नेपालबाट ११ महिनामा पौने ३ खर्बको वस्तु निर्यात, तेलको हिस्सा ४६ प्रतिशत

नेपालबाट ११ महिनामा पौने ३ खर्बको वस्तु निर्यात, तेलको हिस्सा ४६ प्रतिशत

केन्द्रबिन्दु
3
Shares

काठमाडौं । चालु आर्थिक वर्षको ११ महिनामा २ खर्ब ७७ अर्ब ९६ करोड ७२ लाख रुपैयाँको वस्तु निर्यात भएको छ। यो हालसम्मकै उच्च विन्दु हो। गत आर्थिक वर्षभर नेपालले २ खर्ब ७७ अर्ब ३ करोड रुपैयाँको वस्तु निर्यात गरेको भन्सार विभागको तथ्यांक छ। निर्यात वृद्धि भएसँगै कुल वैदेशिक व्यापार पनि बढेको विभागले बताएको छ।

चालु आर्थिक वर्षको ११ महिनामा वैदेशिक व्यापार २१ खर्ब ७२ अर्ब ६ करोड रुपैयाँको पुगेको हो। निर्यात बढ्दा वैदेशिक व्यापार पनि बढेको व्यापार तथा निकासी प्रवर्द्धन केन्द्र (टीईपीसी) का सूचना अधिकारी कृष्णराज बजगाईंले जनाए। ‘निर्यात रकम बढेकाले कुल वैदेशिक व्यापार पनि बढ्यो,’ उनले भने, ‘निर्यात र आयातको कुल रकम नै वैदेशिक व्यापार हो।’

यसअघि २०७८/७९ मा २१ खर्ब २० अर्ब ४७ करोड रुपैयाँको वैदेशिक व्यापार भएको थियो। त्यसबेला आयात वृद्धि भएकाले वैदेशिक व्यापार बढेको थियो। आर्थिक वर्ष २०८१/८२ मा २० खर्ब ८१ अर्ब १५ करोड रुपैयाँको वैदेशिक व्यापार भएको विभागको तथ्यांक छ। कुल निर्यात रकम बढेको देखिए पनि तेलको हिस्सा ४६.२ प्रतिशत छ। अर्थात् नेपालले आफ्नै वस्तु बिक्री गरेर निर्यात बढेको भने होइन। निर्यातमा प्रशोधित भटमास, सनफ्लावर र पाम तेलको हिस्सा ४६ प्रतिशत रहेको केन्द्रको भनाइ छ।

चालु आर्थिक वर्षको ११ महिनामा १ खर्ब १९ अर्ब ६३ करोड रुपैयाँको ७२ करोड ६४ लाख ९९ हजार ९० लिटर कच्चा भटमासको तेल आयात गरिएको विभागको तथ्यांक छ। सोही अवधिमा १ खर्ब १३ अर्ब १८ करोड रुपैयाँको ५३ करोड ८ लाख २८ हजार ९३८ किलो तेल निर्यात भएको छ।

१९ अर्ब ११ करोड २ लाख रुपैयाँको कच्चा सनफ्लावर तेल आयात भई ७ अर्ब ९९ करोड ३२ लाखको प्रशोधित तेल निर्यात भएको छ। विभागका अनुसार ११ महिनामा १२ अर्ब ९७ करोड ८ लाख रुपैयाँको कच्चा पाम तेल आयात भएको छ। यस अवधिमा ६ अर्ब १४ करोड २ लाख तेल निर्यात भएको विभागको तथ्यांक छ।

चालु आर्थिक वर्षको ११ महिनामा १२ अर्ब १ करोड १४ लाख रुपैयाँको ६० लाख ३४ हजार ८ सय ९४ किलो अलैंची निर्यात भएको छ। जबकि गत आर्थिक वर्षको ११ महिनामा ७ अर्ब १९ करोड ७ लाख रुपैयाँको ३९ लाख ९५ हजार ७ सय ४५ किलो अलैंची निर्यात भएको थियो। अलैंची निर्यात हालसम्मकै उच्च हो। यस वर्ष भारत, इटाली र रुसमा मात्रै अलैंची निर्यात गरिएको छ। गत वर्ष अस्ट्रेलिया, फ्रान्स, भारत, स्विट्जरल्यान्ड र यूएईमा अलैंची पठाइएको थियो।

