काठमाडौं । सरकारले चालु आर्थिक वर्ष २०८२/८३ को ११ महिना (साउन–जेठ)सम्म सार्वजनिक ऋणको साँवा भुक्तानीमा २ खर्ब ८४ अर्ब ४५ करोड रुपैयाँ बराबर खर्च गरेको छ । जुन यस अवधिमा सरकारले विकास निर्माणको काममा गरेको खर्चभन्दा दोब्बर हो । महालेखा नियन्त्रक कार्यालयका अनुसार जेठ मसान्तसम्म पूँजीगत खर्च १ खर्ब ३२ अर्ब ६६ करोड रुपैयाँ मात्र भएको छ ।
सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको तथ्यांक अनुसार सरकारले अहिले परिचालन गरिरहेको ऋणको अधिकांश हिस्सा पुनः ऋण तिर्नै ठिक्क हुने गरेको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट अनुसार आगामी आवमा समेत आन्तरिक ऋणको साँवा भुक्तानीमा २ खर्ब ४५ अर्ब ८९ करोड खर्च गर्ने लक्ष्य छ । नेपालले आगामी केही वर्ष विकास खर्च कटाएर ऋण भुक्तानीमै ठूलो रकम खर्च गर्नुपर्ने बाध्यतातर्फ यसले संकेत गर्छ ।
महालेखा नियन्त्रण कार्यालयका अनुसार जेठ मसान्तसम्म सार्वजनिक ऋणको आकार २९ खर्ब ६१ अर्ब १९ करोड कायम भएको छ । ११ महिनामा सरकारले कुल सार्वजनिक ऋण परिचालन ४ खर्ब १८ अर्ब १२ करोड रुपैयाँ बराबर गरेको छ । यस अवधिमा विनिमय दरमा आएको परिवर्तनले नेपाली मुद्रा कमजोर हुँदा १ खर्ब ५३ अर्ब ४७ करोड रुपैयाँ बराबरको भार बाह्य ऋणमा थपिएको छ ।
जसले गर्दा ११ महिनाको अवधिमा कुल सार्वजनिक ऋणभार ५ खर्ब ७१ अर्ब ५९ करोड थप भएको छ । ११ महिनाको अवधिमा सरकारले २ खर्ब ८४ अर्ब ४५ करोड साँवा तिर्दा सो अवधिमा कुल सार्वजनिक ऋण २ खर्ब ८७ अर्ब १४ करोडले थप भएको छ ।
गत आर्थिक वर्ष २०८२/८३ को अन्तिम (असार मसान्त)सम्म सार्वजनिक ऋणको आकार २६ खर्ब ७४ अर्ब ४ करोड रुपैयाँ रहेको थियो । यो जेठ मसान्तसम्म आन्तरिक ऋण १३ खर्ब ७७ अर्ब २८ करोड र वाह्य ऋण १५ खर्ब ८३ अर्ब ९१ करोड कायम भएको छ । तथ्यांक अनुसार नेपालको सार्वजनिक ऋण कुल गार्हस्थ उत्पादन (जीडीपी)को आधारमा ४४.८७ प्रतिशत पुगेको छ ।
जेठ मसान्तसम्म नेपालको आन्तरिक ऋण : १३ खर्ब ७७ अर्ब र बाह्य ऋण : १५ खर्ब ८३ अर्ब गरी कुल ऋण २९ खर्ब ६१ अर्ब पुगेको छ । सरकारले चालु आर्थिक वर्ष २०८२/८३ मा सार्वजनिक ऋणबाट ५ खर्ब ९५ अर्ब ६६ करोड रुपैयाँ बराबरको खर्च जुटाउने लक्ष्य राखेको थियो । जेठ मसान्तसम्म ४ खर्ब १८ अर्ब १२ करोड प्राप्ति गरिएको छ । जुन वार्षिक लक्ष्यको ७०.२० प्रतिशत बराबर हो । यसअवधिमा आन्तरिक ऋण ९३.५५ प्रतिशत परिचालन भइसकेको छ ।
यस आर्थिक वर्षमा ३ खर्ब ६२ अर्ब आन्तरिक ऋण परिचालनको लक्ष्य थियो । जेठसम्म ३ खर्ब ३८ अर्ब रुपैयाँ ऋण लिइएको छ । चालु आवमा बाह्य ऋण २ खर्ब ३३ अर्ब ६६ करोड लिने लक्ष्य बजेटले लिएको थियो । जेठ मसान्तसम्म ७९ अर्ब ४६ करोड रुपैयाँ मात्र परिचालन गर्न सम्भव भएको छ । यो कुल वार्षिक लक्ष्यको ३४.०१ प्रतिशत हो ।
चालु आर्थिक वर्षको ११ महिनामा सरकारले सार्वजनिक ऋणको साँवा र ब्याज खर्चमा ३ खर्ब ५१ अर्ब ७४ करोड खर्च गरिसकेको छ । वार्षिक लक्ष्य ४ खर्ब ११ अर्ब राखिएको छ । जेठसम्म लक्ष्यको ८५.५८ प्रतिशत भुक्तानी भइसकेको देखिन्छ ।
जेठसम्म आन्तरिक ऋणको साँवा भुक्तानी २ खर्ब २९ अर्ब र ब्याज भुक्तानी ५५ अर्ब ६१ करोड रुपैयाँ बराबर भएको छ । बाह्य ऋणको साँवा भुक्तानी ५४ अर्ब ८४ करोड र ब्याज भुक्तानी ११ अर्ब ६७ करोड रुपैयाँ बराबर भएको छ । चालु आवमा ऋण सेवा तर्फ साँवा भुक्तानीमा २ खर्ब ८४ अर्ब ४५ करोड र ब्याज भुक्तानी ६७ अर्ब २९ करोड रुपैयाँ बराबर भएको कार्यालयको तथ्यांक छ ।





























प्रतिक्रिया