महाधिवेशनमा बालेन्द्र शाह समुह बढारिने भएपछि सभापतिलाई शक्तिशाली बनाएर मनोनित कोटा बढाइयो

महाधिवेशनमा बालेन्द्र शाह समुह बढारिने भएपछि सभापतिलाई शक्तिशाली बनाएर मनोनित कोटा बढाइयो

केन्द्रबिन्दु
21
Shares

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनबाट बरिष्ठ नेता एवं प्रधानमन्त्री बालेन्द्र शाह पक्ष बढारिने भएपछी मनोनित कोटा बढाएको छ । सभापतिलाई शक्तिशाली बनाउने गरी विधान संशोधन गरेर यो व्यवस्था गरिएको छ।

बालेन समूह, विवेकशील साझा, थरुहट, उज्यालो नेपाल पार्टी, थारुवान लगायत विभिन्न समूहबाट आएका नेताहरूको व्यवस्थापन गर्न भन्दै रास्वपाले सभापतिको अधिकार बढाएको हो। पहिलो पटक महाधिवेशन गर्न लागेको रास्वपाको सभापतिमा रवि लामिछाने एक्ला दाबेदार हुन्। उनलाई पदाधिकारीदेखि एक तिहाइ केन्द्रीय सदस्य मनोनीत गर्ने अधिकार दिइएको छ।

विधान संशोधन गर्न सहमहामन्त्री विपिन आचार्यको संयोजकत्वमा गठित उपसमितिले तयार पारेको मसौदालाई असार ४ गते बसेको केन्द्रीय सचिवालय बैठकले स्वीकृत गरेको छ। समितिले १३६ सदस्यीय केन्द्रीय समिति प्रस्ताव गरे पनि संशोधित विधानमा पदाधिकारीदेखि केन्द्रीय समितिको आकार बढाइएको छ। जसअनुसार अब केन्द्रीय समिति १५१ सदस्यीय हुनेछ। जसमा १०० जना मात्र निर्वाचित हुँदा बाँकी ५१ जना सदस्य सभापतिले मनोनीत गर्न पाउनेछन्।

यस्तै, केन्द्रीय समितिले निर्वाचत गर्ने पदाधिकारीमध्ये एक उपसभापति, एक महामन्त्री, दुई सहमहामन्त्री सभापतिले मनोनीत गर्न पाउँछन्। १ कोषाध्यक्ष, २ सहकोषाध्यक्ष, १ प्रवक्ता, २ सहप्रवक्ता पनि सभापतिले मनोनीत गर्ने व्यवस्था गरिएको छ।

२५ सदस्यीय केन्द्रीय सचिवालयलाई ३३ सदस्यीय बनाइएको छ। सभापति, उपसभापति, महामन्त्री, सहमहामन्त्री स्वतः सदस्य हुने भए पनि बाँकी सदस्य सभापतिलाई मनोनीत गर्नेछन्।

पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म मनोनीत गर्ने अधिकार दिएर सभापतिलाई शक्तिशाली बनाइएको हो। रास्वपा स्थापना भएको ठिक चार वर्ष पुगेको दिन ७–९ असारमा चितवनमा पहिलो महाधिवेशन तय भएको छ।

रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाहले सरकारको नेतृत्व गरिरहेका छन्। फागुन २१ को चुनावमा देशभर प्रभाव छोडेर झण्डै दुईतिहाइ सिट जिताएको श्रेय बालेन समूहले लिने गरेको छ। बालेनको व्यक्तित्वको कारण प्रतिनिधि सभामा ऐतिहासिक सिट जितेको उनको समूहको दाबी छ। तर, पार्टीभित्र भने यो समूहले प्रभावशाली उपस्थिति जनाउन सकेको छैन।

केही जिल्ला र प्रदेशमा बालेन समूहकै नाममा चुनावमा गए पनि उनीहरू पराजित भएका थिए। महाधिवेशनमा चुनावमा जाने हो भने उनको समूहका कसैले जित्न सक्ने अवस्था नरहेको अर्का पदाधिकारीले बताए। ‘अब सिधै चुनावमा लैजाने हो भने उहाँहरूले जित्ने सम्भावना छैन। नजित्नेबित्तिकै पार्टीभित्र समस्या उत्पन्न गर्न सक्छ। त्यही भएर मनोनीत गरेर समायोजनलाई सम्मान गरौँ, त्यो टिमलाई निरन्तरता दिऊँ भन्ने हो,’ ती नेताले भने।

पुस १३ गते रवि र बालेनबीच ७ बुँदे सहमति भएको थियो। सोही अनुसार बालेन समूहबाट महामन्त्री भूपदेव शाह बनेका छन्। यस्तै, सहमहामन्त्री, सचिवालय सदस्य, सहप्रवक्ता बनाउने सहमति भएको थियो।

Logo