काठमाडौं । ट्राफिक जाम बढी हुने सातदोबाटो र एकान्तकुनामा आगामी आर्थिक वर्षमा अन्डरपास निर्माण थालिने भएको छ । यसका लागि १२ करोड ४६ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । यी दुवै ठाउँमा अन्डरपास निर्माणमै जाने गरी अध्ययनको काम पनि सकिइसकेको छ ।
सरकारले आर्थिक वर्ष २०७९/८० को बजेट वक्तव्यबाटै उपत्यकाका ग्वार्को, सातदोबाटो र एकान्तकुनामा ओभरपास/फ्लाइओभर निर्माण गर्ने बताउँदै आएको थियो । अहिलेसम्म ग्वार्कोबाहेक अन्यत्र ओभरपास बनेको छैन। सातदोबाटो र एकान्तकुनामा कलंकीको जस्तै अन्डरपास बनाउने भन्दै अध्ययनको काम सकिएको छ ।
दुई दर्जन सुरुङको अध्ययन, प्राथमिकीकरण गरेर मात्र निर्माणमा जाने गरी थप अध्ययन गरिनेअध्ययनअनुसार सातदोबाटोमा बन्ने अन्डरपासको दूरी ५४०.७८ मिटर हुनेछ। अहिले अध्ययनमा कलंकीको जस्तै अन्डरपास बनाउने र लागत ७२ करोड रुपैयाँ लाग्ने उल्लेख छ । अन्डरपास चार लेनको हुने सडक विभागले जनाएको छ।
एकान्तकुनामा पनि अन्डरपास नै बनाउने गरी अध्ययन गरिएको छ। यसको दूरी ३ सय मिटर हुनेछ।अन्डरपास निर्माणमा ५० करोड लागत लाग्ने अध्ययनमा उल्लेख छ। यी दुवै अन्डरपासको ठेक्का इन्जिनियरिङ प्रोक्योरमेन्ट एन्ड कन्स्ट्रक्सन (ईपीसी) मोडलअन्तर्गत गरिने गुणस्तर, अनुसन्धान तथा विकास केन्द्रले जनाएको छ । चालु आर्थिक वर्षमै अन्डरपास बनाउने योजनामा सडक विभाग थियो । तर बजेट अभावले उक्त काम अघि बढ्न सकेन ।
आगामी आर्थिक वर्षबाटै दुवै खण्डमा निर्माणको काम अघि बढाइने गुणस्तर, अनुसन्धान तथा विकास केन्द्रका निर्देशक राजेशप्रसाद पौडेलले बताए । ‘ग्वार्को ओभरपासमा सानातिना मर्मतसम्भारका लागि बजेट छुट्याइएको हो । यसका लागि २० लाख रुपैयाँ छ,’ उनले भने, ‘एकान्तकुना र सातदोबाटोमा ठेक्का गरेर अघि बढ्छौं, यसको लागत डेढ अर्ब लाग्ने अनुमान छ ।’ निर्माण अवधि चार वर्षको हुनेछ । त्यसैले एक वर्षमा काम नसकिने भएकाले अर्थ मन्त्रालयबाट बहुवर्षीय स्रोत सहमति लिएर काम अघि बढाइने पौडेलको भनाइ छ ।
सडकमा कम अवरोध हुने गरी काम थालिने पौडेलले जनाए । ‘ग्वार्को ओभरपास निर्माणबाट धेरै कुरा सिकेका छौं, समयमै काम सक्न के–के तयारी गर्नुपर्छ, सबै सकेर मात्र ठेक्कामा जान्छौं,’ उनले भने, ‘सबै सरोकारवाला निकायसँग छलफल गरेर उपयुक्त उपाय अपनाउँदै सवारी आवागमन अस्तव्यस्त नहुने गरी काम गर्छौं ।’





























प्रतिक्रिया