई यहाँको स्थिति अनुकूल बनाइसकेका छौं ।’

उनले अगाडि थपेका छन्, ‘अब हाम्रो उद्देश्य खेलमा केन्द्रित हुनुपर्छ, यो नै हाम्रो एकमात्र रणनीति हुनुपर्छ । हामीले राम्रै तयारी पनि गरेका छौं । दुई मैत्रीपूर्ण खेल खेलेका छौं । अब पालो विश्वकपको । यो प्रतियोगितामा हामील राम्रो छाप छोड्न चाहन्छौं ।’ कंगोले विश्वकप अन्तरमहादेशीय प्लेअफमा जमैकालाई अतिरिक्त समयमा १–० ले हराएर अमेरिकाको टिकट काटेको थियो ।

Logo