एटलान्टा । स्पेनले विश्वकपमा प्रवेश गर्दा टोलीमाथि रहेको छवि थियो, सम्भावित च्याम्पियन । तर केप भार्डेविरुद्धको कमजोर प्रदर्शनपछि युरोपेली च्याम्पियनले समूह ‘एच’ आफ्नो दोस्रो खेलमा आइतबार साउदी अरेबियाको सामना गर्दै छ । त्यसअगाडि स्पेनसामु आफ्नो खेल सुधार्न चुनौतीको चाङ रहनेछ । डेब्यु गरिरहेको केप भार्डेविरुद्ध स्पेन गोलरहित बराबरीमा रोकिएको थियो ।
यो समूहमा स्पेन र उरुग्वे शीर्ष दुई स्थानमा रहने र स्वतः नकआउट चरण पुग्ने विश्वास थियो । साउदी अरेबिया र केप भार्डेबीच उत्कृष्ट तेस्रो स्थानका लागि प्रतिस्पर्धा चल्ने अनुमान थियो । तर अहिले चारै टिम समान १ अंकमा छन् । यस्तोमा टिमको आक्रमणलाई अझ धारिलो बनाउन प्रशिक्षक लुइस डे ला फुन्टेले सुरुदेखि स्टार विङ्गर लामिन यामललाई खेलाउनुपर्नेछ ।
केप भार्डेविरुद्धको खेलअगाडि यिनै स्पेनी प्रशिक्षक १९ वर्षीय यामलको चोटलाई लिएर सतर्क थिए । उनका लागि सबैभन्दा राम्रो विकल्प यामललाई वेञ्चबाट मैदानमा उतार्नु हुने थियो । तर दोस्रो खेल आइपुग्दा यी किशोर खेलाडीको यति धेरै आवश्यकता हुनेछ भनेर प्रशिक्षकले सोचेकै थिएनन् । पहिलो खेलको अन्तिम २० मिनेटमा यामल मैदानमा छिरेपछि स्पेनी टिमको गति बढेको थियो ।
तर यो पनि गोलका लागि पर्याप्त रहेन् । त्यस खेलमा निको विलियम्स पनि खेलको अन्त्यतिर सब्स्टिच्युट खेलाडीको भूमिकामा देखिएका थिए । अब यामल र विलियम्स दुवैले सुरुदेखि खेल्न सक्नेछन् । गाभी र फेरान टोरेस वेञ्चमा झर्न सक्छन् । यामल अझै पूरा ९० मिनेटका लागि तयार नभएको बताइएको छ । त्यसैले प्रशिक्षकले उनलाई सुरुदेखि खेलाउने पछि झिक्ने वा खेल सुरु भएपछि छिराउने त्यो निर्णय गर्नुपर्नेछ ।
केप भार्डेविरुद्ध स्थिति कस्तोसम्म बनेको थियो भने स्ट्राइकर मिखेल आयारजबल सुरुको आधा घण्टासम्म एकपल्ट बल छुनबाट वञ्चित रहेका थिए । तर उसको पछाडि खेलाडीले भने बलमाथि पर्याप्त नियन्त्रण राखे, त्यसको कुनै अर्थ रहेन । त्यसैले साउदी अरेबियासामु स्पेन थप आक्रामक हुनु बाहेक अर्को विकल्प हुने छैन । स्पेनले पहिलो खेलको नतिजालाई धेरै ध्यान नदिने दाबी गर्न सक्छ ।
तर यही नतिजाले टिमलाई अप्ठ्यारोमा पारेको भने मान्नै पर्नेछ । यामल भन्छन्, ‘सबैले गोलरहित बराबरी मात्र कुरा गरिरहेका छन् । तर सबैले के पनि बुझ्नुपर्छ भने पहिलो खेल ६ गोलको अन्तरले जित्दैमा हुने केही होइन । नकआउट चरण पुग्दा त्यसले केही अर्थ बोक्दैन ।’
साउदी अरेबियाले चार वर्षअघिको विश्वकपमा विजेता बनेको अर्जेन्टिनालाई हराएर सनसनी मच्चाएको थियो । अहिले उरुग्वेमाथि बराबरीको नतिजा निकालेपछि साउदी अरेबिया आफैं उत्साही रहनेछ । यो टिमले अहिलेसम्म विश्वकपमा एकैपल्ट मात्र नकआउट चरणको अनुभव बटुलेको छ । त्यो सन् १९९४ मा हो । त्यही बेला त हो, अमेरिकाले पहिलो पटक विश्वकप आयोजना गरेको । प्रशिक्षक जर्जिगोस डोनिसले उरुग्वेविरुद्ध जुन टिम उतारेका थिए, सम्भवतः स्पेनविरुद्ध पनि त्यसमा कुनै परिवर्तन गर्ने छैनन् ।





























प्रतिक्रिया