अमेरिका-इरानयुद्ध अन्त्य वार्तामा प्रगति भएको दाबी

अमेरिका-इरानयुद्ध अन्त्य वार्तामा प्रगति भएको दाबी

केन्द्रबिन्दु
18
Shares

काठमाडौं । मध्यपूर्वमा जारी तनाव अन्त्य गर्ने उद्देश्यले स्विट्जरल्यान्डमा सुरु भएको इरान–अमेरिका वार्तामा प्रारम्भिक प्रगति भएको मध्यस्थकर्ताहरूले बताएका छन् । दुवै पक्षले हर्मुज जलघाँटी खुला राख्ने तथा लेबनानमा पुनः द्वन्द्व भड्किन नदिन सम्पर्क संयन्त्र स्थापना गर्ने सहमति जनाएका छन् ।

स्विस रिसोर्ट बुर्गेन्स्टकमा सम्पन्न पहिलो चरणको वार्तापछि पाकिस्तान र कतारले वार्ता सकारात्मक तथा रचनात्मक वातावरणमा भएको जनाएका छन् । उनीहरूका अनुसार प्राविधिक तहमा थप छलफल अघि बढाउन आवश्यक संयन्त्र निर्माण गरिएको छ । साथै हर्मुज जलघाँटी क्षेत्रमा कुनै पनि घटना वा गलत बुझाइबाट तनाव बढ्न नदिन प्रत्यक्ष सम्पर्क च्यानल स्थापना गर्ने सहमति भएको छ ।

लेबनानमा पुनः हिंसा भड्किन नदिन सम्बन्धित पक्ष र लेबनानी अधिकारीहरूबीच समन्वय गर्ने उद्देश्यले ‘डि–कन्फ्लिक्सन सेल’ पनि गठन गरिएको छ । प्राविधिक वार्ता बाँकी साताभरि स्विट्जरल्यान्डमै जारी रहने बताइएको छ ।

अमेरिकी उपराष्ट्रपति जेडी भान्स र इरानी संसद् अध्यक्ष मोहम्मद बाघेर गालिबाफको नेतृत्वमा रहेका प्रतिनिधिमण्डलले आइतबार औपचारिक वार्ता सुरु गरेका थिए । गत साता भएको प्रारम्भिक सहमतिअनुसार दुई महिनासम्म वार्ता प्रक्रिया अघि बढ्नेछ ।

फेब्रुअरी २८ मा इजरायल र अमेरिकाले गरेको संयुक्त आक्रमणपछि इरानले हर्मुज जलघाँटीको आवागमन प्रभावकारी रूपमा अवरुद्ध गरेको थियो । त्यसपछि क्षेत्रीय तनाव तीव्र बनेको थियो । इरान समर्थित हिजबुल्लाहले इजरायलमाथि आक्रमण गरेपछि लेबनान पनि युद्धको चपेटामा परेको थियो र त्यसको प्रत्युत्तरमा इजरायलले लेबनानमा व्यापक हवाई आक्रमण गरेको थियो ।

लामो समयसम्म विभिन्न प्रयास असफल भएपछि अमेरिका र इरानले अन्ततः युद्ध अन्त्यका लागि समझदारीपत्रमा हस्ताक्षर गरेका थिए । उक्त समझदारीमा इजरायल र हिजबुल्लाहबीचको युद्ध अन्त्य गर्ने प्रावधान पनि समावेश गरिएको थियो । यद्यपि त्यसपछि पनि लेबनानमा पटक–पटक झडप भइरहेका छन् ।

इरानी विदेशमन्त्री अब्बास अराघचीले पाकिस्तानी र कतारी मध्यस्थताको प्रशंसा गर्दै लेबनान युद्ध अन्त्यतर्फ महत्त्वपूर्ण प्रगति भएको बताए । उनले तेल तथा पेट्रोकेमिकल निर्यातमा लगाइएका प्रतिबन्धहरू खुकुलो पारिएको, नाकाबन्दी हटाइएको, केही रोकिएका सम्पत्ति फुकुवा गरिएको तथा इरानको पुनर्निर्माण र विकासका लागि योजना सुरु गरिएको उल्लेख गरे ।

वार्ताको प्रारम्भिक चरण तनावपूर्ण बनेको थियो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हिजबुल्लाहलाई समर्थन गरेको आरोप लगाउँदै इरानमाथि आक्रमणको चेतावनी दिएपछि इरानी प्रतिनिधिमण्डल केही समय वार्तास्थलबाट बाहिरिएको थियो ।

Logo