म्याग्दी । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक रहेको ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाका भौतिक संरचनाको परीक्षण थालिएको छ । रघुगङ्गा गाउँपालिका–४ दग्नाम र वडा नं ५ झिँको फेदीमा बाँध, छ किलोमिटर २७० मिटर लामो मुख्य सुरुङ र दुई वटा पानी थिग्राउने पोखरीको परीक्षण थालिएको हो ।
रघुगङ्गा हाइड्रोपावरका प्रबन्ध सञ्चालक गणेश केसीले बाँधमा निर्माण भएको डिसेन्डरमा शुक्रबार पानी हालिएको र आइतबारदेखि सुरुङमा पानी भरिने जानकारी दिए । “निर्माण सकिएका बाँध र सुरुङका भौतिक संरचनाको परीक्षण गर्न थालिएको हो”, उनले भने, “भौतिक संरचना र विद्युत्गृहका उपकरणहरूको परीक्षणपछि आयोजना विद्युत् उत्पादनको चरणमा प्रवेश गर्छ ।”
तिल्केनीचौरमा विद्युत्गृह निर्माण सकेर रङरोगन गर्न थालिएको छ । बीस मेगावाटको एक युनिट जडान भइसकेको छ भने अर्को युनिटका पाटपुर्जा जडान अन्तिम चरणमा पुुगेको छ । आयोजनाबाट उत्पादित विद्युत्लाई केन्द्रीय प्रसारण लाइनमा जोड्नका लागि विद्युत्गृह परिसरमा निर्माण भएको ‘स्विचयार्ड’ गत जेठ २५ गतेदेखि सञ्चालनमा आएको प्रबन्ध सञ्चालक केसीले बताए ।
भारतीय सिभिल ठेकेदार कम्पनी जयप्रकाश एसोसिएट्स (जेपी)ले ४५ महिनामा सम्पन्न गर्ने लक्ष्यसहित सन् २०१७ नोभेम्बर १७ विसं २०७४ मङ्सिर ६ गते) रु छ अर्बमा ठेक्का सम्झौता गरेको थियो । पटकपटक गरी सन् २०२५ नोबेम्बरसम्मका लागि तेस्रो पटक म्याद थपिएको थियो । चौथो पटक थपिएको समयभित्र आयोजना सम्पन्न गराउने लक्ष्यअनुसार काम भइरहेको प्रबन्ध सञ्चालक केसीले बताए ।
कोरोना महामारी, बाढी, पहिरो जस्ता प्राकृतिक विपद् र नदीजन्य निर्माण सामग्रीको अभावका कारण आयोजना निर्माणमा ढिलाइ भएको ठेकेदार कम्पनी जेपीका आयोजना व्यवस्थापक हरिश अग्रवालले बताए । भारत हेभी इलेक्ट्रिकल्स लिमिटेड (भेल) सँग विसं २०७६ कात्तिकमा एक करोड दुई लाख ९३ हजार २२.३५ अमेरिकी डलरमा इलेक्ट्रोमेकानिकल ठेक्का सम्झौता भएको थियो ।
भारतीय आयातनिर्यात (एक्जिम) बैङ्कको ६७ मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण तथा नेपाल विद्युत् प्राधिकरण र नेपाल सरकारकोे संयुक्त लगानीमा कम्पनीको अवधारणा र इन्जिनियरिङ प्रक्युमेन्ट एन्ड कन्ट्र्याक्ट (इपिसी) प्रारुपमा राहुघाट जलविद्युत् आयोजना सञ्चालन गरिएको हो ।
कमजोर आर्थिक अवस्थाका कारण २०७२ मा पुरानो ठेकेदार कम्पनीसँगको ठेक्का तोडेर नयाँ प्रक्रियाबाट निर्माण अघि बढाइएको थियो । पछिल्लो पटक छनोट भएको सिभिल ठेकेदार जयप्रकाश एसोसिएट्स (जेपी)ले २०७५ असारमा पहुँचमार्ग र २०७६ असारमा सुरुङ खन्न सुरु गरेको थियो ।
यस आयोजनाले वार्षिक २४ करोड पाँच लाख ९३ हजार ३४ युनिट विद्युत् उत्पादन गर्ने लक्ष्यसहित २०७५ चैतमा विद्युत् खरिद बिक्री सम्झौता (पिपिए) गरेको थियो । राहुघाटबाट उत्पादन हुने विद्युत् केन्द्रीय ग्रिडमा जोड्न कालीगण्डकी कोरीडोर अन्तरगत २२० केभी (डबल सर्किट) क्षमताको दाना–कुश्मा प्रसारण लाइनमा लिलो माध्यमबाट जोडिने छ । चार वटा टावर र प्रसारण लाइन पनि बनिसकेको आयोजना कार्यालयले जनाएको छ ।





























प्रतिक्रिया