काठमाडौं । मध्यपूर्व युद्ध समाप्त गर्न इरानसँग भइरहेको वार्ताको क्रममा अमेरिकी विदेशमन्त्री मार्को रुबियो आज मङ्गलबारदेखि तीनवटा खाडी देशको भ्रमणमा निस्किदै छन् ।
अमेरिका र इजरायलले फेब्रुअरी २८ मा युद्ध सुरु गरेपछि उहाँ पहिलो पटक यो क्षेत्रको भ्रमणमा जान लागेका हुन् । विदेशमन्त्री रुबियोले संयुक्त अरब इमिरेट्स, कुवेत र बहराइनको भ्रमण गर्नेछन् । यो भ्रमण बिहीबारसम्म चल्ने अमेरिकी विदेशमन्त्रालयका प्रवक्ता टोमी पिगोटले विज्ञप्तिमा उल्लेख गरेका छन् ।
‘इरानसँगको समझदारीपत्र, हर्मुज जलडमरुबाट पूर्ण र स्वतन्त्र रूपमा सुरक्षित यातायात सुनिश्चित गर्ने प्रयास, तथा क्षेत्रीय शान्ति र स्थिरताको महत्व’ विषयमा रुबियोले छलफल गर्ने विज्ञप्तिमा उल्लेख छ। बिहीबार बहराइनमा रुबियोले खाडी सहयोग परिषद्सँग पनि बैठक गर्ने र क्षेत्रीय साझा प्राथमिकताहरूबारे छलफल गर्ने कार्यक्रम छ ।
रुबियोको सामु खाडी राष्ट्रहरूसँगको विश्वास पुनस्र्थापित गर्ने चुनौतीपूर्ण काम छ, किनकि यी देशहरू अमेरिका–इजरायल हमलाको बदलामा इरानको लक्षित क्षेत्र बनेका थिए। इरानले अमेरिकी सेनाको पाँचौ फ्लिटको मुख्यालय रहेको कुवेत र बहराइनलाई आक्रमण गर्न आफ्नो भूमि प्रयोग गर्न दिएको आरोप लगाएको छ ।





























प्रतिक्रिया