कृष्णबहादुर महराले सक्रिय राजनीतिबाट लिए बिदा

कृष्णबहादुर महराले सक्रिय राजनीतिबाट लिए बिदा

केन्द्रबिन्दु
15
Shares

काठमाडौं । नेकपाका नेता कृष्ण बहादुर महराले सक्रिय राजनीतिबाट बिदा लिने निर्णय गरेका छन‍ । आफ्नो ७०औँ जन्मदिनको अवसर पारेर एक वक्तव्य जारी गर्दै उनले स्वास्थ्यमा लामो समयदेखि देखिएको गम्भीर समस्याका कारण पार्टीको सक्रिय जिम्मेवारीबाट अलग हुने घोषणा गरेका हुन् ।

विगत ४८ वर्षदेखि नेपाली कम्युनिस्ट आन्दोलनका विभिन्न उतारचढाव र संघर्षपूर्ण यात्राहरूमा निरन्तर सहभागी रहँदै आएका नेता महराले उमेरको यो मोडमा पुगेर राजनीतिक जीवनको सक्रिय यात्रालाई विश्राम दिएका हुन् । यस अवधिमा उनले नेकपा चौथो महाधिवेशन, नेकपा मशाल, नेकपा एकता केन्द्र, नेकपा (माओवादी), एनेकपा माओवादी, नेकपा माओवादी केन्द्र हुँदै हालको नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सम्म आइपुग्दा आफ्नो क्षमता र जीवनको महत्वपूर्ण हिस्सा पार्टी, आन्दोलन, देश र जनताको सेवामा समर्पित गरेको उल्लेख गरेका छन् ।

जारी वक्तव्यका अनुसार नेता महरा विगत केही वर्षदेखि एट्रोफी सम्बन्धी जटिल रोगबाट पीडित छन् । नसा र मांसपेशीहरू क्रमशः खुम्चिँदै जाने यस रोगका कारण नियमित उपचार, थेरापी तथा औषधि सेवन गरिरहे तापनि स्वास्थ्य अवस्थाले अपेक्षित साथ दिन सकेको छैन। स्वास्थ्यकै कारण पार्टीका नियमित गतिविधि र जिम्मेवारीहरूमा विगतजस्तै सक्रिय र प्रभावकारी ढंगले योगदान गर्न कठिन हुँदै गएपछि उहाँले यो कठोर निर्णय लिएका हुन् ।

Logo