मूल्यमा उतारचढाव नभएको र सुरुवातदेखि नै उस्तै मूल्य कायम रहेकाले किसानले अलैंची मौज्दात राख्न नपाउँदा बजारमा आइपुगेको र निर्यातसमेत बढेको नेपाल अलैंची व्यवसायी महासंघका अध्यक्ष दीपक नेपालले बताए । ‘मूल्य पाएकाले किसानले स्टक राखेनन्, गाउँका अलैंची सबै बजारमा आइपुग्यो, त्यहीअनुसार बिक्री पनि भयो,’ उनले भने, अलैंची प्रतिमन (४० किलो) ९५ हजार रुपैयाँमा कारोबार भइरहेको छ। यसपालि १ लाख ७८ हजारसम्म पुगेको थियो।’ गतवर्ष अलैंचीको मूल्य ८५ हजारदेखि १ लाख ८ हजारसम्म पुगेको समेत नेपालको भनाइ छ।

किसानका कारण अलैंची उत्पादन र निर्यात भइरहेको र सरकारले आफ्नै उत्पादनलाई प्राथमिकतामा नराखेको उनको गुनासो छ। ‘अलैंची नेपालमै फल्छ, बाहिरबाट कच्चा पदार्थ ल्याएर मूल्य अभिवृद्धि गरेर निर्यात गर्ने पनि होइन, त्यसैले सरकारले यसलाई प्राथमिकतामा राख्नुपर्थ्यो,’ उनले भने।

अलैंचीजस्तै अदुवा, जडीबुटीलगायतको पनि निर्यात उच्च रहेको विभागको तथ्यांक छ। ११ महिनामा १ अर्ब २१ करोड रुपैयाँको अदुवा, १ अर्ब ८६ करोड रुपैयाँको जडीबुटी र २ अर्ब ५६ करोड रुपैयाँको कत्था निर्यात भएको छ। ‘अलैंची, अदुवा, जडीबुटी, कत्थाको निर्यात हालसम्मकै उच्च हो,’ केन्द्रका सूचना अधिकारी बजगार्इंले भने, ‘मुलुकमै उत्पादित वस्तुको निर्यात बढेको छ। यसले राम्रो संकेत देखाएको छ।’

नेपालको आयातमा सबैभन्दा बढी घाटा गराउने वस्तुहरूमा पेट्रोलियम पदार्थ, औद्योगिक मेसिनरी, फलाम तथा स्टिल र इलेक्ट्रिकल उपकरण छन्। यसले नेपाली अर्थतन्त्र इन्धन (ऊर्जा) र पूर्वाधार एवं पुँजीगत सामानका लागि पूर्ण रूपमा आयातमा निर्भर रहेको देखाउने पूर्वसहसचिव रविशंकर सैंजु बताउँछन्।

विभागका अनुसार १ खर्ब ६२ अर्ब ३३ करोड रुपैयाँको वनस्पतिजन्य घिउ तथा तेल आयात हुँदा १ खर्ब ३१ अर्ब ११ करोड रुपैयाँको निर्यात भएको छ। त्यसमा मात्रै ३१ अर्ब २२ करोड रुपैयाँ व्यापार घाटा छ। मलेसिया, इन्डोनेसियालगायत मुलुकबाट कच्चा पाम आयल आयात गरी त्यसलाई नेपालमा प्रशोधन गरेर पुनः भारततर्फ निर्यात गर्ने गरिएको सैंजुले जनाए।

नेपालले चामल र मकै ठूलो परिमाणमा आयात गर्नुपरिरहेको छ। ११ महिनामा ५५ अर्ब ९३ करोड रुपैयाँको खाद्यान्न आयात गरिएको छ। गलैंचा, चिया/कफी/मसलाजन्य र काठका उत्पादन वास्तविक खुद नाफा कमाउने वस्तु हुन्। यी उत्पादन पूर्ण रूपमा नेपालकै आन्तरिक कृषि र स्थानीय हस्तकला एवं कालिगडमा आधारित छन्।

९ अर्ब ४० करोड रुपैयाँको चिया, कफी तथा मसलाजन्य वस्तु आयात गर्दा १७ अर्ब २९ करोड रुपैयाँको निर्यात भएको विभागको तथ्यांक छ। गलैंचा ६७ करोड रुपैयाँको आयात हुँदा १० अर्ब ६८ करोड रुपैयाँको निर्यात भएको छ। काठ तथा तिनका वस्तु ४ अर्ब ७७ करोड रुपैयाँको आयात हुँदा ८ अर्ब ८९ करोड रुपैयाँको निर्यात भएको विभागको तथ्यांक छ।

Logo