प्रधानमन्त्री बालेनले सम्झिए स्व. र्‍यापर यमबुद्धलाई !

प्रधानमन्त्री बालेनले सम्झिए स्व. र्‍यापर यमबुद्धलाई !

केन्द्रबिन्दु
27
Shares

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम ऐतिहासिक महाधिवेशनमा सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री बालेन शाहले स्वर्गीय चर्चित र्‍यापर यमबुद्ध (अनिल अधिकारी) लाई सम्झिएका छन् ।

सम्बोधनका क्रममा प्रधानमन्त्री शाहले आफ्ना एक ‘अनन्य मित्र’ को भनाइ उद्धृत गर्दै यमबुद्धलाई इङ्गित गरेका हुन् ।

आइतबार महाधिवेशनलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले भने, “मेरो एक जना अनन्य मित्र हुनुहुन्थ्यो। उहाँ अहिले यहाँ हुनुहुन्न। उहाँले सधैँ भन्नुहुन्थ्यो— बालेन, स्पटलाइटमा आउन सजिलो हुन्छ, तर त्यो स्पटलाइटलाई सधैँ कायम राख्न गाह्रो हुन्छ।”

प्रधानमन्त्री शाह राजनीतिमा आउनुअघि नेपाली हिपहप (नेपहप) र्‍याप विधामा स्थापित नाम थिए । सोही समयमा नेपाली र्‍याप जगत्‌लाई उचाइमा पुर्‍याउन अतुलनीय योगदान दिएका स्वर्गीय यमबुद्धसँग बालेनको गहिरो व्यावसायिक र व्यक्तिगत सम्बन्ध थियो। त्यसैले, “अहिले यहाँ हुनुहुन्न” भनी प्रधानमन्त्रीले स्मरण गरेका ती अनन्य मित्र यमबुद्ध नै रहेको र उनकै विगतको संवादलाई बालेनले देशको राजनीतिक परिवेशसँग जोडेको टिकाटिप्पणी भएका छन् ।

आफ्ना मित्रको सोही चिन्तालाई दुई तिहाइ बहुमतसहित सरकारको नेतृत्व गरिरहेको रास्वपालाई संकेत गर्दै उनले भने, “यस्तै चिन्ता आज यहाँ उपस्थित आदरणीय नेतागणले पनि गर्नुभएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी स्पटलाइटमा आएको छ, यसलाई कायम राख्न गाह्रो हुन्छ भन्ने चिन्ता व्यक्त गरिएको छ। तर हामी स्पटलाइटमा आएका होइनौँ, हामीले जनतालाई स्पटलाइटमा ल्याएका हौँ। जनता सधैँ स्पटलाइटमा थियो, स्पटलाइटमा छ र स्पटलाइटमै रहनेछ।”

Logo