फिफा विश्वकप २०२६ को पहिलो चरण, मेसी चम्किए, रोनाल्डो फिक्का देखिए

फिफा विश्वकप २०२६ को पहिलो चरण, मेसी चम्किए, रोनाल्डो फिक्का देखिए

केन्द्रबिन्दु
3
Shares

लस एन्जलस । विश्वकप फुटबलमा बिहीबारसम्म सबै टिमले एक–एक खेल खेलिसकेका छन्। यो पहिलो चरणको खेल समाप्त हुँदा वास्तविक कथा कस्तो रह्यो त? लियोनल मेसीको ह्याट्रिकसँगै उत्कृष्ट प्रदर्शन, केप भार्डेले स्पेन जत्तिको टिमलाई बराबरीमा रोक्नु र अन्य धेरै उल्लेखनीय घटना। खासमा पहिलो चरणको खेल अपेक्षा गरेभन्दा पनि रोमाञ्चक र सनसनीपूर्ण रह्यो।

मेसीमा अझै धेरै छ

चार वर्षअगाडि मेसीले अर्जेन्टिनाका लागि कतारमा विश्वकप जित्दा लागेको थियो, उनको खेलजीवनले पूर्णता पाएको छ। तर उनी रोकिएनन्। मेसीको ३९ औं जन्मदिन असाध्यै नजिक छ। सायद यी जादुयी खेलाडीमा अझै धेरै गर्न बाँकी छ। उनी एक अर्को ठूलो सफलता पछ्याइरहेका छन्। अल्जेरियाविरुद्धको ह्याट्रिकले सायद यही भनिरहेको छ।

अल्जेरियाविरुद्ध मेसीको तीन गोलमध्ये दुई शक्तिशाली प्रहार गरेका थिए भने एक नजिकको दूरीबाट हल्का छुने मात्र काम। यो प्रदर्शनमा मेसीको खुसीको सीमा थिएन। उनी आफैंले भनेका थिए, ‘अन्त्यमा जे भयो, राम्रो भयो, राम्रोभन्दा अरू केही भएन।’

धेरैले यो खेलमा मेसीको महानता पनि देखे। अनि धेरैले उनको लगनशिलताको प्रशंसा गरे। अब अर्जेन्टिनाले सोमबार हुने खेलमा अस्ट्रियाको सामना गर्नेछ। त्यसमा मेसीसामु अझ धेरै कीर्तिमान बनाउने अवसर हुनेछ।

उनी त्यसै पनि विश्व फुटबलका सदाबहार र सर्वकालीन महान् खेलाडीमध्ये एक हुन्। पहिलो चरणको खेलले यस्तै दाबी अझ धेरै बलियो भएको छ।

फिक्का भए रोनाल्डो

विश्व फुटबलका अहिलेका तीन सुपरस्टार मेसी, फ्रान्सका केलियन एमबाप्पे र नर्वेका इर्लिङ हालान्ड चम्किएपछि यस्तै प्रदर्शन गर्ने पालो थियो, क्रिस्टियानो रोनाल्डोको। एकै चरणको खेलपछि यी तीनै खेलाडी गोल्डेन बुट अवार्डका लागि समेत प्रत्याशी भइसकेका छन्। तर पोर्चुगाली खेलाडीसामु अरू कोही होइन, डीआर कंगो जस्तो टिम थियो। उनीसामु ती व्यक्तिगत प्रतिद्वन्द्वीभन्दा राम्रो गर्ने अवसर थियो। तर उनले सकेनन्।

साउदी अरेबियामा व्यावसायिक फुटबल खेलिरहेका रोनाल्डो लगभग पूरा खेल अवधिमा चुपचाप जस्तै रहे। धन्न, पोर्चुगलले १–१ को बराबरी निकाल्न सफल रह्यो।

रोनाल्डोले छैटौं विश्वकप खेलेको कीर्तिमानको खुसीयाली पनि मनाउन पाएनन्। यी ४१ वर्षीय खेलाडीले पूरा खेल अवधिमा जम्माजम्मी २५ पटक बल छोए।

