कैलाली । नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठनसम्बन्धी आयोजित सुझाव सङ्कलन कार्यक्रममा सुदूरपश्चिममा ४६ जनाले धारणा राखेका छन्। जिल्ला तथा प्रदेशका पदाधिकारी र केन्द्रीय सदस्यहरूले पार्टी सुदृढ बनाउन विभिन्न विकल्प प्रस्तुत गरेका थिए।
कार्यक्रममा आएका प्रतिनिधिहरूको सुझावभन्दा पहिले एमाले अध्यक्ष केपी शर्मा ओलीले अहिलेको अवस्था, निर्वाचन विश्लेषण र आगामी रणनीतिबारे भर्चुअल सम्बोधन गरेका थिए। करिब एक घण्टाको सम्बोधनका क्रममा उनले पार्टीभित्र चौतर्फी घेराबन्दी भइरहेको भन्दै अहिले नै आफूले मार्गप्रशस्त नगर्ने सन्देश दिएका थिए।
‘चौतर्फी घेराबन्दीको बीचमा पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्नुपर्ने बेला आएको छ,’ उनले सहभागीहरूलाई भने, ‘अहिले सुझाव सङ्कलनका लागि साथीहरू त्यहाँ पुग्नुभएको छ। तपाईंहरूले आफ्ना कुराहरू निर्धक्क राख्नुस्। ’
पार्टीभित्रको तिक्ततालाई सङ्केत गर्दै ओलीले मतभेद बढ्दै जाँदा समस्या हुने बताएका थिए। ‘यो डोरी धेरै तन्कियो भने चुँडिन सक्छ। पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्नुपर्छ, ’ उनले भनेका थिए, ‘सहज अवस्थामा मैले नेतृत्व गरेँ। असहज अवस्थामा मैले बिदा हुन चाहन्नँ। ’
ओलीको सम्बोधनपछि जिल्लाहरूबाट सुझावहरू प्रस्तुत भएका थिए। डडेल्धुरा, अछाम र बाजुराले लिखित प्रतिवेदन नै बुझाएका थिए भने अन्य जिल्लाका सबै पदाधिकारीहरूले आफ्ना कुराहरू राखेका थिए।
दार्चुला जिल्ला अध्यक्ष ज्ञानेन्द्र घर्तीले विभाजन ल्याउने गरी गतिविधि गर्न नहुने बताएका थिए।‘भोलि पार्टी विभाजन भयो भने समस्या पर्छ। सिङ्गो दार्चुला सूर्य चिन्ह र एमाले जहाँ हुन्छ, त्यहीँ उभिने हो। बाँकी तपाईंहरूको कुरा हो, ’ उनले भनेका थिए।
बैतडीका पार्टी जिल्ला अध्यक्ष, उपाध्यक्ष, सचिव र एक उपसचिव पुनर्गठनको पक्षमा उभिए।‘२०६४ सालभन्दा पनि कमजोर भएको छ। गम्भीर समीक्षा आवश्यक पर्छ, ’ उनीहरूले बताएका थिए। डडेल्धुराबाट अध्यक्ष उपस्थित नभए पनि अन्य पदाधिकारीहरूले पार्टी केन्द्रीय अध्यक्ष केपी ओलीले राजीनामा दिनुपर्ने बताएका थिए।
‘जनप्रतिनिधि गलत बाटो हिँडे। नेताहरूकै सन्तानले घण्टीमा भोट मागे। ६० कटेकालाई सम्मानजनक बिदाइ गर्नुपर्छ, ’ पार्टी उपाध्यक्षले कार्यक्रममा भनेका थिए।
बझाङ जिल्लामा पार्टी सचिव नैनसिंह बोहराले जिल्ला कमिटी एकढिक्का भएर निर्वाचन जितेको बताए।‘केही नेताहरूले अन्तर्घात गरे। जिल्लाको छानबिन समितिले त्यसको प्रतिवेदन केन्द्रलाई पठाउँछ। कारबाही गर्नुपर्छ, ’ उनले भनेका थिए।
पार्टी केन्द्रको कार्यविभाजन सच्याउनुपर्ने उनले माग गरे। अध्यक्ष ओलीलाई मात्रै राजीनामा दिन लगाएर अन्य पदाधिकारीहरूले उन्मुक्ति पाउन नसक्ने उनको भनाइ थियो।‘तपाईंहरूले पनि आफ्नो जिम्मेवारीबाट राजीनामा दिनुहोस्, हामी साथ दिन्छौँ, ’ उनले भने।
