पूर्वक्रिकेटर श्रीसन्तले हरभजन सिंहलाई दिए बक्सिङ रिङमा भिड्न खुला चुनौती

पूर्वक्रिकेटर श्रीसन्तले हरभजन सिंहलाई दिए बक्सिङ रिङमा भिड्न खुला चुनौती

केन्द्रबिन्दु
9
Shares

काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल)को इतिहासमै सबैभन्दा बढी विवादित बनेको सन् २००८ को ‘स्ल्यापगेट’ काण्ड फेरि एकपटक चर्चामा आएको छ।

भारतीय टोलीका पूर्व तीव्र गतिका बलर एस श्रीसन्तले आफ्ना पूर्वसहकर्मी तथा स्पिनर हरभजन सिंहलाई बक्सिङ रिङभित्र प्रतिस्पर्धा गर्न खुला चुनौती दिएका छन् ।

सन् २००८ को आईपीएल खेलका क्रममा मुम्बई इन्डियन्सका हरभजन सिंहले किंग्स इलेभेन पञ्जाबका श्रीसन्तलाई मैदानमै थप्पड हानेका थिए, जसले क्रिकेट जगत्मा ठूलो खैलाबैला मच्चाएको थियो। त्यसपछिका वर्षहरूमा हरभजनले सार्वजनिक रूपमा माफी मागेका थिए भने यी दुई खेलाडी सँगै विज्ञापनमा देखिने र सामान्य कुराकानी गर्ने अवस्थामा पुगिसकेका थिए।

तर, हालै हरभजन सिंहले अभिनय गरेको एउटा विज्ञापनका कारण यी दुईबीचको सम्बन्ध फेरि बिग्रिएको छ। उक्त विज्ञापनमा हरभजनले श्रीसन्तको नाम नलिई सो पुरानो थप्पड काण्डको मजाक उडाएको आरोप श्रीसन्तले लगाएका छन्। आफ्नो जीवनको एक पीडादायी क्षणलाई प्रयोग गरेर हरभजनले व्यावसायिक फाइदा उठाएको र उक्त विज्ञापनबाट झन्डै १ करोड रुपैयाँ कमाएको आरोप लगाउँदै श्रीसन्तले हरभजनसँगको सम्बन्ध तोडेर उनलाई ब्लक गरिदिएको खुलासा गरेका छन्।

हालै लोकप्रिय भारतीय शो ‘द लल्लनटप’ मा अन्तर्वार्ताका क्रममा श्रीसन्त र हरभजन बक्सिङ पोशाकमा सँगै रहेको एउटा पुरानो तस्बिर स्क्रिनमा देखाइएको थियो। सोही तस्बिरलाई हेर्दै श्रीसन्तले रिस थाम्न नसकी हरभजनलाई सिधै चुनौती दिए।

श्रीसन्तले आक्रोशित हुँदै भने, “के तिमीमा आँट छ ? म सोधिरहेको छु, के तिमी मसँग रिङभित्र आउने हिम्मत राख्छौ? सम्झौता पत्रमा हस्ताक्षर गरेर रिङमा आउन सक्छौ? यो कुनै अभिनय होइन, यो मेरो खुला चुनौती हो। हेरौँ तिमीमा कतिको दम छ।”

आफू हाल ‘बेयर नक्कल फाइट लिग’सँग आबद्ध रहेको र चर्चित फाइटर कोनर म्याकग्रेगरको भिडियो प्रवर्द्धनसँग पनि जोडिएको उल्लेख गर्दै श्रीसन्तले हरभजनलाई रिङमा आउन जोड दिएका छन्।

Logo