फिफा विश्वकप २०२६ मा गोलको वर्षा, ६८ वर्षपछि तोडियो रेकर्ड

फिफा विश्वकप २०२६ मा गोलको वर्षा, ६८ वर्षपछि तोडियो रेकर्ड

केन्द्रबिन्दु
30
Shares

काठमाडौं । अमेरिका, मेक्सिको र क्यानडाले संयुक्त रूपमा आयोजना गरिरहेको फिफा विश्वकप २०२६ मा गोलको वर्षा चलिरहेको छ। यो संस्करण सन् १९५८ यताकै सबैभन्दा तीव्र गतिमा १०० गोल पूरा गर्ने विश्वकप बनेको छ। प्रतियोगिताको मात्र ३३ औँ खेलमा १०० गोलको कोशेढुङ्गा पार भएर नयाँ कीर्तिमान कायम भएको हो।

शनिबार सम्पन्न खेलमा नेदरल्यान्ड्सले स्वीडेनलाई ५–१ को फराकिलो अन्तरले पराजित गर्ने क्रममा लिभरपुलका फरवार्ड कोडी गाक्पोले टोलीका लागि तेस्रो गोल गर्दै यो ऐतिहासिक १०० औँ गोल पूरा गरेका थिए । विगत ६८ वर्षमा ३३ खेलमै १०० गोल पुगेको यो पहिलो पटक हो। यसअघि सन् १९५४ मा स्विट्जरल्यान्डमा भएको विश्वकपमा मात्र २० खेलमा १०० गोल पूरा भएको इतिहास छ।

चालु विश्वकपमा प्रतिखेल औसत ३.०९ गोल भइरहेको छ, जसले गर्दा यस पटक कुल गोल संख्या ३०० पार हुने अनुमान गरिएको छ। मेक्सिकोका जुलियन क्विनोनेसले जुन ११ मा दक्षिण अफ्रिका विरुद्ध पहिलो गोल गर्दै सुरु गरेको यो यात्रामा जर्मनीले क्युरासाओलाई ७–१ र क्यानडाले कतारलाई ६–० ले हराएका विशाल स्कोरहरू समावेश छन्।

यस वर्ष यति धेरै गोल हुनुको मुख्य कारण एडिडास कम्पनीको ‘ट्रिओन्डा’बललाई मानिएको छ। पूर्व फुटबलर तथा विश्लेषकहरूका अनुसार यो बल हावामा सोचेभन्दा तीव्र गतिमा कुद्ने र आफ्नो स्विङ हुने प्रकृतिको छ, जसले गर्दा गोलरक्षकहरूलाई बलको दिशा अनुमान गर्न निकै कठिन भइरहेको छ।

यसैको फाइदा उठाउँदै खेलाडीहरूले पेनाल्टी बक्स बाहिरबाट उत्कृष्ट गोलहरू गरिरहेका छन्। फ्रान्सका कप्तान किलियन एम्बाप्पेले सेनेगल विरुद्ध ३० यार्ड टाढाबाट गरेको प्रहार होस् वा स्वीडेनका यासिन अयारीले ट्युनिसिया विरुद्ध २४ यार्डभन्दा टाढाबाट गरेका दुई सानदार गोलहरू, सबैमा बलको यही गतिको प्रभाव देखिएको छ। अहिलेसम्म १० भन्दा बढी गोलहरू डिपिबक्स बाहिरको लामो प्रहार बाट भइसकेका छन्।

Logo