डोटी जिल्ला अध्यक्ष मञ्जु मलासीले केपी ओलीलाई हटाउने कुराको विरोध जनाइन्। टिकट वितरणमा पनि उनको असहमति रहेको थियो।‘अध्यक्ष परिवर्तन गर्ने भए विकल्पमा को छ? नाम दिनुहोस्, ’ उनले भनिन्। जिल्ला पार्टी अध्यक्ष केन्द्रीय अध्यक्षको पक्षमा बोल्दा उपाध्यक्षसहित सचिव र उपसचिव सबैले पार्टी रिफर्म हुनुपर्ने बताए।
अछाम जिल्लाले पनि यस विषयमा लिखित प्रतिवेदन बुझाएको थियो। त्यो प्रतिवेदन पढेर सुनाइएको थियो। ‘केन्द्रदेखि वडासम्म सबै रिफर्म हुनुपर्छ। जनसङ्गठन स्वायत्त बनाउनुपर्छ। सम्मानजनक नेतृत्व हस्तान्तरण गर्नुपर्छ, ’ अछाम अध्यक्ष शिवप्रसाद उपाध्यायले भनेका थिए।
कञ्चनपुर जिल्लाको सिङ्गो कमिटीले पुनर्गठनको पक्षमा धारणा व्यक्त गरेको थियो।‘अघिल्लो निर्वाचनमा आएकोमध्ये एक तिहाइ मत पनि आएन, ’ अध्यक्ष लक्ष्मी बुढाले भनिन्, ‘टिकट वितरण शैली गलत भयो। केन्द्रले अनावश्यक हस्तक्षेप गर्यो। ’कञ्चनपुर जिल्लामा २६ जनाले मात्रै सदस्यता नवीकरण गरेको समेत उनले बताएकी थिइन्।‘कार्यकर्तामा उत्साह छैन, निराशा मात्रै छ। पार्टी केन्द्र, जिल्ला, प्रदेशदेखि वडा सबै कमिटी पुनर्गठन हुनुपर्छ, ’ उनले भनिन्।
सुझाव सङ्कलनमा आएका केन्द्रीय सदस्यहरूमध्ये अधिकांशले पुनर्गठनको पक्षमा धारणा राखेका थिए। कञ्चनपुरका कृषा राना र कमला बोहरा दुवै रिफर्मको पक्षमा देखिए।
बाजुराका कर्ण थापा, नरेश रोकाया र सहदेव बोगटीले रिफर्मको विषय उठाउँदा लालबहादुर थापाले भने अध्यक्षको कारण मात्रै यस्तो नभएको भन्दै सबैले आफ्ना कमजोरी स्वीकार गर्न सक्नुपर्ने बताएका थिए।
दार्चुलाका गणेश ठकुन्नाले कार्यविभाजन बेठीक भएको उल्लेख गरे।‘नेताको वरिपरि रहने र जनताको वरिपरि रहने कार्यकर्ताबीचको फरक छुट्याउनुपर्छ, ’ उनले भनेका थिए। बैतडीबाट लिलाधर भट्टले पुरै रिफर्म हुनुपर्नेमा जोड दिँदा दामोदर भण्डारी र गोविन्द गिरीले पनि पुनर्गठनको पक्षमा धारणा राखे।
सुझाव सङ्कलन कार्यक्रमपछि सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै उपाध्यक्ष विष्णु पौडेलले करिब १३ घण्टा लामो छलफलका क्रममा पार्टीका नेता–कार्यकर्ताबाट महत्वपूर्ण विचार, विश्लेषण र सुझाव प्राप्त भएको उल्लेख गरेका हुन्। उनका अनुसार नेकपा (एमाले) सुदूरपश्चिम प्रदेश कमिटीको व्यवस्थापनमा सम्पन्न कार्यक्रममा सहभागीहरूले पार्टी र मुलुकको उज्ज्वल भविष्य निर्माणका विषयमा मर्मस्पर्शी धारणा राखेका थिए। समस्या पहिचान गरी समाधान खोज्ने उद्देश्यका साथ संस्थागत निर्णयअनुसार कार्यक्रम आयोजना गरिएको उनले बताएका छन्।
सुझाव सङ्कलनको लागि कार्यदलका संयोजक समेत रहेका उपाध्यक्ष रामबहादुर थापा बादल, अर्का दुई उपाध्यक्ष विष्णु पौडेल, पृथ्वीसुब्बा गुरुङ गुरुङ र महासचिव शङ्कर पोख्रेल आएका थिए ।





























प्रतिक्रिया