बाढी पहिरोले मेची राजमार्ग अवरुद्ध

बाढी पहिरोले मेची राजमार्ग अवरुद्ध

केन्द्रबिन्दु
6
Shares

पाँचथर । शुक्रबार रातिको अविरल वर्षासँगै आएको बाढी र पहिरोले मेची राजमार्ग अवरुद्ध भएको छ । इलामको पुवा खोलामा आएको बाढीका कारण मेची राजमार्ग अवरुद्व भएको हो ।

यस्तै मेची राजमार्गको वैकल्पिक सडकका रुपमा अघि बढाइएको बेलासे खण्डमा पनि बाढी आएको छ । जसकारण सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

बाढी पहिरोकै कारण इलामको फिक्कल नया बजार खण्डमा पनि क्षति पुगेको प्रहरीले जनाएको छ । बाढीले पुवा खोला क्षेत्रमा सडक निर्माणका सामग्रीसमेत बगाएको सडक डिभिजन इलामका प्रमुख पवन भट्टराईले जानकारी दिए ।

शुक्रबार बिहान परेको पानीकै कारण पाँचथर जिल्लाको हिलिहाङ र याङवरक गाउँपालिका क्षेत्रमा सडक र खेतीयोग्य जमिनमा क्षति पुगेको छ ।

बाढीका कारण मध्यपहाडी राजमार्ग अन्तर्गत याङवरक ३ र ४ लाई जोड्ने फलाम खोला र दोभाने खोलाका अस्थायी संरचना बगाउँदा सवारी आवागमन ठप्प भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

प्रहरीका अनुसार याङवरक ६ स्थित चारआने खोला क्षेत्रमा आएको पहिरोले अवरुद्ध सडक बिहानीपख खुलाइएको भए पनि हिलिहाङ गाउँपालिका ३, ४ र ५ का विभिन्न स्थानमा पुगेको क्षतिको विवरण संकलन भइरहेको छ ।

हिलिहाङ ५ मात्रै २ वटा घरमा क्षति पुगेको हिलिहाङ गाउँपालिका कार्यपालिका सदस्य वीरेन्द्र मंग्रातीले बताए । क्षतिको विवरण सङ्कलन भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख अनिषकुमार कर्णले जानकारी दिए ।

Logo