नेयमारको पर्खाईमा ब्राजिललाई लय समात्ने चुनौती

नेयमारको पर्खाईमा ब्राजिललाई लय समात्ने चुनौती

केन्द्रबिन्दु
42
Shares

न्यु जर्सी । ब्राजिलले विश्वकप फुटबलमा शुक्रबार हाइटीको सामना गर्दै छ। यसमा टोलीसामु लयमा फर्कने चुनौती हुनेछ। समूह ‘सी’ को आफ्नो पहिलो खेलमा ब्राजिल निराशाजनक रूपमा मोरक्कोको हातबाट बराबरीमा रोकिएको थियो। त्यही खेलको प्रदर्शनबारे लिएर कार्लो एन्सेलोट्टीको रणनीतिलाई लिएर प्रश्न उठिरहेका बेला ब्राजिललाई एक अर्को खराब प्रदर्शनको छुट रहने छैन।

कीर्तिमान पाँचपल्टको च्याम्पियन ब्राजिललाई मोरक्कोविरुद्धको खेलमा एक गोलले पछाडि रहेको स्थितिमा भिनिसियस जुनियरले खेलमा फर्काएका थिए। मोरक्कोले इस्माइल सइबरीको गोलले अग्रता लिएयता भिनिसियसले सुन्दर गोल गरेर टिमलाई जोगाएका थिए। त्यसपछि पनि ब्राजिलको प्रदर्शन सन्तोषजनक रहन सकेन र एक अंकमै चित्त बुझाउन बाध्य रह्यो।

अफ्रिकी कप अफ नेसन्स च्याम्पियन तथा सन् २०२२ को विश्वकपको ‘सरप्राइज प्याकेज’ मोरक्कोको प्रदर्शन आफैंमा उत्कृष्ट रहेको थियो। टोलीले निकालेको लामो–लामो पासमा ब्राजिल दबाबमा देखिएको थियो। अबको खेल फिलाडेल्फियामा हुनेछ र त्यसमा ब्राजिलको जितको अपेक्षा रहनेछ। तर अहिलेको लय हेरेर ब्राजिललाई यो पनि गाह्रो हुने अनुमान गरिएको छ।

यसपल्टको विश्वकपमा ‘अन्डर डग’ छवि बनाएको हाइटी आफ्नो पहिलो खेलमा भने स्कटल्यान्डसँग १–० ले पराजित भएको थियो। यस्तोमा हाइटीका लागि अबको बाटो सजिलो हुने छैन। एन्सेलोट्टीले मोरक्कोविरुद्ध इगोर थिएगो र राइब क्लब रोज इबानेजलाई सुरुदेखि खेलाएकामा आलोचना भइरहेको छ। पहिलो हाफमा कासेमिरो र लुका पाक्वेटोको खेल पनि राम्रो रहेको थिएन।

पछि डानिलो, फाबिन्हो र म्याथिस कुन्हालाई मैदानमा उतारेपछि मात्र ब्राजिली टिमको सन्तुलन मिलेको देखिएको थियो। अब एन्सेलोट्टीसामु प्रश्न रहनेछ, हाइटीविरुद्ध पुरानै खेलाडीमा विश्वास गर्ने हो वा नयाँ टिमको प्रयोगमा जाने? डानिलोले यसै विषयलाई लिएर भनेका छन्, एकै टिम संरचनामा मात्र केन्द्रित हुनुहुन्न र सबै खेलाडीलाई मौका दिनुमा समस्या छैन।

विश्वकप सुरु हुन एकै वर्षअगाडि मात्र एन्सेलोट्टीले ब्राजिली टिमको जिम्मेवारी पाएका थिए। त्यतिबेलासम्म अन्य प्रमुख टिमले भने आफ्नो परिचय र छवि दुवै निर्धारण गरिसकेका थिए। एन्सेलोट्टी आफैंले पनि ब्राजिली टिममा समन्वयको अभाव रहेको सुरुमै स्वीकारेका थिए। उनकै भाषामा यो ब्राजिली टिमको सबैभन्दा ठूलो समस्या रहेको छ।

डानिलोले भनेका छन्, ‘जतिबेला टिममा समस्या हुन्छ, त्यतिबेला पुरानो योजना जे थियो, त्यसमै अडिग रहनु ठीक हुनसक्छ। मलाई के लाग्छ भने हामीले यो विषयमा आफूलाई तयार राख्न सक्नुपर्छ।’ ब्राजिली टिमलाई लिएर नेयमरसँग जोडिएको प्रश्न पनि अझै बाँकी छ। गत महिनादेखि चोटका कारण पूर्णतः मैदानमा फर्किनसकेको नेयमरको उपलब्धताबारे पनि अनिश्चिता छ।

ब्राजिलले बुधबार गरेको अभ्यास सत्रमा नेयमर फर्केका थिए। तर उनले त्यसमा लामो समय बिताएनन्। मोरक्कोविरुद्धको खेलमा ब्राजिली टिममा जुन समस्या देखिएको थियो, त्यस्तै समस्या हाइटीविरुद्ध ब्राजिलका लागि स्वीकार्य हुने छैन। अहिलेका लागि ब्राजिली टिमका लागि लयमा फर्कने चुनौती नै सबैभन्दा मुख्य विषय रहेको छ। रोयटर्स

Logo