कान्सास । विश्वकप २०२६ मा मेडिकल स्टाफ प्रमुखका रूपमा कार्यरत डा. सुजान हुर्मान एकमात्र महिला हुन्, बाँकी ४७ जना पुरुष छन्। ९६ वर्षे विश्वकप इतिहासमा उनी तेस्रो महिला टोली डाक्टर हुन् ।
डाक्टर सुजान हुर्मान जनसंख्या र आकारको हिसाबले विश्वकप खेल्ने सबैभन्दा सानो टोली कुरासाओको राष्ट्रिय पुरुष टोलीको मेडिकल स्टाफ प्रमुखको रूपमा कार्यरत छन्। ९६ वर्षे विश्वकप इतिहासमा उनी तेस्रो महिला टोली डाक्टर हुन्।
सन् २०१० मा दक्षिण अफ्रिकामा भएको विश्वकपमा डा. सेलेस्ट गेर्टसेले न्युजिल्यान्डको पुरुष राष्ट्रिय टोलीमा काम गरेकी थिइन्। उनी पुरुष विश्वकपमा काम गर्ने पहिलो महिला डाक्टर बनेकी थिइन्। डा. सिल्जा स्वार्ज २०२३ देखि जर्मनी पुरुष टोलीको टोली डाक्टर रहेकी छन्।
फिफाले डाक्टर हुर्मान यस विश्वकपमा मेडिकल स्टाफकी एकमात्र महिला प्रमुख भएको जनाएको छ। तर उनले यसबारे धेरै सोचेकी छैनन्। ‘मैले सुरुमा महसुस नै गरिनँ किनभने कोठामा एकमात्र वा केही महिलामा हुनु भनेको बिल्कुलै सामान्य विषय हो,’ हुर्मानले भनिन्, ‘तर म चाँडै बढी महिलाहरू देख्ने आशा गर्छु किनभने त्यहाँ धेरै बढी सक्षम महिला छन्।’
बीबीसी स्पोर्टले डा. हुर्मानसँग फुटबलमा महिला प्रतिनिधित्व बढाउन के आवश्यक छ, अवसर र चुनौतीहरू के छन् भनेर कुरा गरेको छ। ब्राजिलमा जन्मेकी डा. हुर्मानले रियल म्याड्रिड, गो अहेड इगल्स र पीएसभी आइन्डहोभेनसँग काम गरेकी छन् साथै उनले नेदरल्यान्ड्स यू–१६ ब्वाइज टिमको मेडिकल प्रमुख र डच महिला ह्यान्डबल टोलीकी पनि डाक्टर बनेकी थिइन्।
कुरासाओको जनसंख्या करिब १ लाख ५८ हजार छ। यो क्यारेबियन टापु नेदरल्यान्ड्सको एउटा हिस्सा हो। सांस्कृतिक रूपमा पनि डच प्रभावित छ। तर यो पूर्ण सार्वभौम राज्य होइन। छनोट चरणमा ७ जित र ३ बराबरीसँगै कुरासाओले विश्वकप यात्रा तय गरेको थियो।
डा. हुर्मान पुरुष प्रधान क्षेत्रमा काम गर्दा डराउँदिनन्। यद्यपि उनी चुनौतीहरू रहेको सुनाउँछिन्। ‘यदि तपाईं सक्षम हुनुहुन्छ र तपाईंले गर्ने काममा राम्रो हुनुहुन्छ भन्ने हो भने त्यो स्वीकार्न सजिलो हुन्छ किनभने यो गुणस्तर र प्रदर्शनबारेमा हो। यदि उनीहरूले देख्छन् तपाईं सक्षम हुनुहुन्छ। तपाईंका लक्ष्यहरू उस्तै छन् भने त्यसले उनीहरूलाई प्रभाव पार्नेछ,’ हुर्मानले भनिन्, ‘तर तपाईंले आफूलाई प्रमाणित गर्नुपर्छ।
उनले अगाडि भनिन्, ‘कुरासाओसँग फुटबल संघमा पूरै पुरुष मात्र थियो। महिला थिएनन्, मेडिकल टोलीमा मात्र होइन, जुनसुकै क्षेत्रमा पनि। हामी खेलाडी र स्टाफ गरेर ४९ जना सँगै विश्वकपमा आएका छौं, टोलीमा म एक्ली महिला हुँ।’
डाक्टर हुर्मानले २००८ मा नेदरल्यान्ड्समा चिकित्सा अध्ययन गरिन्। उनी आफ्नो कोर्समा लिङ्ग विभाजनमा महिला बढी भएको कुरा स्मरण गर्छिन्। ‘जब मैले चिकित्सा अध्ययन गरिरहेको थिएँ, त्यहाँ करिब ७०–७५ प्रतिशत महिला थिए र बाँकी पुरुष,’ उनले सुनाइन्, ‘मैले २०१४ मा खेलकुद चिकित्सा विषयमा विशेषज्ञता गरें र त्यसपछि त्यसले विपरीत झुकाव देखायो, किनभने त्यहाँ केवल २०–३० प्रतिशतमात्र महिला थिए। विशेष गरी खेलकुदमा मैले फरक देख्दै आएको छु।’
सन् २०२३ को महिला विश्वकपमा फुटबलमा सबै महिला डाक्टरहरू मात्र थिएनन्। इंग्ल्यान्ड र स्विडेन त्यस्ता राष्ट्र थिए, जसमा टोलीका डाक्टर पुरुष थिए। फुटबलमा काम गर्ने महिला डाक्टर थोरै किन छन् भन्ने प्रश्नमा हुर्मानले सधैं सक्रिय संस्कृतिलाई बाधा भनेर भन्दा यस्तो हुन सक्ने बताउँछिन्।
‘यो तपाईंको क्षमतामात्र होइन, यदि व्यावसायिक हिसाबमा राम्रो हुनुहुन्छ भने त्यो एउटा पक्ष हो, तर यात्रा, जीवनशैलीले व्यक्तिगत जीवनलाई असर गर्न सक्छ,’ उनले भनिन्, ‘तपाईंको परिवार छ वा गर्भवती हुनुहुन्छ भने निश्चित समयका लागि तपाई कामबाट बाहिर हुनुपर्छ। किनकि यसलाई पेसागत फुटबल सिजनसँग मिलाउन सक्नुहुन्न। यो केवल फुटबलमा मात्र होइन। सम्पूर्ण उच्चस्तरको खेलकुद दुनियाँ हो, जहाँ तपाईंको काम चौबिसै घन्टा र सातै दिन माग रहने गर्छ।’ रोयटर्सबाट





























प्रतिक्रिया