रास्वपा महाधिवेशनको हल भाडा १३ लाख ५० हजार, १०८७ जना सुरक्षाकर्मी परिचालन

रास्वपा महाधिवेशनको हल भाडा १३ लाख ५० हजार, १०८७ जना सुरक्षाकर्मी परिचालन

केन्द्रबिन्दु
0
Shares

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनको बन्दसत्रका लागि प्रयोग हुने चितवन उद्योग संघको प्रर्दशनी केन्द्रको हल भाडा १३ लाख ५० हजार भाडा लाग्ने भएको छ । सुरुमा राजनीतिक कुनै पनि कार्यक्रम गर्न अनुमति नदिने जनाएको उद्योग संघले उद्योग मन्त्रालयको अनुरोध पछि रास्वपाको बन्दसत्र गर्न हल दिन तयार भएको हो ।

संघले आफ्नो नियम अनुसार रास्वपाले तीन दिन हल प्रयोग गर्दा प्रति दिन ४ लाख ५० हजारका दरले भाडा लिने सम्झौता गरेको छ । संघका अध्यक्ष अध्यक्ष मदन घिमिरेका अनुसार एक हलको एक दिनको भाडा नियमाबलीमा भएको व्यवस्था अनुसार एक लाख ५० हजार शुल्क लाग्ने गर्दछ ।

रास्वपाले तीनवटा हल नै बुक गरेकोले दैनिक दैनिक ४ लाख ५० हजार शुल्क तिर्नुपर्नेछ । रास्वपाले ८ र ९ गतेका लागि पुरै दिनको भाडा तिर्नुपर्ने छ भने ७ र १० गतेको आधा आधा शुल्क मात्रै तिर्ने गरी सम्झौता गरेको छ ।

रास्वपा महाधिवेशनको सुरक्षामा १०८७ प्रहरी जनपद प्रहरी परिचालन गरिने भएको छ । भोलि असार ७ गतेदेखि ९ गतेसम्म हुने महाविधेशनको सुरक्षालाई मध्यनजर गरेर उच्च सुरक्षा व्यवस्था अपनाउन लागिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख रामेश्वर पौडेलले जानकारी दिए ।

सडकमा ट्राफिक व्यवस्थापनका लागि १६५ ट्राफिक प्रहरी परिचालन गरिएको उनले बताए । महाधिवेशन अवधिमा ठूलो सङ्ख्यामा सहभागी तथा सवारीसाधनको चाप बढ्ने भएकाले ट्राफिक व्यवस्थापनलाई असहजता नहोस् भनेर विभिन्न ठाँउमा सवारी साधनहरु राख्न प्रबन्ध गरिएको छ ।

प्रहरीले भरतपुरको बीरेन्द्र क्याम्पस पछाडिको चौर र भरतपुर केन्द्रीय बसपार्कमा सहभागीहरुले ल्याउने ठूला सवारीलाई राख्ने प्रवन्ध गरिएको छ । रास्वपाको बन्दसत्रमा करिब तीन हजार ५०० देखि चार हजार प्रतिनिधि सहभागी हुनेछन् भने उद्घाटन सत्रमा ४० हजार जना स्वतस्र्फूत रुपमा सहभागी हुने अपेक्षा पार्टीले गरेको रास्वपा चितवनका सभापति मिनि माधव खनालले जानकारी दिए ।

Logo