चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चौँथो वार्षिक उत्सव तथा पाँचौँ स्थापना दिवसको अवसर पारेर चितवनमा प्रथम ऐतिहासिक महाधिवेशन उत्साहका साथ सुरु भएको छ। तर, पार्टी स्थापनाकालका प्रमुख सूत्रधार एवं पूर्वमहामन्त्री डा. मुकुल ढकाल भने यस ऐतिहासिक अवसरमा पूर्ण रूपमा उपेक्षित भएका छन्।
पार्टीबाट निष्कासित भइसकेका ढकालले महाधिवेशनको निमन्त्रणा सूचीमा समेत आफ्नो नाम नपरेको भन्दै सामाजिक सञ्जालमार्फत चित्तदुखाइ व्यक्त गरेका छन्।
पार्टी स्थापनाका सुरुवाती दिनहरू स्मरण गर्दै ढकालले चार वर्षअघिको कठिन परिस्थितिलाई ब्युँताएका छन्। “ठीक चार वर्षअघि आजकै दिन हामीले राष्ट्रिय स्वतन्त्र पार्टी गठन गरेका थियौँ,” उनले लेखेका छन्, “पार्टी दर्ताका लागि आवश्यक ५०० वटा नागरिकता जुटाउनसमेत संघर्ष गर्नु परेको त्यो अवस्थाबाट छोटो समयमै पार्टी दुई तिहाइ जनमतसहित सरकारमा पुगेको छ। संघर्षका ती दिनहरू इतिहासमा लेखिए कि लेखिएनन्, त्यो मलाई थाहा छैन।”
उनले तत्कालीन समयमा भोग्नुपरेको संघर्ष भगवानले हेरे-नहेरेको आफूलाई थाहा नभए पनि त्यो इतिहास प्रत्येक संस्थापकको मानसपटलमा सधैँ जीवन्त रहने उल्लेख गरेका छन्।
वर्तमान राजनीतिक परिस्थिति र पार्टी नेतृत्वको महत्त्वाकांक्षामाथि व्यङ्ग्य गर्दै ढकालले लेखेका छन्, “विडम्बना, पार्टीलाई ‘अश्लिल’ लेख्ने व्यक्ति प्रधानमन्त्री बनिसक्दा, पार्टी स्थापना गर्ने म भने महाधिवेशनको निम्तो सूचीमा समेत परिनँ।”
उनले आफ्नो भौतिक शरीर महाधिवेशनस्थल चितवनमा नभए पनि विचार, मूल्य र सिद्धान्तको लडाइँ जारी रहने स्पष्ट पारेका छन्। “४००० प्रतिनिधिहरूमध्ये म हुनु वा नहुनुले एउटा मत मात्र थपघट हुने हो, तर राजनीति गर्ने व्यक्तिका लागि शरीर कहाँ उपस्थित छ भन्नेभन्दा उसका विचार र सिद्धान्तले कति स्थान ओगटेका छन् भन्ने कुरा बढी महत्त्वपूर्ण हुन्छ,” उनले थपेका छन्।
पूर्वमहामन्त्री ढकालले चितवनमा भेला भएका करिब ४ हजार महाधिवेशन प्रतिनिधिहरूलाई केवल पद बाँडफाँड र गुटबन्दीमा मात्र सीमित नहुन आग्रह गरेका छन्। पद वा व्यक्तिमा सीमित हुनु राजनीति नभएर ‘राजव्यक्ति’ गर्नु मात्र भएको उनको तर्क छ।
उनले प्रतिनिधिहरूलाई अपिल गर्दै भनेका छन्, “म आशा गर्दछु, यो महाधिवेशन केवल पद बाँडफाँड वा व्यक्ति चयनको कार्यक्रममा सीमित हुने छैन। को कुन पदमा जित्यो वा हार्यो भन्नेभन्दा ठूलो प्रश्न पार्टीले कुन दिशा रोज्छ भन्ने हो। मेरो आग्रह छ— व्यक्तिभन्दा विचारलाई, गुटभन्दा संस्थालाई, र पदभन्दा उद्देश्यलाई माथि राखेर निर्णय गर्नुहोस्।”





























प्रतिक्रिया