कतारको रास लफान ग्यास प्लान्टमा विस्फोट हुँदा १८ जना श्रमिक बेपत्ता, ५४ घाइते

कतारको रास लफान ग्यास प्लान्टमा विस्फोट हुँदा १८ जना श्रमिक बेपत्ता, ५४ घाइते

केन्द्रबिन्दु
30
Shares

काठमाडौं । कतारको रास लफान औद्योगिक क्षेत्रस्थित बार्जान ग्यास आपूर्ति केन्द्रमा भएको विस्फोटमा १८ जना बेपत्ता भएको आन्तरिक मन्त्रालयले पुष्टि गरेको छ । सो घटनामा ५४ जना घाइते भएका छन् । रास लफान क्षेत्रमा नेपाली, भारतीय र बंगलादेशी श्रमिक काम गर्दै आइरहेका छन् ।

कतारको आन्तरिक मन्त्रालयले सोमबार बिहान ४ बजे सामाजिक सञ्जालमार्फत जानकारी दिँदै बेपत्ता १८ जनाको खोजीका लागि विशेष अभियान सञ्चालन गरिएको जनाएको छ । आन्तरिक सुरक्षा बल (लेखिया) को अन्तर्राष्ट्रिय खोजी तथा उद्धार समूह र नागरिक सुरक्षाको संयुक्त टोलीले खोजी कार्यलाई तीव्रता दिएको छ ।

कतारले बेपत्ता र घाइते भएका श्रमिकको पहिचान सार्वजनिक गरिसकेको छैन ।मन्त्रालयले घटनापछि कुनै ‘सुरक्षा–संवेदनशील चुहावट’ नभएको स्पष्ट पारेको छ ।

कतारको ऊर्जा क्षेत्रको प्रमुख कम्पनी कतार एनर्जीले यो घटना ‘सुरुवाती सञ्चालनका क्रममा भएको प्राविधिक दुर्घटना’ रहेको पुष्टि गरेको छ । आपत्कालीन टोलीले तुरुन्तै आगो नियन्त्रणमा लिएको र अहिले अवस्था पूर्ण रूपमा नियन्त्रणमा रहेको कम्पनीले जनाएको छ ।

रास लफान क्षेत्रमा कार्यरत एक नेपाली श्रमिकले आइतबार साँझ ठूलो विस्फोट भएको बताए । यो आवाज राजधानी दोहासम्म सुनिएको थियो । ‘हामी नजिक थिएनौं । टाढाबाटै ठूलो आगोको ज्वाला फैलिएको देखिएको थियो,’ ती नेपालीले कान्तिपुरलाई भने, ‘ज्वालामुखी विस्फोट भएजस्तो देखिन्थ्यो ।’

रास लफान कतारको मुख्य एलएनजी (तरलीकृत प्राकृतिक ग्यास) प्रशोधन केन्द्र हो । यो क्षेत्रमा नेपाली श्रमिकहरू स्काफफोल्डिङको काम गर्छन् । सयौं सप्लाई कम्पनीमार्फत श्रमिक आपूर्ति गरिएको छ । होम दुई दशकदेखि पत्रकारिता गरिरहेका कार्कीले श्रम तथा आप्रवासन मामिलामा दख्खल राख्छन् । उनले खाडी क्षेत्र तथा मलेसियामा कार्यरत आप्रवासी श्रमिकमाथि रिपोटिङ गर्दै आएका छन् । उनकाे श्रम र आप्रवासनमा केन्द्रीत गैरआख्यान पुस्तक ‘सनैया’ प्रकाशित छ ।

Logo