यिनै रोनाल्डो अहिले आफ्नो खेलजीवनको हजारौं गोल छुने प्रयासमा छन्, आफ्नो देश र क्लबसमेत जोडेर। तर पछिल्लो समय उनले साँच्चै लय गुमाएका छन्। त्यसैले त पछिल्ला १० खेलमा उनले गोल गर्न सकेका छैनन्। अब त स्थिति कस्तो बनेको छ भने रोनाल्डोलाई सुरुआती टिममा राख्ने वा वेञ्चमा, त्यसबारे बहस सुरु हुन थालेको छ।

केप भार्डेले प्रमाणित गरेको तथ्य

केप भार्डेका गोलरक्षक भोजिन्हा स्पेनविरुद्धको खेल गोलरहित बराबरीमा टुंगिएपछि निकै भावनात्मक भए। उनलाई त्यतिबेला भार्डेका सबै खेलाडीले घेरेका थिए। युरोपेली च्याम्पियनविरुद्ध केप भार्डेको प्रदर्शन पक्कै पनि कम्तीको थिएन। नत्र, स्पेनले यो खेल असाध्यै सजिलै जित्ने अपेक्षा गरिएको थियो। केप भार्डेको विश्वकप डेब्युमै ४० वर्षीय भोजिन्हाको प्रदर्शन वास्तवमै गजब नै रह्यो।

यसैक्रममा केप भार्डेले एउटा तथ्य भने प्रमाणित गरेको छ। यो हो, यसपल्टको विश्वकपमा ४८ टिमलाई सहभागी गराउनु ठीक हो। फिफाको यति धेरै टिमलाई खेलाउनुको आलोचना गर्ने धेरै थिए। त्यसमा एक त युरोपेली फुटबल महासंघका अध्यक्ष एलेक्जान्डर सेफेरिन पनि थिए। उनी भन्थे, धेरै टिम भएपछि विश्वकप आफैंमा रमाइलो हुन्न।

अझ भनौं, एकपक्षीय खेल धेरै हुन्छ। केप भार्डेले यस्तै तथ्यलाई कम्तीमा अहिलेका लागि गलत साबित गरेको छ। भोजिन्हा त एकाएक सुपरस्टार भए। त्यसैले त विश्वकप अगाडि उनको इन्स्ट्राग्रामलाई पछ्याउनको संख्या थियो, ५० हजार। अहिले त्यो एक करोड ३० लाखभन्दा बढी भइसकेको छ।

महँगो टिकट, दर्शक उत्तिकै

यस वर्षको सुपर बाउल फाइनल भएको स्टेडियम हो, सान्टा क्लाराको लेभिज स्टेडियम। यहीं अस्ट्रिया र जोर्डनबीचको खेल भएको थियो। यही खेल हेर्न रंगशाला भरिभराउ रह्यो। धेरैलाई लाग्न सक्छ, यो खेल सबैभन्दा कम आकर्षकको हुनेछ। अझ त्यसमाथि महँगो टिकट। तर यति हुँदाहुँदै त्यही खेल हेर्न आएका दर्शकको संख्या थियो, ६८ हजार ५ सय २७।

चार रातो कार्ड

सन् २०१८ र २०२२ को विश्वकपमा चार–चार रातो कार्ड मात्र देखाउने काम भयो। यसअघिका विश्वकपका तुलनामा त्यतिबेला रातो कार्ड देखाउने क्रममा असाध्यै धेरै कमी आएको थियो। तर, मेक्सिको र दक्षिण अफ्रिकाबीचको पहिलो खेलमै तीन रातो कार्ड देखाउने काम भएपछि धेरैलाई लागेको थियो, यसपल्ट धेरै रातो कार्ड देखाइने हो कि? तर होइन, त्यसपछिका २३ खेलमा कुनै पनि रातो कार्ड देखाउने काम भएको छैन।

Logo