नेयमार स्कटल्यान्डविरुद्धको खेलका लागि टोलीमा फर्कने

नेयमार स्कटल्यान्डविरुद्धको खेलका लागि टोलीमा फर्कने

केन्द्रबिन्दु
39
Shares

काठमाडाैं । ब्राजिलियन स्टार फरवार्ड नेयमार जुन २५ मा हुने स्कटल्यान्डविरुद्धको समूह चरणको अन्तिम खेलका लागि टोलीमा फर्कने भएका छन्। चोटका कारण मैदान बाहिर रहेका ३४ वर्षीय स्टारको पुनरागमनबारे ब्राजिलका मुख्य प्रशिक्षक कार्लो एन्सेलोटीले पुष्टि गरेका हुन्।

ब्राजिलले आज हाईटीलाई ३-० ले पराजित गरेपछि आयोजित पत्रकार सम्मेलनमा बोल्दै मुख्य प्रशिक्षक एन्सेलोटीले नेयमारको स्वास्थ्यस्थितिमा सुधार आएको बताए। “नेयमारले भोलि एक्लै अभ्यास गर्नेछन् र सोमबारदेखि उनी टोलीका अन्य सदस्यहरूसँगै नियमित प्रशिक्षणमा सामेल हुनेछन्,” एन्सेलोटीले भने, “उनी स्कटल्यान्डविरुद्धको खेलका लागि पूर्ण रूपमा उपलब्ध हुनेछन्।”

पिँडौलाको मांसपेशी च्यातिएका कारण मैदान बाहिर रहेका नेयमारले गत मे १७ मा ब्राजिलियन क्लब सान्तोसका लागि अन्तिम पटक मैदानमा उत्रिएका थिए। सन् २०२६ को विश्वकप छनोट चरणमा चोटकै कारण उनले धेरै खेलहरू गुमाउनु परेको थियो। यद्यपि, मैदानमा रहँदा भने उनको प्रदर्शन निकै प्रभावशाली थियो, उनले मात्र चार खेलमा दुई गोल र तीन असिस्टको योगदान दिएका थिए।

यतिबेला ब्राजिलियन टोलीमा राफिन्हाको चोटले केही चिन्ता थपे पनि नेयमारको पुनरागमनले टोलीको मनोबल उच्च बनाउने निश्चित छ।

शुक्रबार भएको अर्को खेलमा मोरक्कोले स्कटल्यान्डलाई १-० ले पराजित गरेपछि समूहको समीकरण निकै रोचक बनेको छ। हाल ब्राजिल र मोरक्को दुवैको समान ४-४ अंक भए पनि गोल अन्तरका आधारमा ब्राजिल समूहको शीर्ष स्थानमा छ। पराजित स्कटल्यान्ड ३ अंकसहित तेस्रो स्थानमा छ। आगामी बुधबार मियामीमा हुने ब्राजिलविरुद्धको खेल स्कटल्यान्डका लागि ‘गर या मर’ को स्थिति जस्तै हुनेछ।

तर, ब्राजिलका प्रशिक्षक एन्सेलोटी भने विपक्षी टोलीलाई प्रतियोगिताबाट बाहिर निकाल्ने भन्दा पनि आफ्नो टोलीको प्रदर्शन सुधार्नमा केन्द्रित छन्।

“हामी स्कटल्यान्डलाई प्रतियोगिताबाट नकआउट गर्ने बारे सोचिरहेका छैनौँ। हाम्रो ध्यान केवल राम्रो खेल्ने, खेलको विश्लेषण गर्ने र सुधार गर्नेतर्फ केन्द्रित छ,” एन्सेलोटीले थपे, “समूहको शीर्ष स्थानमा रहनु हाम्रो भविष्यका लागि महत्त्वपूर्ण हुनेछ, त्यसैले हामी सोही अनुसार तयारी गर्न चाहन्छौँ।”

स्कटल्यान्डको खेल शैलीबारे चर्चा गर्दै उनले भने, “स्कटल्यान्डको आफ्नै विशेषता छ र उनीहरूले चुनौती खडा गर्न सक्छन्। आज मोरक्कोविरुद्धको खेलमा पनि उनीहरूले समस्या सिर्जना गरेका थिए। त्यसैले हामीले शान्त रहेर आफ्नो खेल सुधार्न काम गरिरहनु पर्छ।”

यसअघि हाइटीविरुद्धको खेलमा ब्राजिलले आफ्नो पुरानै लय पक्रिने संकेत देखाएको थियो। उक्त खेलमा माथियस कुन्हाले दुई गोल र भिनिसियस जुनियरले एक गोल गर्दै ब्राजिललाई ३-० को सहज जित दिलाएका थिए। यस हारसँगै हाइटी भने विश्वकपको दौडबाट बाहिरिएको छ।

Logo